८ वैशाख २०८१ शनिबार
समाज

फुलबारीमा भारतीय पेन्सन क्याम्प बनाउन थालेपछि स्थानीयको विरोध

बुटवल- पुरातात्विक,सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण फुलवारीमा भारतीय भूपू सैनिकका लागि स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिइएकोमा स्थानीय स्तरमा चर्को विरोध भएको छ। गएको फागुनमा सरकारले फुलबारीमा स्थायी पेन्सन क्याम्प बनाउन स्विकृति दिएको हो।

स्थानीय संघसंस्थाहरुले अहिले स्विकृति भएको जग्गा फिर्ता गरेर अन्यत्र उपयुक्त ठाउँमा पेन्सन क्याम्पका लागि जग्गा उपलब्ध गराएर सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण फुलबारी जोगाउन माग गरेका छन्।  सरकारले अन्यत्र जग्गा व्यवस्थापन गर्न वेवास्ता गरे र भारतीय दूतावासले शिलान्यास भएको भन्दै पेन्सन क्याम्प बनाउन खोजे नक्सा स्विकृति नगरी रोक लगाउन उपमहानगरपालिकासंग उनीहरुको माग छ। उपमहानगरको पहलकदमीले मात्रै पुरातात्विक र पर्यटकीय स्थल जोगाउन सकिने उनीहरुको सुझाव छ।

 मणिमुकुन्द सेन उद्यान फुलबारीमा अस्थायी पेन्सन क्याम्प सञ्चालन गर्न दिन तत्कालीन बुटवल नगरपालिकाले २०५० सालमा ५० वर्षका लागि लिजमा दिएको १ विघा १४ कट्ठा जग्गामा  भारतीय दूतावासले अस्थायी क्याम्प सञ्चालन गर्दै आएको छ। यही ठाउँमा स्थायी पेन्सन क्याम्पको स्विकृति दिदै मन्त्रिपरिषदको गत फागुन दोश्रो साता बसेको बैठकले थप २३ कठ्ठा जग्गा उपलब्ध गराएपछि नयाँ विवाद उठेको हो। अन्यत्र पेन्सन क्याम्पका लागि जग्गाको खोजी भइरहेका बेला सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण फुलबारीमै जग्गा उपलब्ध  गराउन भारतीय दुतावासले लामो समयदेखि  लविङ गर्दै आएको थियो । राजनैतिक अस्थिरता र संक्रमणकालको मौका छोपेर जग्गा हत्याउन सफल भएपनि संरचना बनाउन थाल्दा स्थानीय स्तरमा विरोध चर्किएको हो।

फुलबारीमा स्थायी पेन्सन क्याम्पको भौतिक पूर्वाधार बनाउन २ अर्ब बढिको लगानी हुने पूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले जानकारी दिएको  छ। महासंघका सहअध्यक्ष किसन थापाले त्यसमा बैंक, पोलिक्लिनिक, सुविधा सम्पन्न विद्यालय, तालिम केन्द्र लगायतका संरचना समेत निर्माण गरी सञ्चालनमा आउने जानकारी दिए । फुलबारीमा पेन्सन क्याम्प नबनाउन लविङ गर्नेहरुले पोलीक्लिनिक, विद्यालयका लागि फुलबारी उपयुक्त स्थल नभएको र यो भन्दा उपयुक्त स्थलको खोजी गरिदिने बताएका छन्।

बुटवलको फुलबारीमा २०६० सालदेखि स्थायी पेन्सन क्याम्प बनाउने तयारी भएपनि जग्गा प्राप्त हुन नसक्दा यसअघि भारत सरकारले विनियोजन गरेको १ करोड २५ लाख भारतीय रुपैयाँ फ्रिज भएको थियो। हाल ६–६ महिनामा संचालन हुने फुलबारीको अस्थायी पेन्सन क्याम्पबाट यस क्षेत्रका पूर्व सैनिकहरुले ३ अर्ब रुपैया पेन्सन बुझ्छन् । स्थायी क्याम्पबाट वार्षिक १० अर्ब भन्दा बढी रकम बितरण हुने बताइएको छ । पश्चिम नेपालका करिब ५० हजार भारतीय भुपु सैनिक र उनीहरुका परिवार लाभान्वित हुने महासंघका अध्यक्ष थापाले बताए।

