२० असार २०७७ शनिबार
समाज

चोरी सिकारीभन्दा बासस्थान विनाश प्रमुख समस्या

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जका गैंडा चोरीसिकारीभन्दा पनि बासस्थान विनाशका कारण बढी जोखिममा परेको एउटा अध्ययनले देखाएको छ ।

जलवायु परिवर्तन र त्यसका प्रभाव तथा असर नियन्त्रण गरी बासस्थान व्यवस्थापनका लागि तत्काल प्रभावकारी कार्यक्रम नल्याउने हो भने गैंडाको संख्या ह्वात्तै घट्न सक्नेछ ।


बेलायतको ‘ग्लोबल इकोलोजी एन्ड कन्जर्भेसन’ जर्नलमा हालै प्रकाशित लेखमा चोरीसिकारी पूर्ण नियन्त्रण गरिएमा र बासस्थान अहिलेकै गतिमा विनाश हुँदै गएमा सय वर्षपछि चितवनमा गैंडाको संख्या ३ सय ९५ हुने बताइएको छ ।
चितवन निकुञ्जमा बढीमा ८ सय रहन सक्छ भन्ने पुरानो तथ्यांकलाई आधार मानेर यो अध्ययन गरिएको छ । गैंडाविज्ञ डा. शान्तराज ज्ञवाली, नरेश सुवेदी, अनुसन्धानकर्ता बाबुराम लामिछाने, जुओलोजिकल सोसाइटी अफ लन्डनका अफ्रिकी गैंडाविज्ञ राजन अमिन र भारतीय वन्यजन्तु संस्थानका वैज्ञानिक वाइभी झालाले संयुक्त रूपमा प्रकाशन गरेका उक्त लेखमा चोरीसिकारीभन्दा पनि बासस्थान विनाश चुनौतीका रूपमा देखिएको उल्लेख छ । अनुसन्धानकर्ताहरूको सो समूहको सन् २००९ देखि २०१५ सम्मको अध्ययनमा उक्त लेख आधारित छ ।
सातवर्षे अध्ययनको नेतृत्वकर्ता डा. नरेश सुवेदीले भने, ‘तथ्यांक केलाउँदा चोरी सिकारीभन्दा बासस्थान विनाश ठूलो चुनौती देखिन्छ ।’ अध्ययनअनुसार गैंडा मार्ने क्रम रोकियो तर वनमाराजस्ता झारपात फैलिने क्रम रोकिएन र बासस्थान विनाश हँुदै गयो भने सय वर्षपछि चितवन निकुञ्जमा ३ सय ९५ वटा गैंडामात्र हुन्छन् ।
‘मिकानिया’ जस्ता वनमारा झारपात फैलिने क्रम पूर्णरूपले रोकिएमा सय वर्षपछि गैंडाको संख्या ७ सय ५० पुग्छ । वनमारा झार नभएमा तथा बासस्थान सुरक्षित भएमा र चोरीसिकारी नियन्त्रण भएमा गैंडाको संख्या पनि ८ सय पुग्ने अनुमान छ । अहिले चितवनमा ६ सय पाँच, बर्दिया र शुक्लाफा“टामा गरी ४० गैंडा छन् ।
‘दुई वर्षअघि अध्ययन गर्दा गैंडाको जन्मदर र बाँच्नेदर राम्रो देखिन्छ । तर, पछिल्ला दुई वर्ष चितवनको अवस्था फेरिएको छ,’ अध्ययनमा संलग्न अर्का गैंडाविज्ञ डा. शान्तराज ज्ञवालीले भने, ‘अहिले चितवन निकुञ्ज प्राकृतिक प्रकोपको चपेटामा छ । बाढीले त्यहा“का वन्यजन्तुहरू बगाउन थालेको छ ।’
उनको अनुभवमा अध्ययनबाट सकारात्मक परिणाम आए पनि पछिल्ला वर्षहरूमा गैंडा संरक्षण चुनौतीपूर्ण देखिएको छ । ‘बासस्थान र जलवायु परिवर्तनबाट सिर्जित प्राकृतिक प्रकोपको व्यवस्थापनतर्फ ध्यान दिइएन भने गैंडा जोगाउन गाह्रो हुने देखिन्छ’, डा. ज्ञवाली भन्छन् ।
उनका अनुसार बासस्थान विनाश हुनेबित्तिकै गैंडा निकुञ्जबाहिर आउ“छन् । मानव र उनीहरूबीच द्वन्द्व बढछ् । ‘अहिले नै दुई पक्षबीचको द्वन्द्व र जलवायु परिवर्तनका असरहरू प्रशस्तै देखिन थालेका छन्’, डा. ज्ञवालीले भने ।
