coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जहाँ १५ –१५ दिनमा शिक्षक परिवर्तन गरिन्छ

रसुवा – रसुवाको एउटा विद्यालयमा १५–१५ दिनमा शिक्षक परिवर्तन हुने गरेको पाइएको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित ठाडेमा रहेको सरस्वती आधारभूत विद्यालयमा शिक्षक परिवर्तन हुने गरेको पाइएको हो। 

विषयगत शिक्षकको अभावमा विद्यालयले अंग्रेजी विषयको शिक्षक १५÷१५ दिनमा परिवर्तन गर्ने गरेको छ।भूकम्पपछिको समयमा विद्यालयमा अंग्रेजी पढाउने ५ जना स्वयसेवी शिक्षक परिवर्तन भैसकेका छन्। गुणस्तरीय शिक्षा दिने भन्दै विद्यालयले केही नेपाली तथा विदेशी शिक्षक ल्याएर अध्यापन गराउने गरेको विद्यालयका प्रधानाध्यापक लाक्पा तामाङले बताए। 

उनले भने, ‘विद्यालयमा अंग्रेजी विषय पढाउने शिक्षक छैनन् । शिक्षा कार्यालयमा धेरै पटक शिक्षक पठाउन आग्रह गरेपनि सुनुवाइ भएन । धेरै समयसम्म बसेर पढाउनका लागि शिक्षक राख्न सक्दैनौँ।’

छायाँ नामक संस्थाले शिक्षक पठाउने गरेको उनको भनाइ थियो । न्युनतम तीन महिनाका लागि बस्ने शिक्षक पठाउन आग्रह गरेको भएपनि लामो समयसम्म बस्नका लागि आउन नमान्ने उनले सुनाए। 

‘न्यूनतम तीन महिनासम्म बस्ने शिक्षक पाउन पाए गुणस्तरीय शिक्षा दिन सकिन्थ्यो तर शिक्षक नयाँ नयाँ आउँदा विद्यार्थीलाई बुझाउन भने समस्या परेको छ’ तामाङले भने। अहिलेसम्म त्यहाँ डक्टर हर्बट, ल्यान्द्रो इलिचेचे, उर्केन गुरुङ, सारा र युमर्जिनले अध्यापन गराएका छन्। 

उक्त विद्यालयमा अहिले ८१ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । गोसाईकुण्ड गाउँपालिका–६ स्थित ठाडे, सोले र ग्राङका विद्यार्थी त्यहाँ अध्ययन गर्छन्। 

२०६६ सालसम्म प्राथामिक तहको शिक्षा दिँदै आएको विद्यालयले कक्षा ५ पढेर विद्यार्थीले पढाई छाड्ने क्रम बढेपछि कक्षा ८ सम्म पढाउन थालेको थियो । ठाडेबाट धुन्चे आउन ९ किलोमिटर र राम्चे जानका लागि १४ किलोमिटर यात्रा गर्नुपर्ने भएपछि तह थपेको थियो। 

तर तह थपिएपनि दरबन्दी अनुसारको विषयगत शिक्षक नहुँदा पठनपाठनमा समस्या हुँदै आएको छ । ८ कक्षासम्म पढाई हुने विद्यालयमा अहिलेसम्म प्राथामिक दरबन्दी मात्र रहेको विद्यालयले जनाएको छ। 

विद्यालयका अनुसार प्रावि दरबन्दीमा ५, राहतमा एक, स्रोतमा एक र बाल कक्षामा एक जना गरी ८ जना शिक्षक कार्यरत छन्। 

विद्यालयमा विषयगत शिक्षकको अभावले अध्यापनमा समस्या खेपिरहेको विद्यालयमा अंग्र्रेजी भाषाको माध्यमबाट अध्यापन गराउने तयारी भैरहेको छ। 

कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम ‘लाङटाङ सेरोफेरो’ को अध्यापन गर्ने गरेको प्रधानाध्यापक तामाङले बताए । उनले भने, ‘रसुवाको बारेमा जानकारी दिनका लागि तयार पारिएको पाठ्यक्रम अन्य विद्यालयमा झै हाम्रो विद्यालयमा समावेश गरेका छौँ।’

भूकम्पले पूर्ण क्षति पुगेको विद्यालय भवन अहिले निर्माण भएर सञ्चालनमा आएको छ । भूकम्पपछि करिब दुई वर्षसम्म अस्थायी सिकाई केन्द्रमा बसेर पढाई हुने गरेकोमा अहिले निर्माण गरिन लागिएको १० ओटा कोठामध्ये ७ ओटा कोठा निर्माण भैसकेको छ। 

अन्य भवन निर्माण भैरहेको र विद्यालय वरपर बार लगाउन पर्ने आवश्यकता देखिएको विद्यालयले् जनाएको छ। 

प्रकाशित: ६ पुस २०७४ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App