२३ असार २०७७ मंगलबार
समाज

चिसोमा पनि स्क्रबटाइफसका बिरामी

काठमाडौं – संक्रमित सूक्ष्म किरा (माइट) को टोकाइबाट सर्ने स्क्रबटाइफस चिसो मौसममा पनि काठमाडौं उपत्यकाको ललितपुरसहित विभिन्न जिल्लामा फैलिएको छ।

अधिकांश सरुवा रोगहरु कमजोर हुने चिसो मौसममा पनि स्क्रबटाइफस पाइएको छ । स्क्रबटाइफसले कडा ज्वरोसहित निमोनियासमेत गराउने हुँदा मृत्युको जोखिम बढी हुने चिकित्सक बताउँछन् । सामान्यतः बढी मात्रामा खेतबारीमा काम गर्ने गर्मी मौसममा यो रोग फैलिने गरे पनि पछिल्लो समयय वर्षभरि नै देखापरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । झाडीमा पाइने मसिनो किर्नाजस्तो (माइट) को टोकाइबाट यो रोग सर्छ।

राजधानी काठमाडौंसँगै जोडिएको ललितपुर जिल्लामा पहिलोपटक गत भदौ २९ मा एकजनामा स्क्रबटाइफसको संक्रमण फेलापरेकोमा अहिले बढेर यो संख्या १० पुगेको छ ।

जनस्वास्थ्य कार्यालय, ललितपुरका अनुसार जिल्लामा पहिलोपटक गत भदौ २९ माएकजनामा स्क्रबटाइफसको संक्रमण फेलापरेको थियो । अहिले १० जनामा स्क्रबटाइफस देखिएको छ । ‘पछिल्लोपटक पुस २९ मा नयाँ केस भेटिएको थियो, लामो उपचारपछि हिजो (मंगलबार) मात्रै बिरामी डिस्चार्ज भयो,’ जनस्वास्थ्य प्रमुख झलक पौडेलले नागरिकसँग भने।

ललितपुरका गोदावरी, धापाखेल, हरिसिद्धि, खुमलटार क्षेत्रमा स्क्रबटाइफसका बिरामी भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यका अनुसार साउन यता ३८ जिल्लामा ६ सय ६७ जनामा स्क्रबटाइफस प्रमाणित भएको छ । जसमध्ये ११ जनाको ज्यान गइसकेको छ । ‘घरमा मुसा वा झाडी छ, भुइँमा सुत्ने चलन छ भने यो रोगको जोखिम बढी हुन्छ,’ डा. आचार्यले भने।

महाशाखाका अनुसार गत वर्ष ४६ जिल्लामा यो रोग देखापरेकोमा ८ सय ३१ जनामा प्रमाणित भएको थियो भने १४ जनाको ज्यान गएको थियो । चितवनमा मात्रै ५ सयभन्दा बढी बिरामी भेटिएका थिए । यो वर्ष अझै रोग बढी फैलिने समय आउनै बाँकी रहेकाले यो अझै धेरै बिरामी भेटिने अनुमान सरकारी अधिकारीको छ।

एक प्रकारको जीवाणु ‘रिकेटसया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म किरा (माइट) को टोकाइबाट स्क्रबटाइफस सर्छ । यो किरा खेत, खेलकुद मैदान, रुख, झाडी, घाँस रहेका ठाउँमा रहने मुसा प्रजातिमा पाइन्छ । संक्रमित यो किराले टोकेपछि सुरुमा ज्वरो आउने, गाँठागुँठी जोर्नी दुःख्ने हुन्छ । माइटले टोकेको ठाउँमा असामान्य घाउ देखियो भने तत्कालै परीक्षण गराउनुपर्छ।
झाडीमा पाइने कीर्नाजस्तो देखिने माइट मुसाको कान नजिकैको भागमा पाइने प्रोटिन चुसेर बाँच्छ  । यो माइटले टोकेपछि मुसालाई समेत ज्वरो आउँछ । एकपटक संक्रमित भएको माइटको २४ पुस्तासम्म यो सर्दै जान सक्ने हुनाले अधिकांश माइट संक्रमित हुने भनाइ चिकित्सकको छ । ‘कुनै कारणले मुसा मर्याे र त्यसमा रहेको माइट झ¥यो भने त्यसले खानाको खोजीमा मान्छेलाई टोक्दा रोग सर्छ,’ डा. आचार्यले भने।