स्थानीय स्तरमा पेन्सन वितरण गर्नका लागि पुरातात्विक र धार्मिक दृष्टिले महत्वपूर्ण फुलबारीको साटो देवीनगर लगायत अन्यत्र अहिले फुलबारीमा प्राप्त भन्दा धेरै जग्गा उपलब्ध गराउन सकिने भन्दै फुलबारीमा पेन्सन क्याम्प बनाउन रोक्न निरन्तर दवावमुलक कार्यक्रम अघि बढाउने मणिमुकुन्द उद्यान परिषदका अध्यक्ष खेम लुईटेलले जानकारी दिए । ‘यो बुटवलको पर्यटकीय मात्रै नभएर धार्मिक र पुरातात्विक दृष्टिले पनि निकै महत्वपूर्ण स्थल हो—उद्यान परिषदका अध्यक्ष लुईटेलले भने।

फुलवारीमा पाल्पाली सेनवंशी राजा मणिमुकुन्द सेनको विस १५७५ मा बनेको शितकालीन दरबार छ। दरबारको आगँन क्षेत्र र दरबारको सहायक वासस्थान क्षेत्र पेन्सन क्याम्पको  पर्खालभित्र परेको छ । यही दरबारको उत्तरतर्फ हिन्दु र मुश्लिम समुदायको संयुक्त धार्मिक स्थल मजारथान रहेको छ। यही मजारथानमा बडा दशैं र चैते दशैंको बेला भारतको मद्रासदेखि आएका तीर्थयात्री एकरात बास बसेर मुक्तिनाथ दर्शन गर्न जाने परम्परा छ।

अहिले पेन्सन क्याम्पलाई सरकारले थप जग्गा उपलब्ध गराएपछि मजारथान जाने बाटो छेक्ने गरी तारबार लगाइएको छ । फुलबारीमै रहेको स्वामी नारायणको दर्शन गर्न भारतको गुजरातबाट दर्शनार्थीहरु हरेक वर्ष बैशाखमा आउँछन् ।

‘नेपाल र भारतलाई जोड्ने धार्मिक र सांस्कृतिक सेतु फुलबारी हो, पेन्सन क्याम्पका लागि अन्यत्र जग्गा खोज्नुपर्छ— बटौली संरक्षण समितिका अध्यक्ष रविन्द्र गोपाल  लाकौलले भने।

फुलबारी नेपाल—अग्रेंज युद्धताका प्रयोग भएको जीतगढी किल्लाको सिरानमा पर्छ । यही किल्लाबाट नेपालले अंग्रेज फौजलाई पराजीत गरेको थियो । जीतगढी किल्लाबाट फुलबारी हुँदै नुवाकोट गढीसम्म सुरुङ रहेको भनिएपनि यसको उत्खनन् र खोज हुन सकेको छैन्। पुरातात्विक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण फुलबारीलाई जोगाएर राख्नुको साटो पेन्सन क्याम्प बनाउन दिने सरकारको निर्णय गलत भएको नुवाकोट  विकास समितिका अध्यक्ष माधव नेपालले बताए।

तत्कालीन बुटवल नगरपालिकाका प्रमुख भोज प्रसाद श्रेष्ठको पालामा २०५७ सालमा चारपाला सामुदायिक वन क्षेत्रको ८ बिघा र देवीनगरमा ६ बिघा जग्गा देखाइएको थियो । भारतीय पक्षले ती दुवै जग्गामा रुची देखाएन् । सामरिक दृष्टिले महत्वपूर्ण फुलबारीमै दीर्घकालीन प्रभाव पार्ने क्याम्प राख्न अन्यत्र रुची नदेखिएको अहिले प्रष्ट भएको नागरिक अगुवा बिन बहादुर कुँवरले बताए । ‘पेन्सन क्याम्पका नाउँमा भारतले सामरिक दृष्टिले महत्वपूर्ण जीतगढी किल्ला र फुलबारी आफ्नो हातमा पार्ने योजना बनाइरहेको छ—उनले भने।

पूर्व नगरप्रमुख एंव प्रदेश सभासद् श्रेष्ठले पनि फुलबारीमा पेन्सन क्याम्प बनाउन  दिदाको असर पर्यटकीय विकासमा मात्रै नभएर  सुरक्षा जस्तो संवेदनशील विषयसंग जोडिएको विषय भएको बताए।

स्थानीय  बटौली संरक्षण संवद्धन समिति, मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, बुटवल सामुदायिक वन उपभोक्ता समूह लगायत यहाँका दर्जन संघसंस्था अहिले विरोधमा छन्।

केही महिना अघि भएको बुटवल उपमहानगरपालिकाको नगरसभामा बोल्दै सांसद एंव पूर्व अर्थमन्त्री विष्णु पौडेलले देवीनगरमा प्रशस्त जग्गा हुँदाहुँदै फुलबारीमा पुरातात्विक स्थानमा पेन्सन क्याम्प राख्नु अस्वाभाविक भएको बताएका थिए।

 

 

 

प्रकाशित: १ माघ २०७४ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App