coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी कार्यालयको छेउमै तस्करको गोदाम

गोलबजारको प्रहरी कार्यालय छेउको तस्करीको गोदाम छापामारेर बरामद गरेको सामान भन्सार लैजादै । तस्बिरःमिथिलेश

गोलबजार – ‘पुलिस प्रशासन मिलला पर किछो सम्भव छै(प्रहरी प्रशासन मिलेपछि जेपनि सम्भव छ’ सिरहाको लक्षीणवर्ती गाउँघरमा अचेल यो भनाई लोकप्रिय छ । जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट तस्करले नेपालमा बिना भन्सार सामान भित्र्याउनु ।

पछिल्लो समय सिरहाको विभिन्न नाकाबाट उज्यालोमै तस्करले भारतबाट नेपालमा बिना भन्सार भारी मात्रामा सामान भित्र्याइरहेका छन् । तस्करको यो कार्यलाई सघाउँदै छन् चोरीपैठारी नियन्त्रणका लागि सीमामा तैनाथ सशस्त्र प्रहरी बलले । यहाँसम्म की सशस्त्र प्रहरीको सादा पोशाककर्मीले तस्करका सामानलाई सुरक्षित स्थान(व्यपारीका गोदाम) सम्म ल्याउन स्कर्टिङ गरिदिन्छन्, स्थानीय बताउँछन् ।

‘हामीले पत्तै पाएनौ कहाँबाट कसरी यति धेरै परिमाणमा सामान भित्रिएछ’

सुरक्षाकर्मीको मिलोमतोमा सिरहामा फस्टाएको तस्करी धन्दा सोमबार गोलबजारमा छताछुल्ल भयो । भन्सारका कर्मचारीले ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी वेस क्याम्पको छेवैको गोदामबाट भारी परिमाणमा तस्करीका सामान बरामद गर्यो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालयबाट दुईसय मिटर उत्तरको घर भाडामा लिएर तस्करले बिना भन्सारका सामान भण्डारण गर्दै आएका थिए । उक्त सामान नजिकको व्यपारिक सहरहरू (लहान, मिर्चैया, गोलबजार) मा सप्लाई गर्दै आएको सूचना पछ्याउँदै सोमबार भन्सारको गस्ती टोलीले गोदाम छापा मारेर लाखौंको सामान जफत गरेको छ। 

हामीले गोलबजारमा भण्डारण गरी सप्लाइको तयारीमा रहेको ३३ पोका कपडा जफत गरेका छौँ भन्सार प्रमुख  राजेन्द्र प्रसाद हमालले नागरिकसँग भने,‘मूल्यांकन गर्न बाँकी छ , बरामद समान लाखौ मूल्यको हो ।’

बरियारपट्टी, नरगी माडरको बाइपास सडकमा पछिल्लो समय तस्करी बढी भइरहेको छ । बरियारपट्टी र नरगी नाकामा सशस्त्र र प्रहरीको उपस्थिति छ ।

पछिल्लो समय सुरक्षाकर्मीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सुरक्षाकर्मीका घुमुवा (सादा पोशाकका प्रहरी) ले देखाएको बाटोबाट बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ । तस्करहरूले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पाट्र्स, र कस्मेटिक्स सामान प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाएर(मासिक रकम दिएर) ल्याइरहेका छन् । सुर्ती, गुट्खाजस्ता धेरै बिक्री हुने सामान पनि भन्सार नतिरी आइरहेको छ । तस्करी बढेसँगै राज्यले पाउने करोडौं राजस्व गुमिरहेको भन्सार प्रमूख हमाल बताउँछन् ।

सिराहामा वरियारपट्टी माड्रको बाइपास सडक(माडर स्कूल), नरगी, इटाटार, बाट तस्करले समान भित्रयाइरहेको स्थानीय व्यपारीहरू बताउँछन । यी सबै नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति छ । 

स्थानीयका अनुसार बरियारपट्टी, नरगी माडरको बाइपास सडकमा पछिल्लो समय तस्करी बढी भइरहेको छ । बरियारपट्टी र नरगी नाकामा सशस्त्र र प्रहरीको उपस्थिति छ । चोरी पैठारी नियन्त्रणमा सहयोगका लागि सीमा नाकामा इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट छ । ‘सुरक्षाकर्मीसँग सेटिङ नमिलाएको भए यतिका संयन्त्रलाई छलेर कसरी तस्करले यहाँका सहरमा सामान ल्याउँछन् ? गोलबजारका एक व्यापारीले सुरक्षाको कारण देखाउँदै नाम नबताउने सर्तमा भने, ‘दर्जनौं सुरक्षा पोस्ट पार गर्दै सुरक्षाकर्मीको अड्डा छेवैमा गोदाम राखेर तस्करले सामान भण्डार गर्दै आएको कोहीबाट लुकेको छैन्।’ 

पछिल्लो समय तस्करीका लागि चम्केको नरगी र बरियारपट्टी नाका पारी भारतीय लदनीया र पिपराही हुँदै जयनगरबाट दैनिक उपभोग्य सामानसँगै मोटरपार्टस समेत भित्रीने गरेको स्थानीयहरू बताउँछन् । उनीहरूका अनुसार यो नाकाबाट तस्करी हुने सामान राजमार्गको गोलबजारमा भण्डारन हुने र यहाँबाट लहान, धनगढी, मिर्चैयासम्म पुग्ने गरेको छ। 

व्यापारीका अनुसार नरगी चल्तीको नाका बनेको छ । भारततर्फको बजार जयनगरबाट पिपराही हुँदै लत्ताकपडा र दैनिक उपभोग्य सामान नरगीमा भण्डारण गरिन्छ । यहाँबाट मोटरसाइकलको पछाडि बाँधेर सिरहाको विभिन्न व्यापारीको गोदामसम्म पुर्याइन्छ । बोर्डर वारिका व्यापारीको गोदामसम्म तस्करीका सामान बोकेको मोटरसाइकल आइपुग्न न्यूनतम चार र अधिकतम सातवटा सुरक्षा पोस्ट पार गर्नुपर्छ। 

तस्करी बढेकै कारण भन्सार असुली लक्ष्यभन्दा आधापनि असुली नभएको भन्सार कर्मचारी बताउँछन् । भन्सार छलेर सामान भित्रिने क्रम बढेकोले भन्सार राजस्व असुलीमा भारी कमी आएको भन्सार प्रमुख हमाल बताउँछन्।

इलाका प्रहरी कार्यालय गोलबजारका ईन्सपेक्टर राजेश सुवेदीकाका अनुसार सोमबार यहाँ(गोलबजार)बाट भन्सार कर्मचारीले बरामद गरेको बिना भन्सारको सामान कसरी भित्रियो कसैलाई पनि पत्तो छैन। ‘हामीले पत्तै पाएनौ कहाँबाट कसरी यति धेरै परिमाणमा सामान भित्रिएछ’ उनले अनविज्ञता प्रकट गरे।

पछिल्लो समय प्रहरी र सशस्त्र प्रहरीले सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गरेको छ । सशस्त्र प्रहरीले जिल्ला, वेस देखि क्षेत्र सम्मका सशस्त्र प्रहरी सादा पोसाकमा सिरहामा परिचालन गरेको छ।

प्रकाशित: २ माघ २०७४ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App