ललितपुर जनस्वास्थ्य प्रमुख पौडेलका अनुसार यसका बिरामी देखिएका ठाउँमा जनचेतनामूलक विभिन्न कार्यक्रम गरिरहे पनि आवश्यक सावधानी अपनाएको पाइएको छैन । ‘हामीले जनस्वास्थ्य कार्यालयमा सरसफाइ गरेर मुसा रहनसक्ने ठाउँ सफा गरे पनि अरु कार्यालयले यसो गरेका छैनन्,’ उनले भने, ‘जोगिने उपाय ख्याल नगरी रोग नियन्त्रण कठिन हुन्छ,’।

विश्वमा धेरै पुरानो रोगका रुपमा चिनिने स्क्रबटाइफस नेपालमा भने सन् २०१५ देखि सशक्त रुपमा देखिएको हो। दोस्रो विश्वयुद्धताका यो रोग सबैभन्दा बढी सैनिकहरुमा भेटिएको थियो । भुइँमा घ्रसेर पनि हिँड्नुपर्ने भएकाले सैनिकमा यो रोग बढी भेटिएको थियो।

सन् २००४ मा नेपालमा यो जीवाणु भेटिए पनि धरानमा सन् २०१५ मा एकैपटक ८ जनाको ज्यान गएपछि यो ‘नोटिस’ मा आएको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार नेपालमा पनि यो रोग लामो समयदेखि हुनसक्ने भए पनि परीक्षण र प्रमाणित नभएका कारण चर्चामा नआएको हो।

 घरवरपर मुसा मरेको अवस्था वा झाडीमा काम गरेपछि ज्वरो आएमा स्क्रबटाइफसको जाँच गराउनुपर्छ ।
स्क्रबटाइफसले बिरामी जटिल अवस्थासम्म पुग्ने कारण समयमै पहिचान र त्यसको उपचार नहुनु भएको चिकित्सक बताउँछन् ।  चिकित्सकका अनुसार कृषि काम गर्ने, झाडी जाँदा वा केही नबिछ्याई झाडीमा सुतेको अवस्थामा त्यस्तो माइटले टोक्ने र रोग सर्ने गर्छ । त्यसबाट बच्न जुत्ता र शरीर छोप्ने लुगा नलगाई झाडीमा नजान, चौरमा केही नओछ्याई नसुत्न डा. आचार्य सुझाउँछन् ।
संक्रमित माइटले टोकेको केही दिनपछि उच्च ज्वरो, आँखा रातो हुने, जोर्नी दुःख्ने, शरीर गल्ने र विस्तारै श्वासप्रश्वासमा अप्ठेरो हुने लक्षण देखिन्छ । केहीमा पखाला लाग्ने र फियो सुन्निने समस्यासमेत देखापर्छ । धेरै दिनसम्म ज्वरो आउँदा पनि सही उपचार सुरु नगरे यसले जटिल रुप लिन्छ।

समयमा उपचार नभए स्क्रबटाइफसले सुन्ने क्षमता गुम्ने, रक्तचाप घट्ने, मिर्गौंला फेल हुने, निमोनिया जस्ता सेकेन्डरी बयाक्टेरियल संक्रमण हुने, बेहोस हुनेजस्ता समस्या आउन सक्छन् । समयमै उपचार नगरे यसले मस्तिष्क, कलेजो, फोक्सोमा थुप्रै प्रकारको संक्रमण हुन्छ । यस्ता बिरामीमा बहुअंग विकार (मल्टी अर्गन डिस्अर्डर) को समस्या आउने  चिकित्सक बताउँछन् ।

प्रकाशित: १२ माघ २०७४ ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App