१६ चैत्र २०८० शुक्रबार
समाज

उच्च शिक्षामा गणितको ‘ह्याट्रिक’

काठमाडौं- सार्वजनिक विद्यालयमा गणित विषयमा विद्यार्थीको सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा न्यून रहे पनि उच्चशिक्षामा भने यही विषयका विद्यार्थीले उत्कृष्ट नतिजा निकालेका छन् । त्रिभुवन विश्वविद्यालयमा तीन वर्षयता गणित विषयकै विद्यार्थी लगातार सर्वोत्कृष्ट भएका छन् ।

यस वर्ष त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका प्रसन्नकुमार तामाङ स्नातकोत्तरतर्फ प्रथम श्रेणीमा प्रथम भएका छन् । उनी आइतबार पुल्चोक इन्जिनियरिङ कलेजको प्रांगणमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४३औं दीक्षान्त समारोहमा उनी त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र चान्सलर पदकबाट सम्मानित भए । उनले ९२.५ प्रतिशत अंक प्राप्त गरेका छन् । गत वर्ष गणित विषयकै विष्णु पौडेल सर्वोत्कृष्ट भएका थिए भने २०७२ मा सोही विषयका सनत आचार्य सर्वोत्कृष्ट भएका थिए ।
गणित विषयकै विद्यार्थी किन टप भन्ने जिज्ञासामा तामाङले भने, ‘गणित बुझेर प्राक्टिकल गरेर पढ्ने विषय भएकै कारण विद्यार्थी यो विषयमा सर्वोत्कृष्ट हुन्छन् ।’ सरकारी विद्यालयमा गणित अप्ठेरो मानिने भए पनि यस्ता विद्यालयका विद्यार्थी मेहनती हुने भएकाले माथिलो तहको शिक्षामा राम्रो गर्ने गरेको उनको अनुभव छ । उनले उदयपुरको श्री माध्यमिक विद्यालयबाट कक्षा १० पास गरेका हुन् । एसएलसीमा  ७२.७५ प्रतिशत ल्याएका उनले कक्षा  ११ र १२ मा विज्ञान पढे र त्रिचन्द्र कलेजबाट गणित विषयमा स्नातक गरे । २७ वर्षीय प्रसन्नको रुचिको विषय पनि गणित नै भएकोले अध्ययनमा सहज भएको उनी बताउँछन् ।
‘विद्यार्थीमा विषयप्रतिको रुचि, नियमित कक्षामा उपस्थिति र अनुकूल वातावरणले सर्वोत्कृष्ट बनाउँछ,’ तामाङले नागरिकसँग भने, ‘विद्यालयदेखि उच्चशिक्षासम्मको उपाधि मैले सरकारी शैक्षिक निकायमै हासिल गरेको हुँ । विद्यालय स्तरमै ममा मेहनत गरी पढ्ने बानी विकास भएको हो ।’ उनले थपे, ‘सधैं शिक्षकलाई मात्र दोष दिएर हुँदैन, विद्यार्थी आफैं पनि लगनशील हुन सिक्नुपर्छ ।’
उनले विद्यालय शिक्षामा गणितलाई गाह्रो भनेर ‘भ्रम’ फैलाइएको भन्दै दुःख व्यक्त गरे । ‘बुझेर पढ्नेलाई गणित गाह्रो होइन बरु अरु विषयभन्दा सहज हुन्छ’, उनले भने, ‘गणितले विद्यार्थीलाई मेहनती र खोजेर पढ्ने अर्थात् सिर्जनशील बनाउँछ ।’
उनको अनुभवमा सेमेस्टर  प्रणाली लागू भएपछि विश्वविद्यालयले लय लिएको  छ । विद्यार्थी र शिक्षकलाई पठनपाठनप्रति इमानदार बनाएकाले हाल त्रिविको शैक्षिक वातावरणसमेत स्तरीय बन्दै गएको उनी सुनाउँछन् । ‘सेमेस्टरको सुरुवाती अवस्था भएकाले पूर्वाधार नपुगे पनि कक्षामा शिक्षकको नियमित उपस्थितिले पेसाप्रति इमानदार बनाएको छ । विद्यार्थी पनि ८० प्रतिशत उपस्थित हुनैपर्ने नियमले राम्रो भएको छ’, उनले भने ।
