अदालतबाटै मोबाइल र पेस्तोल चोरी
चौबिसै घण्टा प्रहरीको सुरक्षा पहरामा रहने कैलाली जिल्ला अदालत धनगढीबाट पेस्तोल, गोली र मोबाइल चोरी भएको छ। मुद्दाका मिसिलसँगै राखिएको लागु औषध र हातहतियार खर–खजना मुद्दाका अभियुक्तको एक थान कटुवा पेस्तोल, ४ वटा गोली र ५ वटा मोबाइल चोरी भएको अदालतका एक कर्मचारीको भनाइ छ।
राष्ट्रपति पौडेल पुगे जाजरकोट
भूकम्प प्रभावित क्षेत्र जाजरकोटको अवलोकन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन्। भूकम्पबाट भएको क्षति बारे प्रमुख जिल्ला अधिकारी र घाइतेको अवस्था बारेमा चिकित्सकसँग उनले जानकारी लिएका थिए।
काँग्रेस आफ्नै सरकारसँग असन्तुष्ट
छ महिनासम्ममा पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै आफ्नै दलबाट प्रतिनिधित्व गरिरहेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी प्रति नेपाली काँग्रस प्रदेश समिति असन्तुष्ट भएका छन्। माओवादीलाई पनि मिलाउने बहानामा सरकारलाई पूर्णता नदिएर बसिरहनु जायज नभएको कांग्रेस प्रदेश समितिको निष्कर्ष छ।
पोखरामा प्लाष्टिकका फूल र माला बिक्रीमा रोक
गतवर्ष जस्तै यो वर्ष पनि पोखरा महानगरपालिकाले तिहारका बेला आयातित प्लाष्टिकजन्य फूलका गुच्छा तथा माला विक्री वितरणमा रोक लगाएको छ। आगामी दिनमा समेत प्लाष्टिकजन्य फूल गुच्छा, माला बिक्री वितरण र भण्डारण नगर्न महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको निर्देशन छ।
ढुवानी गर्दा पशुलाई चरम यातना
पशुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा वा वध गर्नुअघि चरम यातना दिन नपाइने कानुन विपरित नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक सयौं राँगाभैँसी कष्टपूर्ण यातनासहित यात्रा गर्न बाध्य छन्। पशु ढुवानीका ऐन, नियमावली र मापदण्ड कार्यान्वयन नहुँदा राँगाभैँसीले दुख खेप्नु परेको पशुअधिकारकर्मीको भनाइ छ।
आरतीका आफन्त निरन्तर आन्दोलनमा
आरती साहको मुद्धा कमजोर बनाउन मद्धत गरेको आरोप लागेका धनुषा प्रहरी प्रमुख (एसपी) विश्वराज खड्कालाई गृहमन्त्रालयले फिर्ता बोलाएको छ। गत जेठ ७ गते आफ्नै घरमा मृत भेटिएकी आरती हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ परे पनि अनुसन्धान कमजोर गरिएको भन्दै आरतीका आफन्त निरन्तर आन्दोलनमा छन्।
नर्वेमा बस्ने सिटौलाले पाए नागरिकता
विगत २० वर्ष देखि नर्वेमा बस्दै आएका आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनका बिशालकुमार सिटौलालाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गैर आवासीय नागरिकता प्रदान गरेको छ। नर्वेको एक विश्व विद्यालयका प्राध्यापक रहेका सिटौलाले आवश्यक प्रकृया पूरा गरेर पेश गरेको प्रमाणका आधारमा नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको भनाइ छ।
प्रकाशित: २१ कार्तिक २०८० १३:२६ मंगलबार