लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन्। बेँसीसहर नगरपालिका-४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका-९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए।
प्रहरी निरीक्षक चापागाईका अनुसार सुन्दरबजार नगरपालिका-८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएकाम थिए। त्यसपछि उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पु¥याइएको थियो। अस्पतालमा ल्याउनेबित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन्। भोज खाएका सोही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए। भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए। अस्पतालका बिरामी आउने क्रम जारी छ। घटनाको अनुसन्धान भइरहेको छ।
प्रकाशित: २४ मंसिर २०८० ०५:४० आइतबार