८ वैशाख २०८१ शनिबार
समाज

“बरु जागिर छोड्न तयार, छाउ भएका बेला पढाउन जाँदैनौँ”

 गीता कुँवर 

अछाम – अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडौँ प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ। ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन्। छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन्। एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ। 

विद्यालय नजिकै रहेको मष्टाको देवताको मन्दिरले गर्दा शिक्षिका विद्यालय जाँदैनन्। विद्यालय नजिकै मष्टा देवताको मन्दिर भएकाले  छाउ भएका बेला विद्यालय नजाने बताउँछिन् शिक्षिका पशुपति बुढा । त्यहाँ छाउ भएका बेला गएपछि देवता लाग्ने र जीवनभर निको नहुने भन्दै शिक्षिका विद्यालय जाँदैनन् । बुढाले भनिन्, “देउता लागे जीवनभर निको हुँदैन, देउता लागेर जिन्दगी नै बर्बाद भएको देखेका छौँ, बरु ठूलै रोग लागेर अस्पताल कुर्न सजिलो छ देउता लाग्नुभन्दा, त्यसैले छाउ भएको बेला पाँच दिनसम्म विद्यालय जाँदैनौ।” 

मष्टा देवताको डरले परम्परादेखि नै छाउ भएका बेला विद्यालय नजाने चलन बसालिएका कारणले आफूहरु पनि नजाने गरेको शिक्षिका ज्ञानु ठकुल्लाले बताइन्। “डिक्रेनीमा कोठा भाडामा लिएर बस्ने गरेकी छु, तर छाउ हुँदा माइतघर गएर बस्नुपर्ने बाध्यता छ । छाउ भएका बेला बाटोमा हिँड्दा गाली गर्छन्,” उनले भनिन्, “यदि विद्यालय मन्दिरभन्दा टाढा राखिन्छ भने मात्र आफूहरु नियमित पढाउन जान्छौँ नभए विद्यालय जाने अवस्था छैन । बरु जागिर छोड्न तयार छौँ।” 

विद्यालयका प्रधानाध्यापक निर्प ठकुल्लाले आफूले पनि छाउ भएका बेला विद्यालय आउनुपर्छ भनी धेरै करकाप गर्न नसकेको बताए। उनले भने, “गाउँका महिलाहरुले छाउ भएका बेला सामूहिक रुपमा देउताको मन्दिरमा गए यो समस्या समाधान हुने, नभए कुनै एक महिलाले मात्र यसो गर्न सक्दैनन्। गाउँको सबैभन्दा ठूलो मष्टा देउताको मन्दिर विद्यालयमा छ। देवताको नाम लिन पनि डराउने अवस्थामा छाउ भएका बेला विद्यालय आउनुस् भन्ने अवस्था छैन ।” 

कक्षा ५ मा पढ्दै गरेकी छात्रा ललिता बुढा पनि छाउ भएका बेला ६ दिनसम्म विद्यालय जाँदिनन् । “घरकाले स्कुल नजा भन्छन्”, उनले भनिन्, “छाउ भएका बेला म्याडम पनि आउनुहुन्न, त्यसैले म पनि ६ दिनसम्म स्कुल जाँदैन।” 

साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला बुडथापाले छाउपडी कुप्रथा अन्त्यका लागि आफूले नगरपालिकामा सेवा लिन आउने महिलालाई सधैँ छाउ भएका बेला सुरक्षित तरिकाले घरमा बस्नु होला भनेर सिकाउने गरेको बताइन्। 

उनले भनिन्, “विद्यालयमा शिक्षिकालाई नियमित बनाउन धेरै प्रयास गर्‍यौँ, तर उहाँहरुले मान्नु भएन। मन्दिरको वरिपरि घेरा–पर्खाल निर्माण गरिदिन्छौँ, तपाईंहरू नियमित विद्यालय आउनु भन्यौँ तर उहाँहरुले छाउ भएका बेला सम्भव छैन भन्नुभयो।” 

अछाममा छाउ कुप्रथा व्याप्त रुपमा रहेको अवस्थामा त्यसमाथि देवताको मन्दिर नजिकै विद्यालय हुनुले पनि निकै समस्या छ। छाउ भएका बेला मन्दिरतिर हेरे पनि देउता लाग्छ भन्ने डर त्यहाँका किशोरी र महिलामा बसेको छ। साँफेबगरको अन्य क्षेत्रको भन्दा डिक्रेनीमा धेरै नै छाउ मान्ने चलन रहेको छ। त्यहाँ अहिले आएर धमाधम नयाँ छाउपडी गोठसमेत बन्न थालेका छन्। रासस

प्रकाशित: १० माघ २०७४ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App