यस वर्ष बाढीले बगाएर भारत पु¥याएका गैंडाहरूलाई उद्धार गरेर नेपाल ल्याइएको पहिलोपटक हो । आठवटा पोथी र एउटा केटो गरी ९ वटा गैंडाको उद्धार गरिएको थियो । बाढीकै कारण दुई वर्षको भाले गैंडा नवलपरासीमा मृत अवस्थामा फेला परेको थियो भने एउटा उपचारका क्रममा मरेको थियो ।
यति मात्र होइन, गत आर्थिक वर्षमा चितवन निकुञ्जभित्र मरेका वन्यजन्तुहरूको सूचीमा गैंडा अग्रस्थानमा छ । २५ वटा गैंडा मरेका छन् । तीमध्ये २१ वटा प्राकृतिक, २ वटा करेन्ट र २ वटा सिकारीले मारेका छन् । ०७२÷७३ मा भने १५ वटा गैंडा मरेका थिए ।
उनको अनुभवमा निकुञ्जका वन्यजन्तुका लागि चाहिने पानीको उपलब्धता पनि कम हुँदै गएको छ । भित्रका जलाशय र आहालहरू सुकिरहेका छन् । घा“से मैदानहरू विभिन्न प्रजातिका झारपातले ढाक्न थालेका छन् । ‘त्यसैले यावत् समस्यालाई सम्बोधन गरेर यहा“का गैंडालाई विभिन्न क्षेत्रमा स्थानान्तरण गर्न सकिन्छ’, डा. ज्ञवाली भन्छन्, ‘बासस्थान व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती भएको छ ।’
लेखमा अध्ययन अवधिभरमा जस्तै गरी औसतमा वार्षिक छवटा गैंडा मारिए र बासस्थान पनि त्यही अवस्थामा रह्यो भने चितवनबाट हरेक वर्ष ८ वटा भाले र ५ वटा पोथी गैंडा अन्यत्र स्थानान्तरण गर्न उल्लेख गरिएको छ ।
‘हरेक वर्ष १३ वटा गैंडा अन्यत्र स्थानान्तरण गर्दा चितवन निकुञ्जलाई खासै फरक पर्दैन,’ डा. सुवेदी भन्छन् । उनका अनुसार अध्ययन अवधिमा त्यहा“का गैंडाको वार्षिक वृद्घिदर ५.१ प्रतिशत छ । यीमध्ये ६२ प्रतिशत वयस्क, १३ प्रतिशत अर्धवयस्क र २६ प्रतिशत बच्चा गैंडाहरू छन् ।
सो लेखअनुसार एउटा गैंडाले आठ वर्ष पुगेपछि बच्चा जन्माइरहेको छ । एउटा बच्चा जन्माएको ४१ महिनापछि अर्को बच्चा जन्माइरहेको छ । ‘जन्मिएका एक सयवटा बच्चामा ७६ वटा बच्चा हुर्किरहेका छन्,’ डा. सुवेदी भन्छन् । उनका अनुसार बा“की २४ वटा गैंडा बाघ र भाले गैंडाको आक्रमणबाट मारिने गरेका छन् । केही निमोनिया वा अन्य प्राकृतिक प्रकोपबाट मारिएका छन् ।
वयस्क गैंडामा भने बाँच्ने दर ९६ प्रतिशत छ । ‘यो एकदमै राम्रो प्रतिशत हो,’ उनले भने । चितवनका ६३ प्रतिशत पोथीमा बच्चा थिए । १ सय २३ वटा पोथीलाई एक सयवटा भाले गैंडा उपलब्ध छन् । ‘४९ प्रतिशत वयस्क गैंडाहरू छन् जुन निकै राम्रो संकेत हो,’ सुवेदीले भने ।
सन् १९९८ देखि २०११ को बीचमा १० देखि ११ वटा गैंडा मारिएका थिए । यसबीचमा पनि सन् २००७ सम्म धेरै गैंडा मारिएका थिए । माओवादी द्वन्द्व चर्किएका बेला एक वर्षमा ४६ वटा गैंडासम्म मारिएका छन् ।

प्रकाशित: २९ मंसिर २०७४ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App