११ आश्विन २०७७ आइतबार
समाज

क्याम्ब्रिजको संस्कृत पाठ्यक्रम नेपालमा अध्यापन

काठमाडौं- विश्वका चर्चित विश्वविद्यालयले संस्कृत अध्यापनलाई उच्च महŒव दिन थालेपछि नेपालका केही विद्यालयले अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित संस्कृतको पठनपाठन थालेका छन् । नेपालका तीन विद्यालयले बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयको संस्कृत पाठ्यक्रम पढाउन सुरु गरेका हुन्  ।

लन्डनस्थित सेन्ट जेम्स इन्डिपेन्डेन्ट स्कुलको सहकार्यमा क्याम्ब्रिजको आइजिसिएसई लेभलको संस्कृत पाठ्यक्रम हिन्दु विद्यापीठ नेपाल, डिएभी र कान्तिभैरव स्कुलमा पठनपाठन

लन्डनस्थित सेन्ट जेम्स इन्डिपेन्डेन्ट स्कुलको सहकार्यमा चार वर्षदेखि क्याम्ब्रिजको आइजिसिएसई लेभलको संस्कृत पाठ्यक्रम पढाउन थालिएको हिन्दु विद्यापीठ नेपालका संस्थापक डा. चिन्तामणि योगीले बताए । यस वर्षदेखि जाउलाखेलस्थित डिएभी र गोकर्णस्थित कान्तिभैरवले पनि उक्त पाठ्यक्रम पढाउन थालेका छन् ।  ‘हामीले विगत चार वर्षदेखि सेन्ट जेम्सको सहकार्यमा संस्कृत पढाउँदै आएका थियौं । यस वर्षदेखि अन्य दुई विद्यालयले पनि सुरु गरेका छन्,’ योगीले नागरिकसँग भने ।
सेन्ट जेम्सले संस्कृत तथा पूर्वीय दर्शन अध्यापन गराउँदै आएको छ । बेलायतसाथै  अस्ट्रेलिया, न्युजिल्यान्ड, आयरल्यान्ड, वेस्ट इन्डिज र अमेरिकामा सञ्चालनमा रहेको उक्त स्कुलले ए लेभलमा संस्कृत अनिवार्य विषयका रुपमा पठनपाठनको व्यवस्था गरिएकोे योगी बताउँछन् । नेपालमा हिन्दु विद्यापीठ नेपालले उक्त स्कुलसँग सहकार्य गर्दै आएको छ । नेपालमा कक्षा ९ अध्ययनरत विद्यार्थीले संस्कृतमा आइजिसिएसई अध्ययन गरिरहेका छन् ।
आइजिसिएसईलाई ‘ओ’ लेभल समान मानिन्छ, जुन ए लेभलभन्दा पहिले पढाइ हुन्छ । क्याम्ब्रिजले तयार पारेको संस्कृत पाठ्यक्रममा महाभारत, रामायण तथा वेद र उपनिषद् अध्यापन गराइन्छ । यसमा वेद–उपनिषद्का सूत्रलाई जीवनमा कसरी लागू गर्ने भन्ने पनि सिकाइन्छ । ‘यो परम्परागत ढंगले संस्कृतका श्लोक घोक्ने मात्र नभई त्यसलाई आफ्नो जीवनमा कसरी लागू गर्ने भन्ने सिकाइन्छ,’ योगीले भने ।
योगीका अनुसार हाल नेपाली विद्यालयमा अध्यापन हुने संस्कृत विषयको आइजिसिएसई परीक्षा ब्रिटिस काउन्सिलले सञ्चालन गर्दै आएको छ । संस्कृतको मात्र पनि परीक्षा दिन पाउने व्यवस्था रहे पनि यसका लागि अंग्रेजी जान्न अनिवार्य रहेको योगी बताउँछन् ।
परीक्षामा अंग्रेजीमा सोधिएका प्रश्नको संस्कृत र संस्कृतमा सोधिएका प्रश्नको उत्तर अंग्रेजीमा दिनुपर्छ । यो परीक्षा पास गर्ने विद्यार्थीलाई क्याम्ब्रिजले छुट्टै प्रमाणपत्रसमेत दिन्छ ।
