१६ चैत्र २०८० शुक्रबार
समाज

दुर्घटना बढेपछि ट्राफिक सचेतना जगाउँदै विद्यार्थी

बेंसीसहरमा सवारी सचेतना जगाउन सचेतनामूलक सामग्री लिएर सडकमा विद्यार्थी र प्रहरी । तस्बिर: किसान संगीत/नागरिक

लमजुङ– गत २१ मंसिर काठमाडौंबाट यात्रु बोकेर गुडेको ग१ख २४७६ नम्बरको माइक्रोबस १ सय ९० किलोमिटर दूरी पार गर्दै बेंसीसहर आइपुगेपछि दुर्घटना भयो । सो दुर्घटनामा क्व्होंलासोथर गाउँपालिका–४ भुजुङकी ३० वर्षीया श्रीकुमारी गुरुङको मृत्यु भयो ।

सोही दुर्घटनामा बेंसीसहर–७ की २० वर्षीया दीक्षा घले, भरतपुरकी ममता गुरुङ, भरतपुरकै अञ्जली घले र चितवनकै रोशन घले घाइते भए । बेंसीसहरमा दिनहुँजसो मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर घाइते बनाउने, सवारीसाधन आपसमा ठक्कर खाइरहनेजस्ता सवारी दुर्घटनाको दर बढ्दो छ ।

सदरमुकाममै सवारी दुर्घटनाको क्रम बढ्दै गएपछि सवारीचालक तथा पैदलयात्रुलाई सवारी सचेतना जगाउन यहाँका विद्यार्थी अग्रसर भएर लागेका छन् ।

बेंसीसहरस्थित जनविकास मावि र विद्याविकास माविमा अध्ययनरत विद्यार्थी सवारीचालक तथा पैदलयात्रुलाई सवारी नियम र सुरक्षित रहने तरिकाबारे सचेत बनाउँदै दुर्घटना न्यूनीकरण गराउने अभियानमा लागेका हुन् । झन्डै डेढ सय विद्यार्थी सडकमा ओर्लिएर ट्राफिक नियम, सडक पार गर्ने स्थान, पैदलयात्रा गर्ने, सवारी रोक्ने, चढ्ने र झर्ने साइड, बालबालिकाको सुरक्षालगायतका विषयमा चेतनामूलक पर्चा र पम्पलेट बाँड्दै सचेत रहनु अनुरोध गरे ।

बेंसीसहरको मनाङेचौतारा, भिमसेनस्थान, नारायणस्थान, झिंगेखोला र शेराबजार टोलमा पुगेर सवारी नियमबारे जागरूक बनाएको विद्याविकास मावि कक्षा ९ मा अध्ययनरत सरोज घिमिरे बताउँछन् । चालक वा पैदलयात्रुको लापरवाहीका कारण दुर्घटना हुने र अकाल मृत्यु हुने भएकाले यस विषयमा सबैलाई जागरूक र जिम्मेवार बनाउन आपूmहरू अग्रसर भएको उनको भनाइ छ ।

उनीजस्तै जनविकास मावि कक्षा ९ की छात्रा मनीषा गुरुङ पनि सवारी नियमबारे चालक, सहचालक, पैदलयात्रुलाई जागरूक बनाए मात्रै दुर्घटना घटाउन सकिने बताउँछिन् । सचेतना फैलाउने, सूचना प्रवाह गर्नेजस्ता कार्यमा विद्यार्थीको महŒवपूर्ण भूमिका हुने भएकाले आपूmहरू सचेतना अभियानमा सहभागी हुँदै आएको गुरुङले बताइन् ।

सचेतनाका क्रममा सरोकारवालालाई जागरूक गराउनुको साथै सचेतनामूलक पोस्टर, पर्चा, पम्प्लेट र स्टिकरहरू वितरण गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र बेंसीसहरको संयुक्त आयोजनामा सचेतना अभियान सञ्चालन गरिएको हो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको एक्लो प्रयास प्रभावकारी नहुने भएकाले सामुदायिक सेवाकेन्द्र, विद्यालय, क्याम्पस, सामाजिक संघसंस्था, युवा क्लब, आमा समूहलगायतसँग सहकार्य गरिएको ट्राफिक प्रहरी हबलदार भूमिराज घिमिरेले बताए । उनका अनुसार पछिल्ला वर्षहरूमा सवारी दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।

दुर्घटना न्यूनीकरण र सर्वसाधारणलाई सवारी नियमबारे सचेत बनाउनु नै आफ्नो मुख्य उद्देश्य रहेकाले यस्ता सचेतनामूलक कार्यक्रम र अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख निरबहादुर अधिकारीले बताए ।

 

 

प्रकाशित: १६ माघ २०७४ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App