coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा चिसोबाट १५ जनाको मृत्यु

रौतहट – झण्डै तीन सातादेखि पश्चिमा चिसो वायुसँगै एक्कासी बढेको चिसोको कारण कठ्याँग्रिएर रौतहटमा १५ जनाको ज्यान गएको छ। पुस महिनाको पहिलो हप्तादेखी एक्कासी बढेको कठ्याँग्रिदो चिसोको कारण जिल्लाको जन जिवन प्रभावित हुनुका साथै ठूलो जनधनको समेत क्षति भएको छ।

चिसोबाट कठ्याँग्रिएर शुक्रवार सम्म १५ जना बृद्ध–बृद्धाहरुको ज्यान गइसकेकोे छ। जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पुस महिनाको पहिलो हप्तापछि बढेको शितलहर संगै कठ्याग्रिदो चिसोबाट जिल्लाको विभिन्न नगरपालिका एवं गाउँपालिकाका ७ महिला र ८ पुरुष गरी १५ जनाको मृत्यु भइसकेको हो।

चिसोको कारण कठ्याँग्रिएर गौर नपा ५ की ६० बर्षिया सियादेवी ठाकुर, वडा नम्बर ७ सिसवा टोलका ५५ बर्षिय हिरामन राय यादव, यमुनामाई गाउपालिका वडा नम्बर १ जेठरहिया स्थित पाकिजा इटा उद्योगमा कार्यरत मजदुर सर्लाही रामवनका ५५ बर्षिय नेक महम्मद, परोहा नगरपालिका २ जिगडवाका ४५ बर्षिय शेख समिम, वडा नम्वर ९  रामपुरखापका ६५ बर्षिया मरठिया देवी राउत, ७० बर्षिया नसुरुल्ला खातुन, ६० बर्षिय रामलगन प्रसाद पटेल, गुजरा नगरपालिका ७ का ४३ बर्षिया फुलकुमारी पासवान, राजदेवी नगरपालिका ९ व्रम्हपुरीका ७० बर्षिय अलकप्रसाद सिंह, दुर्गा भगवती गाउँपालिका ५ की ६० बर्षिया सकली देवी पासवान, गढीमाई नपा ६ र ७ का ७४ बर्षिय रामवृक्ष साह, ६५ बर्षिय भिक्षु ठाकुर हजाम, र माधवनारायण नपा ४ र ७ को रेखाकुमारी यादव, ६५ बर्षिया धुपाली देवी साह र बौधीमाई नपा १ का ५६ बर्षिय रामचन्द्र प्रसाद साहको यसपालीको चिसोमा कठ्याँग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले दिनभरी बाक्लो हुँस्सु लाग्नुका साथै चिसो पश्चिमा वायुको कारण जिल्लाको जन जिवन अति नै प्रभावित हुन थालेपछि जिल्ला दैविप्रकोप उद्धार समितिको पहलमा दलित, विपन्न र असहायहरुको बस्तीमै पुगेर न्यानो कम्बल, चिया, विस्कुट लगायतका सामग्रीहरु वितरण गराएर चिसो पीडितको जीवन रक्षाको लागि स्थानीय प्रशासनले हरेक सम्भव प्रयास गरिरहेको बताए।

चिसोबाट जोगिनको लागि स्थानीय एफएम रेडियोबाट विभिन्न जनहितमा जारी सन्देश प्रवाह गरेर, ‘चिसोमा घर बाहिर ननिस्कौं, यदी निस्कनु परेमा समयमै घर फर्कियौं’ जस्ता सन्देश प्रशारित गराएर स्थानीयलाई सचेत गराउदै जिल्लाको सरकारी कार्यालय, बजार, कलकारखाना लगायतका सार्वजनिक स्थानहरुमा समेत दाउराको खसालेर आगो बालेर चिसोबाट सर्वसाधारणलाई जोगाइरहेको बताए।

दिनदिनै बाक्लो हुस्सु संगै चिसो पश्चिमा वायु सँगै चलिरहेको शितलहरका कारण यहाका तापक्रम निकै कम भएकोले सामान्य जीवन यापन गर्ने दलित, मुसहर, चमार, दुषाध, हलखोर, लगायतका अति गरिब तथा विपन्नहरुलाई निकै कष्टकर जीवनयापन गर्नु परिरहेको नागरिक समाजका सचिव विजय किशोर झाले बताए। विगत बर्षको तुलनामा यसपालि बढेको चिसोले धनी होस वा गरिव चिसोबाट सबै वेहाल छन् फरक यतिमात्रै हो कोही कोठा भित्र सुत्छन् कोही फुँसको घरमा गुन्द्री ओढेर रात काट्ने गरेको नागरिक समाजका सचिव झाको भनाई छ।

यहाँका दलित एवं गरिव परिवारलाई जिउ ढाक्न एवं चिसोबाट जिवन रक्षाका लागि केही कपडा तथा दाउरा खसाउन लगाएर उनीहरुको जिवन जोगाउन हर सम्भव प्रयास जारी राखेको बताए। राज्यबाट न्यून मात्रामा आउने सहयोग त्यो पनि चिसो गइसकेपछि आउने तथा दिदा अनावश्यक झन्झटिलो हुने हुँदा स्थानीय बासिन्दाहरुको सहयोगमा रकम संकलन गरेर उनीहरुलाई राहत स्वरुप चिसोबाट जोगाउने जोहो गरिएको उनले सुनाए।

प्रकाशित: २८ पुस २०७४ १४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App