६ वैशाख २०८१ बिहीबार
समाज

भारत पसेका नेपाली महिला बर्षेनी हराउँछन्

नेपालगन्ज-  नेपालगन्ज नाका भएर भारत पसेका नेपाली महिलाहरु हरेक वर्ष बढ्दो मात्रामा हराउने गरेका छन्। एक वर्षको अवधिमा मात्र भारत पसेका ६ सय ८० जना महिला अहिले सम्म सम्पर्कमा छैनन्। यस नाकाबाट भारत गएका ८ सय ३४ जना मध्ये १ सय ५४ जना मात्र फेला परेका छन्। अन्य महिलाको अवस्था अहिले सम्म अज्ञात छ।

  अघिल्लो वर्षपनि हराएका ७ सय ३१ महिला मध्ये १ सय १३ जना मात्र फेला परेका थिए। मानव वेचविखनविरुद्ध क्रियाशिल संस्था माईती नेपाल नेपालगन्जले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार विगत तीन वर्षयता बढ्दो मात्रामा नेपाली महिलाहरु हराईरहेका छन्।

   सन् २०१५ मा ४ सय ६१ जना नेपाली महिला हराएको निवेदन दर्ता भएकोमा ५१ जना महिला मात्र फेला परेका थिए । माईती नेपाल नेपालगन्जका प्रमुख केशव कोईरालाले अधिकांस नेपाली महिला दलालको प्रलोभनमा परेर भारत जाने गरेको र उतैबाट खाडी मुलुकमा जाने गरेको बताए । दलालले रोजगारीको प्रलोभन देखाएर भारत लगायत खाडी मुलुकमा लैजाने गरेपनि त्यहाँ गईसकेपछि महिलाहरु श्रम तथा यौन शोषणमा पर्ने गरेको कोईरालाले बताए।

  माईती नेपालका अनुसार एकवर्षको अवधिमा जोखिमपुर्ण यात्रामा रहेका १ हजार ७१ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरी आवधिक गृहमा प्रवेश गराइएको छ । यस्तै १ हजार १ सय १६ जनालाई पारिवारीक पुर्नमिलन गराइएको, श्रम र यौन शोषणमा परेका ६७ जनालाई उद्धार गरिएको र २ सय २३ जनालाई सीमाबाट परामर्श दिई घर फिर्ता पठाइएको छ । भारत पसेर हराउनेमा सबैभन्दा बढी बाँकेका महिलाहरु रहेका छन् । बाँकेबाट २ सय ८ जना महिला हराएकोमा ४ जनाको मात्रै उद्धार गर्न सकिएको कोईरालाले जानकारी दिए।

  यस्तै सुर्खेतबाट १ सय ७१ जना महिला हराएका छन् । पछिल्लो समयमा फेसबुकमार्फत सम्पर्क चिनजान गरेर दलालले नेपाली महिलालाई अवैध रुपमा भारत लगायत तेस्रो मुलुकमा लैजाने गरेको कोईरालाको भनाई छ । उनका अनुसार मानव वेचविखनमा संलग्न व्यक्तिहरु प्रायः कानुनी कारबाही हुनबाट उम्किने गरेका छन् । यसवर्ष बाँकेमा १५ वटा मात्र मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएका छन् ।

 ‘महिलालाई नाका प्रवेश गराउँदा दलालहरु प्रायः साथ हुदैनन्, यसले गर्दा उनीहरु कारबाहीको दायरामा आउन सक्दैनन्,’ कोईरालाले भने ‘अदालतमा मुद्दा चलेपनि पीडितहरु होस्टाईल हुने समस्या छ ।’ श्रम तथा यौन शोषणमा परेका नेपाली महिलालाई भारतका रेडलाईट एरियामा अझैपनि उद्धार गर्न कठिनाई रहेको उनले बताए । ‘खाडी मुलुकको तुलनामा भारतमा उद्धारको केही संयन्त्र त बनेको छ, तर रेडलाईट एरियाबाट छापा मारेर उद्धार गर्न असहज छ,’ उनले थपे । भारतमा मानव वेचविखनविरुद्ध क्रियाशिल गैरसरकारी संस्थासँग समन्वय गरेर काम गर्दै आएको कोईरालाले जानकारी दिए।

 

प्रकाशित: १६ पुस २०७४ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App