२८ श्रावण २०७७ बुधबार
समाज

किन हराउँछन् महिला र बालबालिका ?

काठमाडौं- ‘मेरी बूढी छोरासहित हराई, अब के गर्ने होला’, निजगढ बाराका बलरामकुमार चौधरी माइती नेपाल पुगेर दुःखेसो पोख्दै थिए । चौधरीकी पत्नी शर्मिला दुई वर्षको छोरासहित हराएकी हुन् । तीन वर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई आफू नभएको मौकामा छोरासहित घर छोडेर गएको बताए ।

चौधरी कामबाट बेलुकी हात्तीगौंडास्थित डेरामा पुग्दा शर्मिला, उनका लत्ताकपडा र भाँडाकुँडासहित हिँडिछन् । ‘कलंकीबाट वेल्डिङको काम सकेर बेलुकी डेरामा आउँदा बूढी छैन । मैले बूढानीलकण्ठ प्रहरी चौकीमा पनि निवेदन दिएको छु,’ चौधरीले भने ।
मानिस हराएको भनी चौधरीजस्तै व्यक्ति प्रहरीमा निवेदन दर्ता गर्दै माइती नेपालसमेत पुग्ने गरेका छन् । नेपाल टेलिभिजनबाट पनि हराउनेको फोटोसहित हुलिया, ठेगाना, कपडाको रङसहित मानिस हराएको सूचना प्रसारण हुने गर्छ । यसरी हराएका मानिस कहाँ जान्छन् भन्ने कसैलाई हेक्का छैन । हराउनेहरू अझै थपिँदै गएका छन् ।  हराउनेमध्ये पुरुषको तुलनामा महिला र बालिकाको संख्या बढी देखिन्छ ।
पोखराकी सुमित्रा थापाकी छोरी स्वीकृति १३ वर्षकी हुँदा हराएकी हुन् । पोखरा, लालीगुराँस १२ बस्ने स्वीकृति हराएको तीन वर्ष नाघिसक्यो । उनी कहाँ छिन्, कस्तो अवस्थामा छिन् कसैलाई अत्तोपत्तो छैन । स्वीकृति त्यतिबेला पोखराकै रेम्बो एकेडेमीमा कक्षा ७ मा पढ्थिन् । एक्ली छोरी उनी घरबाटै हराएकी थिइन् । आफन्त, नातागोता सबैले निकै खोज्दा पनि नभेटेपछि त्यही चिन्ताले ७० नाघेकी हजुरआमा बिरामी भइन् । आमाबुबालगायत परिवार अझै उनको पर्खाइमा छन् । आमा सुमित्राले एक्ली छोरी हराउँदाको पीडा भुल्न सकेकी छैनन् । परिवारले बालबालिकाका क्षेत्रमा काम गर्ने सिविन, बालबालिका खोजतलास केन्द्र, माइती नेपाल, प्रहरी, नेपाल टेलिभिजन, पत्रपत्रिकालगायतका धेरै ठाउँमा हराएको सूचना दिइसकेका छन् ।
०००
मोरङको सुन्दरहरंैचा नगरपालिकामा रहेको जुपिटर बोर्डिङ स्कुलमा कक्षा १० मा पढ्ने १४ वर्षीया पूजा भगत २०७३ फागुन ४ मा हराइन् । स्कुल गएकी छोरी घर नफर्केपछि उनका बुबा मदन भगतले तुरुन्तै प्रहरीचौकीमा उजुरी दिए । भगतले विराटनगर महिला सेलमा पनि निवेदन दिए । एक महिनासम्म चौकीमा धाए । शंका लागजति ठाउँमा पुगे । भगतले बल्ल सात महिनापछि उनकी छोरीलाई जनकपुरका एक युवकले भगाएको पत्ता लगाए । तर, पूजाको नाम अझै पनि नेपाल प्रहरीको वेबसाइटमा हराएकै सूचीमा छ ।
प्रहरीको वेबसाइटमा हराएका भनिएका कतिपय मानिस भेटिसकिएका पनि देखिन्छन् । तर, कतिपय महिला तथा बालिका लामो समयदेखि हराइरहेका छन् । उनीहरु कहाँ के गर्दैछन् भन्ने कुरा न उनका परिवारलाई पत्तो छ न राज्यलाई ।
२०७१÷७२ को तथ्यांकअनुसार नेपालमा ५ हजार ६ सय ८३ जना मानिस हराएको उजुरी प्रहरीमा आएको थियो । हराउनेमा  बालबालिकादेखि वयस्कसम्म छन् । तीमध्ये ८ सय ४६ जना भेटिएका थिए । हराएकामध्ये ३ हजार ३ सय ७६ जना महिला, ८ सय ८९ जना पुरुष, ७ सय २४ बालिका र ६ सय २४ जना बालक छन् । तीमध्ये ४ सय १८ जना महिला भेटिएको जानकारी प्रहरीमा आएको थियो । १ सय १४ जना पुरुष, १ सय ५९ जना बालक र १ सय ५५ जना बालिका भेटिएका थिए । महिला र बालिका गरी ४ हजार १ सय जना हराएकामध्ये ५ सय ३७ जना भेटिए भने बाँकी ३५ सय २७ जनाको अझै पत्तो छैन ।
