जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि 'मिचौङ्ग' नामक समुद्री आँधीको प्रभाव नेपालका केही क्षेत्रमा देखिने बताएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको आन्ध्र प्रदेश आसपास रहेको मिचौङ्ग नामक समुद्री आँधीकाको आंशिक प्रभाव देखिएको छ।
मिचौङ्ग आँधीका कारण आज पनि मधेश र कोशी प्रदेशमा हावाको गति बढ्ने हुँदा हवाई उडान प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेश, मधेश प्रदेशका साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ।
यस्तै आज राति कोशी, मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका र मधेश प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
साथै महाशाखाले कोशी प्रदेशका र मधेश प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा देशभरिको तापक्रममा गिरावट आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।
प्रकाशित: २० मंसिर २०८० ०२:०७ बुधबार