विद्यार्थीलाई दुवै भाषामा सहज ढंगले अध्यापनका लागि अंग्रेजी र संस्कृतका जानकारबाटै संस्कृत अध्यापन गराइरहेको योगीले बताए । ‘विद्यार्थीलाई दुवै भाषामा सहज ढंगले अध्यापन गराउन दुवै भाषामा  दख्खल राख्ने शिक्षकको व्यवस्था गरेका छौं,’ योगीले भने ।
पछिल्लो समय नेपालमा संस्कृतलाई मृत तथा वर्ग विशेषको भाषाका रूपमा अपव्याख्या गरिँदा यसको अध्ययन–अध्यापन खुम्चिँदै गएको छ । संस्कृत जस्तो समृद्ध भाषा र जीवनदर्शनलाई नेपालमा बेवास्ता गरिए पनि पश्चिमी मुलुकहरूले भने यसलाई प्राथमिकता दिन थालेका छन् । विदेशीले संस्कृत भाषाको महिमा बुझे तर हामीले आफ्नै जननी भाषाको महŒव बुझ्न नसकेको यसका अध्येता बताउँछन् । हामीले ‘माल पाएर पनि चाल पाउन नसकेको’ संस्कृतको महिमा विदेशीले बुझेर विश्वविद्यालय तहसम्म पढाउन थालेको योगी बताउँछन् । संस्कृत भाषा मात्र नभएर जीवनदर्शन हो भन्ने पश्चिमाले महसुस गरिसकेकाले नेपालमा जीवनदर्शनसँग जोडेर यसको पढाइ सुरु भएको उनको तर्क छ । ‘हामी परम्परागत घोकन्ते शैलीको संस्कृत होइन, प्रयोगात्मक संस्कृतको अभ्यास गराइरहेका छौं । त्यसैका लागि विदेशी विश्वविद्यालयको पाठ्यक्रम अध्यापन गराएका हौं,’ योगीले भने ।
पूर्वीय दर्शनमा आधारित धर्म, संस्कृति र सभ्यता संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले २०४२ सालमा योगीको अगुवाइमा स्थापित हिन्दु विद्यापीठ नेपाल अंग्रेजी माध्यममा पढाइ हुने स्कुल हो । यहाँ नर्सरीदेखि कक्षा १० सम्म संस्कृत पनि अध्यापन गराइन्छ । विद्यापीठले पढाउँदै आएको र क्याम्ब्रिजको संस्कृत पाठ्यक्रममा समानता भएकाले क्याम्ब्रिज कोर्स पढाउन थालिएको योगीले बताए ।  
नेपालमा अनिवार्य विषयका रूपमा पढाइ हुँदै आएको संस्कृत दसवर्षे माओवादी द्वन्द्वका बेला अधिकांश स्कुलबाट हटाइयो । तत्कालीन विद्रोही माओवादीले बुर्जुवा शिक्षा भन्दै संस्कृतलाई विद्यालबाट हटाउन धम्की दिएपछि सरकारी स्कुलले संस्कृत पढाउन बन्द गरे । २०६३ सालमा माओवादी शान्तिप्रक्रियामा आएपछि संस्कृत शिक्षाको पुनः पढाइ सुरु गरिए पनि यसले व्यापकता लिन सकेको देखिँदैन । योगी भन्छन्, ‘हाम्रो संस्कृति विश्वभर फैलाउन तथा अन्तर्राष्ट्रिय स्तरमा धर्मसंस्कृतिको प्रचार गर्न संस्कृत पढाइ थालेका हौं । पछिल्लो समय नेपालका स्कुलमा पनि संस्कृत शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ, जुन सकारात्मक हो ।’

प्रकाशित: २९ मंसिर २०७४ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App