००००
२०७२÷७३ मा हराउनेको संख्या अघिल्लो वर्षको तुलनामा केही बढेको देखिन्छ । एक वर्षको अवधिमा ५ हजार ९ सय ५७ जना मानिस हराएका छन् । त्यसमध्ये ३ हजार ५ सय ७५ जना महिला र ७ सय ३० जना बालिका छन् । त्यस अवधिमा क्षेत्रगत रूपमा तथ्यांक हेर्दा उपत्यकाबाटै हराउने महिलाको संख्या बढी देखिन्छ । यसमा गाउँबाट सहर आएका महिला धेरै हराएको प्रहरीको आँकलन छ । ४ हजार ३ सय ५ जना अझै हराएको सूचीमा छन् ।
२०७३÷७४ को तथ्यांकमा हराउनेको संख्या अघिल्लो वर्षको तुलनामा २ हजार बढी देखिन्छ, जसमा ७ हजार २ सय ७८ जना मानिस हराएका छन् । ३३ सय ३२ जना महिला र १७ सय २५ बालिका गरी जम्मा ५ हजार ५७ जना हराएका छन्, जसमध्ये १ हजार ३२ जना भेटिएका छन् । ४ हजार २५ जना महिला र बालिकाको अवस्था अझै अज्ञात छ ।
तीन वर्षमा हराउने महिला र बालिकाको संख्या ११ हजार ८ सय ५७ देखिन्छ । यसरी नेपाल प्रहरीमा रहेको तथ्यांकले हराउने बढ्दैछन् भन्ने देखाएको छ । पुरुषको तुलनामा महिला र बालिका बढी हराएको देखिन्छ भने भेटिने संख्या पनि महिला र बालबालिकाकै कम छ ।
प्रहरीका अनुसार कोही व्यक्ति परिवारसँग सम्पर्कविहीन भएपछि खोजिदिन आग्रह गर्दै चौकी पुग्छन् । हराएका व्यक्तिको फोटो, हुलिया, ठेगाना प्रहरीले संकलन गर्छ । सबै जिल्लामा, सीमा नाकामा समेत अभिलेख जानकारी पठाउने गरेको प्रहरी प्रवक्ता मनोज नेउपाने बताउँछन् ।
‘हराउने बित्तिकै खबर दिन आउँछन्, भेटिएको खबर गर्नै आउँदैनन् । त्यसैले संख्या बढी देखिएको हुन सक्छ,’ नेउपानेले भने । हराएको खबर भन्न चौकी पुग्ने व्यक्ति भेटिएको जानकारी दिँदैनन् । त्यसैले कोही तुरुन्तै भेटिए पनि प्रहरीको सूचीमा भने हराएको तथ्यांकमै देखिन्छ ।
प्रहरी संरचनाअनुसार हराएका व्यक्ति खोज्ने छुट्टै संयन्त्र छैन । हराएको मानिस नभेटिएसम्म प्रहरीले निरन्तर खोजी गर्न सकिरहेको हुँदैन । मानिस हराउनुमा सामाजिक कारण पनि रहेको प्रहरी बताउँछन् । सहरमा घरानीया वर्गका व्यक्तिले काम गर्न राख्ने चलन छ । कामका लागि बस्ने व्यक्तिले रेष्टूरेन्ट, गेष्ट हाउसमा काम गर्छन् । प्रहरीलाई सही ठेगाना बताउँदैनन् । ढाँटेर नयाँ परिचयका साथ कोही बसिरहेको हुनसक्ने नेउपानेले बताए ।
...
बारा निजगढबाट जुपा लामालाई १२ वर्षको उमेरमा फुपूको छोरा दाजुले काठमाडौं ल्याएका हुन् । घरमा ५ दिदीबहिनी थिए । घरकी साइँली उनलाई काठमाडौं पढ्न र काम लगाइदिने भनेर ल्याइएको थियो । सुरुमा उनलाई गलैंचा बुन्ने काम लगाइदिए । जुपालाई गलैंचा बुन्ने ठाउँमा कुट्ने, पिट्ने गरेपछि उनी त्यहाँबाट भागेर एकजना साथीसँग गेष्ट हाउसमा काम गर्न थालिन् । फूपुको छोरासँग सम्पर्क टुट्यो, घरपरिवारसँग पनि । धेरै कमाउने खोजीमा उनी डान्स बार पुगिन् । उनी ठमेलको एउटा डान्स बारमा काम गर्छिन् । उनी अहिले २६ वर्ष भइसकिन् । एक्लै बस्छिन् । परिवारले उनलाई हराइन् भनेर खोजेका थिए । गोंगबुमा भेटिएकी जुपाले भनिन्, ‘बाआमाले पहिले हराएको भन्दै खोजेका थिए रे ! अहिले त मलाई मरिसक्यो भन्छन् रे !’ उनले आफ्नो वास्तविक नाम, ठेगाना परिवर्तन गरेर खुशीसाथ काम गरेकी छिन् ।
