१६ चैत्र २०८० शुक्रबार
समाज

रौतहटमा कठ्यांग्रिएर १५ को मृत्यु

रौतहट – तीन सातायता एक्कासि बढेको चिसोका कारण कठ्याँग्रिएर रौतहटमा १५ जनाको ज्यान गएको छ । पुसको पहिलो सातादेखि बढेको चिसोको कारण जिल्लाको जनजीवन अत्यधिक प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कठ्यांग्रिएर शुक्रबारसम्म ७ महिला र ८ पुरुषको मृत्यु भइसकेको छ।
 
मृत्यु हुनेमा गौर नगरपालिका ५ की ६० वर्षीया सियादेवी ठाकुर, वडा नम्बर ७ सिसवा टोलका ५५ वर्षीय हिरामन राय यादव, यमुनामाई गाउपालिका १ जेठरहियास्थित पाकिजा इँटा उद्योगमा कार्यरत मजदुर सर्लाही रामवनका ५५ वर्षीय नेक महम्मद, परोहा नगरपालिका २ जिगडवाका ४५ वर्षीय शेख समिम, वडा नम्बर ९  रामपुरखापका ६५ वर्षीया मरठियादेवी राउत, ७० वर्षीया नसुरुल्ला खातुन, ६० वर्षीय रामलगनप्रसाद पटेल छन्। 

यस्तै गुजरा नगरपालिका ७ की ४३ वर्षीया फूलकुमारी पासवान, राजदेवी नगरपालिका ९ ब्रह्मपुरीका ७० वर्षीय अलकप्रसाद सिंह, दुर्गा भगवती गाउँपालिका ५ की ६० वर्षीया सकलीदेवी पासवान, गढीमाई नपाका ७४ वर्षीय रामवृक्ष साह र ६५ वर्षीय भिक्षु ठाकुर हजाम, माधवनारायण नपाका रेखाकुमारी यादव र ६५ वर्षीया धुपालीदेवी साह तथा बौधीमाई नपा १ का ५६ वर्षीय रामचन्द्रप्रसाद साहको पनि चिसोमा कठ्यांग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जिल्ला दैवीप्रकोप उद्धार समितिको पहलमा दलित, विपन्न र असहायको बस्तीमै पुगेर कम्बल, चिया, बिस्कुटलगायतका सामग्री वितरण गरेको बताए । चिसोबाट जोगिन स्थानीयलाई सचेत बनाउन स्थानीय एफएम रेडियोबाट सन्देश प्रवाह भइरहेको पनि उनले बताए । यस्तै दाउरा वितरण पनि गरिएको उनले जानकारी दिए। 

यहाँका मुसहर, चमार, दुषाध, हलखोरलगायतका अति विपन्न समुदायको जनजीवन चिसोका कारण कष्टकर बनेको नागरिक समाजका सचिव विजयकिशोर झाले बताए।

प्रकाशित: २९ पुस २०७४ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App