८ वैशाख २०८१ शनिबार
समाज

अनौठो संयोगः छोरा सभापति, बुवा प्रमुख अतिथि

सर्लाही – जिल्लास्थित एक स्थानीय तहको शुक्रबार सम्पन्न गाउँ सभा उद्घाटन समारोहमा अनौठो संयोग जुरेको छ। त्यो हो, कार्यक्रमको अध्यक्षमा छोरा थिए भने प्रमुख अतिथिमा उनकै बुबा।

जिल्लाको दक्षिणी क्षेत्र स्थित चक्रघट्टा गाउँपालिकाको प्रथम गाउँ सभा उद्घाटन समारोहमा त्यस्तो संयोग जुरेको हो। गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवको अध्यक्षता रहेको उद्घाटन समारोहमा उनकै बुबा पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य रामेश्वर राय यादवको प्रमुख आतिथ्यता रहेको थियो।

‘आफ्नै क्षेत्रका प्रतिनिधि सभा सदस्यलाई प्रमुख अतिथि बनाउने प्रचलन छ’, गाउँपालिका अध्यक्ष विक्रमले भने, ‘त्यसैले उहाँलाई नै प्रमुख अतिथि बनाउनु स्भाविक हो।’

आफूले प्रमुख अतिथि बन्न नचाहेपनि स्थानीयसहित सबैले आग्रह गरेकाले बाध्य भएको प्रतिनिधि सभा सदस्य रामेश्वर राय यादवले बताए। ‘म त प्रमुख अतिथि बस्दिन भनेको थिएँ’, उनले भने, ‘तर स्थानीय बासिन्दा सहित गाउँपालिकाका कसैले पनि मानेनन्।’

दुवै बाबुछोरा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। स्थानीय तहको निर्वाचन अघि मात्र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको वरिष्ठ उपाध्यक्ष छाडेर माओवादी केन्द्र प्रवेश गरेका रामेश्वरले जेठा छोरा विक्रम यादवलाई चक्रघट्टाको अध्यक्षमा विजयी बनाए। लगतै भएको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत बाम गठबन्धन अन्तर्गत माओवादी केन्द्रको उम्मेद्वार भई क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।

जिल्लास्थित हालसम्म सम्पन्न स्थानीय तहको नगर वा गाउँसभा उद्घाटन समारोहमा सम्बन्धित क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई नै प्रमुख अतिथि बनाईएको छ। जुन प्रचलन, चक्रघट्टा गाउँपालिकाको हकमा भने यी बाबुछोराबीच संयोग बनेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विक्रम रायले गाउँसभामा चालू आर्थिक वर्ष २०७३÷०७४ का लागि २७ करोड १० लाख ७१ हजार ५०५ रुपैंया तथा आगामी आव ०७४÷०७५ का लागि २६ करोड २४ लाख ६ हजार रुपैंयाको अनुमानित आयव्यय पेश गरे। प्रमुख अतिथि रामेश्वर रायले भने चक्रघट्टा गाउँपालिकालाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्नका लागि तथा जिल्लामै सबैभन्दा बढी जमिन कटान गरिरहेको लखन्देही नदी नियन्त्रणका लागि तत्कालैदेखि काम सूरु गराउने लगायत अन्य विभिन्न विकास निर्माणका कामहरु गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: २८ पुस २०७४ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App