coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सर्वोच्चले पौडेलको मुद्दामा कागजात माग्यो

काठमाडौं- सर्वोच्च अदालतले तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) उम्मेदवार प्रदीप पौडेलको मुद्दामा मतपत्रसहितका कागजपत्र पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरू दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्कीको संवैधानिक इजलासले मतपत्र, मुचुल्का निर्वाचन आयोगमार्फत इजलासमा पेस गर्न बुधबार आदेश दिएको हो ।
पुस ७ मा सोही संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गरेको थियो । छलफलपछि सर्वोच्चले मतगणनाका क्रममा प्रयोग हुने कागजात मगाएको हो ।
कांग्रेस पौडेल प्रदेशसभा निर्वाचनमा ५ मतले हारेपछि पुस ६ मा सर्वोच्च पुगेका थिए । तनहुँ क्षेत्र नम्बर २ को प्रदेश (क) बाट चुनाव लडेका पौडेल माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मतको अन्तरले हार व्यहोरेका हुन् । थोरै मतले हारेपछि पुनः मतगणनाको माग गर्दै पौडेल सर्वोच्च पुगेका हुन् ।
समाचार प्रसारणको विवरण माग
सर्वोच्चले प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि जनता टेलिभिजनबाट प्रसारित एउटा श्रव्यदृश्य सामग्री पेस गर्न आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको संवैधानिक इजलासले बुधबार समाचारको विवरण पेस गर्न आदेश गरेको हो ।
वाम गठबन्धनका तर्फबाट धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार रामसिंह यादवले मतदातालाई भ्रम पार्ने गरी जनता टेलिभिजनबाट सामग्री प्रसारण भएको भन्दै पुनः मतदानको मागसहित सर्वोच्चमा रिट दिएका थिए ।
टेलिभिजनबाट वाम गठबन्धनले राजेन्द्र महतोलाई भोट दिने निर्णय भएको छ भन्ने भ्रामक समाचार दिएकाले आफूले हारेको दाबी रिटमा गरिएको छ ।
माओवादी केन्द्रका उम्मेदवार यादवले दर्ता गरेको रिटमा मतदान हुनुअघि नै कुन आधारमा समाचार प्रकाशन भएको भन्दै विवरण मागेको हो ।
यादव हारेपछि पुस ५ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए । निर्वाचन आयोग, मधेस न्युज अनलाई पत्रिकाका सम्पादक विनिता सिंह, जनता टेलिभिजन जनकपुरका संवाददाता प्रमोद साहलाई विपक्षी बनाई रिट दायर भएको थियो ।

प्रकाशित: २० पुस २०७४ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App