२ आश्विन २०७७ शुक्रबार
समाज

ट्रिपर–ट्यांकरका कारण बढी दुर्घटना

काठमाडौं – काठमाडौं उपत्यकामा दैनिक औसत १६ सवारी दुर्घटना हुन्छन् । अरु सवारीसाधन भन्दा ट्रिपर–ट्यांकर बढी दुर्घटनामा पर्ने गरेको मृत्यु हुनेमा पनि ट्रिपर–ट्यांकरकै बढी हुनेगरेको तथ्यांकले देखएको छ । उपत्यका ट्राफिक महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा उपत्यकामा ट्रिपर–ट्यांकरका कारण ५७ जनाको ज्यान गयो । यसरी मृत्यु हुने अधिकांशको ट्रिपर–ट्यांकरले ठक्कर दिँदा ज्यान गएको हो ।

दुर्घटना सूचीको दोस्रो नम्बरमा मोटरसाइकल तथा स्कुटी छन् । मोटरसाइकल–स्कुटी दुर्घटनाका कारण गत आर्थिक वर्षमा उपत्यकामा ४१ जनाको मृत्यु भएको थियो । बस–मिनीबस दुर्घटनाका कारण ३९ जनाको मृत्यु भयो भने चारजनाले माइक्रो बस दुर्घटनाका कारण ज्यान गुमाए । उक्त आर्थिक वर्षमा १४ सय मालवाहक गाडी दुर्घटनामा परेका छन् । 

उपत्यका ट्राफिक महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा उपत्यकामा ट्रिपर–ट्यांकरका कारण ५७ जनाको ज्यान गएको छ।

उक्त आर्थिक वर्षमा सबै किसिमका सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या १ सय ८२ छ । २०६९ देखि हालसम्म भने सवारी दुर्घटनाका कारण ८ सय ३० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल–स्कुटी चालक छन् । उनीहरुको संख्या ३ सय ६२ छ । दोस्रोमा पैदलयात्री छन् । गत पाँच वर्षमा ३ सय ३४ पैदलयात्रीले सवारी दुर्घटनाका कारण ज्यान गुमाएका छन् । आव २०७३/७४ मा मृत्यु हुनेमा सबैभन्दा बढी पैदलयात्री छन् । यो वर्ष ७९ जना पैदलयात्री र ७७ जना मोटरसाइकल–स्कुटी चालकको सवारी दुर्घटनाका कारण ज्यान गयो । पैदलयात्री र मोटरसाइकल चालकको मृत्यु हुने दर बर्सेनि बढ्दै गएको देखिन्छ ।

२०७३/७४ मा ट्रिपर–ट्याकंरको ठक्करले मृत्यु हुनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक, मोटरसाइकलमा सवार र पैदलयात्री छन् । उपत्यका ट्राफिक महाशाखा अपरेसन शाखाका इन्चार्ज मधुसूदन सिलवालका अनुसार ट्रिपर–ट्यांकरको ठक्करले मृत्यु हुनुको कारणमा तीनै पक्षको कमजोरी छ । राति ८ बजेदेखि बिहान ८ बजेसम्म मात्र चक्रपथभित्र पस्ने अनुमति पाएका मालवाहक गाडी चक्रपथमा तीव्र गतिमा चलाइँदा बढी दुर्घटना हुने गरेको उनले बताए । कतिपय गाडीले सहचालकलाई चलाउन दिएका बेला दुर्घटना भएको छ । ‘ट्रिपर–ट्याकंर चालकले लापरबाहीका साथ चलाएको भेटिन्छ, त्यस्तो बेला मोटरसाइकल र स्कुटी तथा पैदलयात्री बढी जोखिममा पर्ने गरेका छन्,’ उनले भने।

लाइसेन्स वितरणमा समस्या तथा दक्ष चालक बिदेसिएका कारण पनि दुर्घटना बढेको ट्राफिक प्रहरीको मूल्यांकन छ। ‘काठमाडौंबाट दिन बन्द गरेपछि तराईका विभिन्न जिल्लामा पुगेर अनुमतिपत्र लिएको देखिन्छ । यहींबाटै अनुमतिपत्र दिने हो भने ठूला गाडीले प्रतिस्पर्धी चालक पाउन सक्छन्,’ इन्चार्ज सिलवालले भने। उनका अनुसार ट्रिपर–ट्यांकरको बनोट कडा भएकाले त्यस्ता गाडीसँग ठोक्किन पुग्नेको मृत्यु हुने सम्भावना बढी हुन्छ। ‘दुर्घटनामा मोटरसाइकल–स्कुटी सन्तुलन गुमाएर लड्छन् । कडा फलामले बनेका ट्रिपर–ट्यांकरले छुनासाथ चोट लाग्छ । यस्ता गाडीले छुँदा मात्र पनि ज्यानै जान सक्छ,’ उनले भने।

सिलवालका अनुसार ट्रिपर–ट्यांकरले ठक्कर दिएर मृत्यु हुनुमा मोटरसाइकल–स्कुटीचालक र पैदलयात्रीको पनि कमजोरी छ ।  मोटरसाइकल–स्कुटी चालकले बीच बाटो र तीव्र गतिमा चलाउनु, जथाभावी ओभरटेक गर्नु, लुकिङ ग्लास राम्रोसँग नहेरी ओभरटेक गर्नु, थोरै ठाउँमा ओभरटेक गर्नुलगायतका कमजोरीले मोटरसाइकल–स्कुटी दुर्घटनामा पर्ने उनले बताए । त्यसैगरी सडकछेउका पैदलयात्रीले मूल सडक चेपेर हिँड्नु, जेब्राक्रसिङबिनाका ठाउँबाट जथाभावी बाटो काट्नु, सडकपेटी छोडेर हिँड्ने गर्दा पैदलयात्रीको मृत्यु हुने गरेको छ।

उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी, चालकले आफ्नो सवारीसाधनको ब्रेक, लुकिङ ग्लास चुस्तदुरुस्त नराख्दा दुर्घटना हुने गरेका छन् । दुर्घटनाबाट बच्न पैदलयात्री तथा मोटरसाइकल चालक सबैले ट्राफिक नियम पालना गर्नुपर्ने ट्राफिक प्रहरीको सुझाव छ । सार्वजनिक बसले तोकिएको ठाउँबाट मात्र यात्रु चढाउने र ओराल्ने, पैदलयात्रुले सडकनजिक हिँड्दा विचार पु¥याउने, फुटपाथमा हिँड्ने, एकआपसमा अस्वस्थ प्रतिस्पर्धा नगर्ने, अदक्ष चालकलाई अनुमतिपत्र नदिनेजस्ता ट्राफिक नियम पालना गरेमा दुर्घटनाबाट बच्न सकिने इन्चार्ज सिलवाल सुझाउँछन्।

प्रकाशित: २१ पुस २०७४ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App