४ वैशाख २०८१ मंगलबार
समाज

हलेसीका अग्नी पीडितलाई राहत वितरण

खोटाङ– खोटाङको हलेसीका अग्नी पीडितलाई हलेसी तुवाचुङ नगरपालिकाले झण्डै चार लाख बराबरको राहत प्रदान गरेको छ। पुस १८ गते भएको आगलागीमा घर सहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन विताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दास लगायतका पिडितलाई नगरपालिकाले सञ्चालन गरेको अभियानकाक्रममा संकलन भएको ३ लाख ५२ हजार ९२ रुपैयाँ राहत वितरण गरेको हो। हलेसी महादेबस्थान बिकास समिति र नवकिरण सेवा समाजको सहकार्यमा नगरपालिकाले संकलन गरेको रकम आईतबार बिहान अग्नी पीडितलाई वितरण गरिएको हो।

अग्नी पीडित मगम, उचितबहादुर, तम्बराज र अम्बराजलाई जनही ७३ हजार ५ सय, मगमको एक घरमा व्यवसाय गरिरहेका कटारीका दासलाई ३५ हजार, आंशिक क्षती बेहोरेका कृष्णकुमार राई, कम्पराज राई, सरण राई र महानन्द राईलाई जनही ५ हजार तथा उमेस ठाकुरलाई ३ हजार ९२ रुपैयाँ राहत प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। अग्नी पीडितको सहयोगका लागि नगरपालिकाले हलेसी, दुर्छिम लगायतका स्थानमा राहत संकलन अभियान सञ्चालन गरेको थियो। अग्नी पीडितका लागि काठमाडौंमा दिनेश राईको संयोजकत्वमा गठन गरिएको अग्नि पीडित राहत संकलन समितिले पनि राहत संकलन गरिरहेको छ।

पीडितलाई नेपाली सेना र सैनिक श्रीमती संघको पनि राहत

यसैबीच, हलेसीका अग्नी पीडितलाई नेपाली सेना तथा सैनिक श्रीमती संघले पनि राहत प्रदान गरेको छ। आगलागीमा सर्वस्व गुमाएका मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राई परिवारलाई सेना तथा सैनिक श्रीमती संघले जस्तापाता, चामल, दाल, खाने तेल, नुन, चिनी, हरियो मण्डी, पोलार ब्लाङ्केट, पिफम, सोयाविन, चाउचाउ, ग्लुकोज बिस्कुट र जीवनजल उपलब्ध प्रदान गरेको हो। अग्नी पीडितलाई शुक्रबार नेपाली सेनाका १८ नम्बर बाहिनीपति सहायक रथी भरतप्रसाद पाठक र सैनिक श्रीमती संघकी सदस्य सावित्री पाठकले राहत प्रदान गरेका हुन्।

घट्नाको दश दिनपछि निरीक्षणमा हलेसी आएका रक्षामन्त्री भीमसेनदास प्रधानले सेनाका उच्च अधिकारीलाई फोन गरेर आवश्यक सहयोगका लागि पहल गर्न भनेको केही समयपछि नेपाली सेना तथा सैनिक श्रीमती संघले अग्नी पीडितलाई राहत प्रदान गरेको शेर गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी डम्बरबहादुर आलेमगरले बताए।

अग्नी पिडितलाई यसअघि, दैबीप्रकोप उद्धार समिति, हलेसी तुवाचुङ नगरपालिका, रेडक्रस, उद्योग बाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, जनज्योती क्लब र जनकल्याणकारी सेवा समाजले सञ्चालन गरेको ‘घर सल्लाह फेसबुक ग्रुप च्याट’, लोक नेपाल, गैर–आवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद संयुक्त अरब इमिरेट्स, मारातिका छिमेद ताग्तेन छोलिङ गुम्बा, सुम्नीमा पारुहाङ साँस्कृतिक समुह महादेवस्थान, धर्मशाला वासुमाला बेलबोटे सामुदायीक बन लगायतले राहत प्रदान गरिसकेको छ ।

प्रकाशित: १३ माघ २०७४ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App