समारोहमा एमए अर्थशास्त्रतर्फ सर्वोत्कृष्ट पाटन संयुक्त क्याम्पसका रोशन कर्माचार्यले खगेन्द्रमान सिं प्रधान, चन्द्रराज ढुंगेल स्मृति पुरस्कार र तारापद चौधरी पदक प्राप्त गरे । कर्माचार्यले अर्थशास्त्रमा पनि गणितकै कारण राम्रो अंक आएको बताए । उनले गणितलाई गाह्रो मानेर विषयबाट भाग्नुभन्दा रमाएर अध्ययन गर्दा सहज हुने बताए । ‘विद्यार्थीको दोस्रो अभिभावक नै शिक्षक हुन्,’ कर्माचार्यले भने, ‘शिक्षकले विद्यार्थीलाई कक्षाकोठामा बुझाएर पढाउन सके र विद्यार्थीले राजनीति गर्न छाडे विश्वविद्यालय शिक्षा सुधार हुन्छ ।’ ३० वर्षीय कर्माचार्य पनि सरकारी विद्यालयकै विद्यार्थी हुन् । उनले पनि सेमेस्टरले प्रणालीले विश्वस्तरीय शिक्षामा जोड दिने वातावरण तयार पारेको बताए ।
यसैगरी जैविक प्रविधि केन्द्रीय विभाग कीर्तिपुरबाटै एमएससी जैविक प्रविधि विषयमा सर्वप्रथम स्थान हासिल गर्ने गौरी थापाले डा. रेखा र लक्षमैया श्रीरामा स्वर्ण पदक प्राप्त गरिन् । २७ वर्षीया थापाले आफूले आर्जन गरेको ज्ञान र सीप नेपालमै प्रयोग गरी देश विकासमा योगदान पु¥याउने लक्ष्य रहेको बताइन् । ‘मलाई स्वदेशमै प्रविधि क्षेत्रमा सेवा पु¥याउने इच्छा छ,’ नास्टमा अनुसन्धान सहायकका रुपमा कार्यरत उनले भनिन्, ‘यसका लागि राज्यले वातावरण तयार पारिदिनुपर्छ ।’ उनले सुझाइन्, ‘नेपालमा पनि नयाँ क्षेत्र पहिचान हुँदैछन्, त्यही अनुसारका नयाँ विषय विश्वविद्यालयले थप्दै जानुपर्छ ।’
समारोहमा दोलखाका प्रेमप्रसाद दाहालले एमएडतर्फ गणित विषयमा सर्वप्रथम स्थान हासलि गरी हिमांशु दाहाल स्मृति नगद पुरस्कारबाट सम्मानित भए । उनले विद्यार्थीलाई सैद्धान्तिकभन्दा पनि अनुसन्धानमूलक शिक्षा उपलब्ध गराउनुपर्ने बताए । ‘विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वबजारमा विक्न सक्ने हुनुपर्छ,’ दाहालले भने, ‘विश्वविद्यालयले अब अनुसन्धानमा जोड दिनुपर्छ ।’
आइतबारको  दीक्षान्त समारोहमा २०७३ असार २ गतेदेखि २०७४ जेठ १७ गतेसम्मकोे अवधिमा त्रिविअन्तर्गत विभिन्न अध्ययन संस्थान तथा संकायका स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह उत्तीर्ण गरेका ६८ हजार २ सय २९ विद्यार्थी दीक्षित हुन योग्य थिए । तीमध्ये ८ हजार २ सय ६७ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।
कार्यक्रममा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिवि मुलुककै जेठो विश्वविद्यालय भएको र यसले उच्चशिक्षाको ८३ प्रतिशत भाग ओगटेकोमा खुसी व्यक्त गर्दै उनले त्रिविलाई गुणस्तरमा जोड दिन आग्रह गरे ।
विशेष अतिथि भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राडा जगादेश कुमारले त्रिभुवन विश्वविद्यालयले नेपालको ८३ प्रतिशत उच्चशिक्षाको भार ओगटेकोमा प्रशंसा गरे । ‘विद्यार्थीले देशको प्रधानमन्त्रीकै हातबाट उपाधि हासिल गर्नू गौरवको कुरा हो । यस्तो कुनै पनि देशमा मैले देखेको छैन,’ उनले भने, ‘त्रिविको पाठ्यक्रम पनि विश्वस्तरीय छ । यसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनशक्ति उत्पादन गरेकोमा खुसी लागेको छ ।’ उनले त्रिविका विद्यार्थीलाई जवाहरलाल नेहरु विश्वविद्यालयमा जाडो तथा गर्मीको बिदामा आएर शैक्षिक क्रियाकलापमा सहभागी हुन निमन्त्रणा पनि गरे ।
उपकुलपति तीर्थ खनियाले विश्वविद्यालयमा नयाँ विषय थप र पाठ्यक्रम विश्वस्तरीय हुँदै गएकोले उच्चशिक्षामा त्रिवि संसारका विभिन्न राष्ट्रका विद्यार्थी तथा अनुसन्धानकर्मीको आकर्षणको केन्द्र बनेको बताए ।

प्रकाशित: १७ पुस २०७४ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App