१५ चैत्र २०८० बिहीबार
समाज

विवादका कारण ठाकुर प्रमुख अतिथि बन्न पाएनन्

सर्लाही- प्रमुख अतिथिका रूपमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर उपस्थित नभएपछि जिल्लास्थित बलरा नगरपालिकाको नगरसभा उद्घाटन समारोह मंगलबार सहज ढंगले भएको छ ।
राजपाबाट निर्वाचित नगरपालिकाका मेयर अभय सिंहले राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई प्रमुख अतिथिका रूपमा निम्तो गरेपछि उक्त नगरपालिकासमेत पर्ने जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित एवं बलरा निवासी डा. अमरेशकुमार सिंहसहित उनका समर्थकले विरोध गरेका थिए । राजपा कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच प्रमुख अतिथिकै विषयमा विवाद बढ्दै गएर झडप हुन सक्ने भन्दै उक्त क्षेत्रमा मंगलबार बिहानैदेखि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
‘प्रमुख अतिथिकै विवादका कारण अप्रिय घटना नहोस् भन्नेतर्फ सजग भई त्यसअनुसारको सुरक्षा व्यवस्था मिलाएका थियौं’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले भने, ‘जे होस् अन्तिम समयमा नेताज्यूहरू आफैले मिलाउनु भएछ र सहज रूपमा नगरसभा उद्घाटन समारोह भयो ।’ झडप हुन सक्ने भन्दै यसै विषयलाई लिएर सोमबार दिउँसो जिल्ला सुरक्षा समितिको अनौपचारिक बैठकसमेत बसेको एक सुरक्षा अधिकारीले जानकारी दिए । स्रोतका अनुसार सुरक्षा अधिकारीहरूले समेत राजपा अध्यक्ष मण्डल संयोजक ठाकुरलाई सम्भावित ठूलो झडप निम्तिन सक्ने भन्दै कार्यक्रममा उपस्थित नहुन आग्रह गरेका थिए ।
ठाकुर स्वास्थ्यको कारण देखाएर नआएपछि प्रतिनिधिसभा सदस्य डा. सिंहकै प्रमुख आतिथ्यमा मंगलबार दिउँसो नगरसभा उद्घाटन समारोह भएको छ । ठाकुर नआउने भएपछि सदरमुकाम मलंगवामै भएका राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रप्रसाद यादवलगायत अन्य नेताहरू समेत कार्यक्रममा सहभागी भएनन् ।
‘ठाकुरजी स्वास्थ्य समस्याका कारण आउन सक्नु भएन, अमरेशजीकै प्रमुख आतिथ्यमा उद्घाटन सकियोे, अब भोलिदेखि बन्दसत्र सुरु हुनेछ’, बलरा नगरपालिकाका मेयर सिंहले मंगलबार नागरिकसँग भने, ‘जिल्ला निवासी सबै वरिष्ठ नेतालाई बोलाएका थियौं, तर कोही पनि आउनु भएन ।’
अघिल्ला निर्वाचनहरूमा सोही क्षेत्रबाट निर्वाचन लड्दै आएका राजपा अध्यक्ष ठाकुर यसपटक भने महोत्तरी क्षेत्र नं. ३ बाट विजयी भएका छन् । अर्को जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई प्रमुख अतिथि बनाउन खोजिएको भन्दै कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए । क्षेत्रबाट निर्वाचित र स्वयं बलरा नगरवासी भएकाले डा. सिंहलाई नै प्रमुख अतिथि बनाउनुपर्ने कांग्रेस कार्यकर्ताको दाबी थियो ।
प्रमुख अतिथिलगायत विभिन्न विवादका कारण २० स्थानीय तह रहेको सर्लाहीमा आधाभन्दा बढी स्थानीय तहको नगरसभामा उद्घाटन नै हुन सकेको छैन भने कतिपयको उद्घाटन सकिए पनि बन्दसत्र हुन सकेको छैन ।

प्रकाशित: २६ पुस २०७४ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App