१६ चैत्र २०८० शुक्रबार
समाज

प्रश्नपत्र बेच्नेलाई जेल सजाय

काठमाडौं – विशेष अदालतले एमबिबिएस छात्रवृत्ति परीक्षामा प्रश्नपत्रको गोपनीयता भंग गर्ने ६ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले ६ जनालाई दोषी ठहर गर्दै बुधबार कैद र जरिवाना सुनाएको हो। 

तीन वर्षअघि शिक्षा मन्त्रालयले एमबिबिएस छात्रवृत्ति परीक्षा लिने क्रममा गोल्डेन गेट कलेजबाट परीक्षा हुनुभन्दा ५ मिनेटअघि नै प्रश्नपत्र बाहिरिएको थियो । 

विशेष अदालतले प्रश्नपत्रको गोपनीयता भंग गर्नमा संलग्न गोल्डेन गेट कलेज रातोपुलका निर्देशक देवीराम पाण्डेसहित छ जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ ।

विशेष अदालतले प्रश्नपत्रको गोपनीयता भंग गर्नमा संलग्न गोल्डेन गेट कलेज रातोपुलका निर्देशक देवीराम पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार रुपैयाँ जरिवाना ठहर गरेको छ।  

प्रश्नपत्र किनबेचमा मध्यस्थकर्ता डा. प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद र ३४ लाख रुपैयाँ जरिवाना ठहर भएको छ। त्यसैगरी सोही कलेजका शिक्षक हरिहर भन्ने खेचरनाथ सापकोटालाई १ महिना १५ दिन कैद र २५ सय रुपैयाँ जरिवाना ठहराएको छ। 

त्यसैगरी धर्मेन्द्र यादवलाई १ वर्ष कैद र ९ लाख रुपैयाँ जरिवाना, जीवछकुमार यादवलाई ५ वर्ष कैद १ लाख २ हजार रुपैयाँ जरिवाना, विद्यार्थीसँग रकम असुल्ने अर्का मध्यस्थकर्ता महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद र १७ लाख एक हजार रुपैयाँ जरिवाना सुनाइएको हो।

अदालतले एमबिबिएस छात्रवृत्ति परीक्षामा प्रश्नपत्र बेचेको आरोप लागेका ८ जनामध्ये ६ जनालाई दोषी ठहर गरेको र २ जनाले सफाइ पाएका छन् । शैफ अख्तर र घनेन्द्रप्रसाद संग्रौलाले सफाइ पाएका हुन्।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले परीक्षा सुरु हुनुअघि ०७१ मंसिर २० मा गोल्डेनगेट कलेजका दुई प्राध्यापकसहित सातजनालाई प्रश्नपत्र लेनदेन गरिरहेकै अवस्थामा पक्रेको थियो । २०७१ पुस २९ मा विशेष अदालतले अख्तियारले मुद्दा दर्ता गरेको थियो । अख्तियारले ३४ लाख २५ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । बरामद गरिएको रकम जफत हुने भएको छ।  

प्रश्नपत्र बेचेबापत ठूलो रकम लेनदेन भइरहेको सूचना पाएपछि परिचालित अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । त्यस बेला प्रश्नपत्र आउट गराउनमा संलग्न मध्यस्थकर्ता कुसवाहको नखिपोटस्थित घरमा पनि छापा मारिएको थियो । उनको घरबाट १ लाख नगद र ४५ लाखको चेक बरामद भएको थियो। 
त्यसबखत गोल्डेनगेटका निर्देशक पाण्डे र मध्यस्थकर्ता कुसवाह, सापकोटा, यादवसमेत सात जनालाई नियन्त्रणमा लिइएको थियो। 

परीक्षाअगाडि प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले छात्रवृत्ति छनोट समितिको निर्णयका आधारमा त्यस समयमा भएका सबै परीक्षा रद्द गरेको थियो। 

प्रकाशित: २८ पुस २०७४ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App