मानव बेचबिखनको स्वरूप परिवर्तन भएकाले महिला हराउने गरेको पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङ बताउँछिन् । रोजगारीका क्रममा विदेशमा पुगी समस्यामा परेर फर्केका महिलालाई आत्मनिर्भर बनाउने काममा लागेको उनी बताउँछिन् । स्वदेशमै रोजगारी नभएकाले लुकिछिपी भए पनि महिला विदेश जान वाध्य हुँदा हराउनेको संख्या बढेको गुरुङ बताउँछिन् ।
आन्तरिक बेचबिखनका कारण गाउँबाट काठमाडौं आएर मनोरञ्जनात्मक क्षेत्रमा काम गर्न बाध्य छन् । कतिपयले आफ्नो परिचय परिवर्तन गरेका कारण हराउने गरेको गुरूङ बताउँछिन् । ‘यसरी आउने महिलाले धेरै पढेका हुँदैनन् । काठमाडौं आएपछि जुनसुकै काम गर्न वाध्य हुन्छन्,’ गुरुङले भनिन्, ‘सेक्स टुरिजम पनि बढ्दैछ । काठमाडौं ट्रान्जिटको रूपमा विकास हुँदैछ ।’ त्यसकारण महिलाहरू परिचय लुकाएर हराउन बाध्य छन् ।
रुकुम टक्सेराकी निका मगर ८ वर्षअघि कामको खोजीमा काठमाडौं आइन् । सानैमा आमा बितेपछि पढ्न नपाएर काम खोज्न काठमाडौं आएको बताउँछिन् । पहिले पार्टी प्यालेसमा काम गर्थिन् । त्यसपछि रोल्पा घर बताउने एक केटासँग विवाह गर्ने बहानामा डल्लुमा सँगै बस्न थालिन् । हुनेवाला पति मानेको व्यक्तिले उनलाई थाहै नदिई तीन वर्ष अघि छोडेर गयो । फोन गर्दा ४÷५ दिनपछि आउने बताएको थियो, अर्कोदिन नम्बर परिवर्तन ग¥यो । ऊ कहाँ छ पत्तो छैन । उनी घरपरिवारसँग सम्पर्कमा छैनन् । नयाँ नाम र परिचयसहित उनी अहिले गोंगबुको दोहोरी साँझमा काम गर्छिन् ।  
हराएका भनिएका कतिपय केटाकेटी मिलेर जाने गरेको माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला बताउँछिन् । ‘कतिपय दलालले काम लगाइदिन्छु भनेर गेष्ट हाउस, मसाज सेन्टर, डान्स बारमा पु¥याउने गर्छन् । कतिपयले गेष्ट हाउसमा लगेर यातना दिने गर्छन् । यातना दिएकोबारे कसैलाई भन्न सक्दैनन् अनि ठेगाना ढाँटेर काम गर्न वाध्य छन्’, उनले भनिन् । कतिपय किशोरी, महिला पैसा कमाउने लोभमा घर छोडेर हिड्ने गरेको कोइराला बताउँछिन् ।
महिला तथा बालबालिका कार्यालय काठमाडौंले डान्स बार, डान्स रेष्टूरेन्ट, मसाज पार्लरजस्ता मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको पेशालाई मर्यादित बनाउने उद्देश्यले अनुगमन गर्ने गरेको छ । बाल संरक्षण अधिकृत इन्दिरा पौडेलले १८ वर्ष मुनिका बालिका डान्स बार, खाजा घर, मसाज पार्लरमा रहेको अनुगमनको क्रममा भेटिएको बताइन् । तर, उनीहरूले उमेर २२÷२३ वर्ष भएको भन्दै ढाँट्छन् । ‘नाम, ठेगाना, उमेर, उनीहरुले बुझ्ने तलब सबै ढाँट्छन्,’ उनले भनिन् । डान्स बारमा बच्चासहितका आमासमेत काम गर्ने उनले बताइन् । ‘यति जना छन् भन्ने तथ्यांक छैन । अनुगमन गर्न जाँदा नामै सही भन्दैनन्,’ पौडेलले भनिन्, ‘कतिपय साहुको अघि केही भन्दैनन् । पछि लुकेर फोन गरेर यौन शोषणमा परेको पनि हामीलाई भन्छन् ।’ अनुगमनका क्रममा बसपार्कमा रहेको एउटा डान्सबारमा ५ जना महिलामध्ये दुईजना बच्चा लिएर काम गरेको देखेको उनले जनाइन् ।  घर परिवारसँग सम्पर्कमा रहेकाले पनि मनोरन्जन क्षेत्रमा काम गर्नेले घरमा सहकारी, व्युटी पार्लरमा काम गरेको भनेर ढाँट्ने गरेको उनले बताइन् । महिला बालबालिका कार्यालय काठमाडौंले गत वर्ष १५ वटा डान्सबार, मसाज पार्लरमा अनुगमन गरेको थियो ।

 

प्रकाशित: १४ पुस २०७४ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App