१६ चैत्र २०८० शुक्रबार
समाज

सेमेस्टर लागू भएपछि विद्यार्थी घटे

काठमाडौं- त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभागअन्तर्गत स्नाकोत्तर तहमा नियमित अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून भएको छ ।
त्रिविले स्नाकोत्तर तहअन्तर्गत सेमेस्टर प्रणाली लागू गरेपछि विद्यार्थीको संख्या घटेको हो । केन्द्रीय विभागको तथ्यांकअनुसार शैक्षिक वर्ष ०६९÷०७० मा १५३ विद्यार्थी स्नाकोत्तर अध्ययनका लागि केन्द्रिय विभागमा भर्ना भएका थिए । तर सेमिस्टार प्रणाली पछि भने यो संख्या ह्वात्तै घटेर गएको छ । शैक्षिक वर्ष ०७०÷०७१ मा केन्द्रीय विभागमा २२ जना मात्र विद्यार्थी भर्ना भए । ०७१÷०७२ मा यो संख्या २० मा सिमित भयो । ०७२÷०७३ मा भने यो संख्या आधाले घटेर १० जनामा सिमित हुन पुग्यो । ०७३÷०७४ मा केही सुधार भएर २४ जना विद्यार्थीले सेमेस्टर प्रणालीअन्तर्गत राजनीति शास्त्र अध्ययन गरिरहेका छन् ।
त्रिविले राजनीतिशास्त्रको स्नाकोत्तर तहको सेमेस्टरसँगै प्राइभेटतर्फबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरेकाले विद्यार्थीहरु सेमेस्टरतर्फ कम भर्ना हुने गरेको मल्ल दाबी गर्छन् राजनीतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. गेहेन्द्रलाल मल्ल । ‘सेमिस्टारमा ८० प्रतिशत उपस्थिति अनिवार्य छ तर कामकाजी विद्यार्थीहरूसँग त्यसका लागि समय छैन जसले गर्दा विद्यार्थी नियमितभन्दा प्राइभेटतर्फ बढी आकर्षित भइरहेका छन्,’ मल्लले भने । स्नाकोत्तर तह अध्ययन गर्ने अधिकांश विद्यार्थीले काम गर्दै पढ्ने हुँदा नियमित कलेज उपस्थिति हुने विद्यार्थी कम हुने मल्ल बताउँछन् । ‘प्राइभेटबाट क्याम्पसमा उपस्थित नै नभई पढ्न पाइने व्यवस्था छ, त्यसैले विद्यार्थी त्यसतर्फ आकर्षित भएका छन्,’ उनले भने ।
सेमेस्टर प्रणालीमा विद्यार्थीको उपस्थिति बढाउनका लागि प्राइभेटतर्फको समानान्तर स्नाकोत्तर तह हटाउनुपर्ने मल्ल बताउँछन् । मल्ल कामकाजी विद्यार्थीका लागि त्रिविले बरु सेमिस्टार प्रणालीभित्रै छुट्टै सहज व्यवस्था गरेमा विद्यार्थीको संख्या वृद्धि हुने बताउँछन् ।
राजनीतिशास्त्र राजनीतिक विकासक्रमसँग सिधै जोडिने विषय भएकाले यसको क्षेत्र फराकिलो बन्दै गएको राजनीतिकशास्त्रका प्राध्यापकहरू बताउँछन् । पछिल्लो समय पाठ्यक्रमसमेत समय सापेक्ष र नेपालको राजनीतिक परिवर्तनसँग जोडेर तयार पारिएकाले यसको महŒव बद्दै गएको प्रा. डा. मल्लको तर्क छ । बरु केन्द्रीय विभागमा अध्यापन गराउने जनशक्तिको भने समस्या रहेको मल्ल बताउँछन् ।
‘केन्द्रीय विभागमा अध्यापन गराउन आउने शिक्षकहरू केही हच्किने अवस्था छ,’ मल्लले भने । रेगुलर मेहनत गर्नुपर्ने तथा अंग्रेजी भाषामा पढाउनुपर्ने कारणले पुरानो पुस्ताका शिक्षकहरू हच्किने उनको भनाइ छ । पुरानो पुस्तामा अंग्रेजी भाषाको राम्रो दखल नहुनु पनि यसको एउटा कारण हो भन्छन् उनी । तर नयाँ पुस्तामा भने त्यस्तो समस्या नरहेको उनको भनाइ छ ।

प्रकाशित: ११ पुस २०७४ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App