७ वैशाख २०८१ शुक्रबार
समाज

फेरिएको किसानको जिन्दगी: हलो छाडेर ट्याक्टरतर्फ

गजुरीका किसानलाई वितरण गरिएको ट्याक्टर। तस्बिर: सरिता श्रेष्ठ

धादिङ- चार वर्ष अघिसम्म गजुरीका कान्छा प्रजा महिनौ लगाएर खेतबारी जोत्थे। हलो र जुवा काँधमा राखेर गोरु धपाउँदैमा दिन बित्थ्यो, अहिले खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै कान्छालाई सजिलो भएको छ। अहिले उनी न त हलो जुवा लिएर हिड्छन् न गोरु धपाएर हिड्छन्। महिनौ लगाएर खन्ने खेतबारी ट्याक्टरले दुई दिनमै खन्ने गरेपछि उनलाई सजिलो भएको छ।  ‘एक हल गोरुले दिनभरमा गर्ने मेलो ट्याक्टरले आधा घण्टामै सकिन्छ,’ कान्छाले भने, ‘उतिबेला बाँझो भएको खेतमा अहिले तीन खेती हुन्छ। धान रोप्ने, मकै, गहुँ छर्ने र तरकारीबाली लगाउनमा सजिलो भएको छ ।’ गोरुले जोत्दा असारमा सुरु गरेर भदौसम्म रोप्ने खेत अहिले दुई दिनमै सकिने कान्छाले बताए।

ट्याक्टरको सहायताले खेतबारी खन्न सजिलो भएपछि कान्छा मात्र होइन गजुरीका किसानहरु खुसी भएका छन् । ट्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउने, माटो धुल्याउने काममा निकै नै सजिलो भएको किसानहरु बताउँछन्। भनेको समयमा गोरु नपाउने र कामदारको पनि अभाव किसानले सधै झेल्नु परेको छ । भएका खेतबारी पनि बाँझो राख्नुपर्ने बाध्यता थियो । खेत जोत्न ट्याक्टरको प्रयोग गर्न थालेपछि गोरु र खेतालाको टन्टो हटेको छ । कम जनशक्तिले थोरै समयमा काम सकिने भएपछि बाँझो रहेका खेतमा पनि उत्पादन सुरु भएको छ।

गजुरीका किसानलाई लक्षित गरी अक्सफामको साझेदारीमा प्रयास नेपालले खेतबारी जोत्ने ट्याक्टर, कमाइन मिल लगायतका सामग्री निशुल्क उपलब्ध गराएको छ । गजुरीका विभिन्न किसान समूहलाई सामाग्री प्रदान गरिएको हो। गाउँमा गोरु अभावले आँफैले खानको लागि खेती गर्न समेत अप्ठारो भइरहेका बेला आफनै भौगोलिक अवस्था सुहाउदो कृषि उपकरणहरु पाएपछि किसानहरु खुसी भएका छन्। ट्याक्टरले जोत्दा खेतको माटो खुकुलो हुने किसानहरूको अनुभव छ।

ट्याक्टर पाएपछि खेतीपाती गर्ने समयमा गोरु नपाउने समस्या हटेको बरेछापका चमेलीमाया तामाङले सुनाइन्। ‘अधिकाँश पुरुषहरु विदेशिने क्रम बढेपछि गाउँमा न काम गर्ने खेताला पाइन्थ्यो, न त जोत्नकै लागि गोरु। आफ्नै गाउँमा खेत जोत्ने ट्याक्टर पाएपछि भने यहाँका किसानले केही राहत महशुस गरेका छन्। गाउँमा छुट्टाछुट्टै समूह बनाएर ट्याक्टरको प्रयोग गर्ने गरेका छन्।

 समूहका व्यक्तिहरुले पालैपालो ट्याक्टरको प्रयोग गर्ने गरेको र प्रयोग गरेबापत केही रकम उठाएर समूहमा जम्मा गरी ट्याक्टर बिग्रिएको बेला खर्च गर्ने योजना बनाएको जालपादेवी आमा समूहका अध्यक्ष टिकाकुमारी बरुवालले बताइन्। गोरुको विकल्पमा खेतबारी जोत्न हाते ट्याक्टर सजिलो माध्यम भएको छ, टिकाकुमारीले भनिन्, ‘असार, मंसिर, चैते धान रोप्ने, मकै रोप्ने र तरकारी लगाउने समयमा गोरुको लागि पालो कुर्नुपथ्यो अहिले ट्याक्टरले समयमै खेती गर्न सहज भएको छ।’ आफ्नो समूहमा प्राप्त भएका उपकरणहरु समुहका सदस्यहरुले पालैपालो प्रयोग गर्न पाउने नियम पनि बनाएका छन्।

 कृषिमा बढ्दो आधुनिकरणसँगै जिल्लामा खेतबारी जोत्नका लागि गोरु पाल्ने किसानहरुको संख्या घट्दै गएको छ। संघ संस्था तथा सरकारले पनि किसानलाई लक्षित गरी यस्ता उपकरणहरु प्रदान गरिरहेको छ । परम्परागत खेती प्रणालीलाई हटाउँदै किसानहरुलाई व्यवसायिक बनाउने र कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन कृषि उपकरण वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । ‘कृषि क्षेत्रमा प्रविधिको प्रयोग गरि कृषि पेशालाई सरल र सहज बनाउनको लागि कृषि उपकरणहरु वितरण गरेका हौँ’ अर्यालले भने।

ग्रामिण क्षेत्रका किसानहरुको जिविकोपार्जनमा सुधार गर्ने लक्ष्य अनूरुप मिल, हाते ट्याक्टर र अरु कृषि औजारहरु निशुल्क वितरण गरेपछि किसानहरु हर्षित भएका हुन । यसले एकातिर किसानहरूलाई खाद्यान्न उत्पादनमा सहज भएको छ, अर्कोतिर उत्पादन लागत समेत कम हुँदै गएको किसानहरू बताउँछन् । सडक पुगेका गाउँमा ठूला ट्याक्टर र नपुगेका गाउँका किसानहरूले ससाना हाते ट्याक्टरहरूले खेतबारी जोत्ने गरेका छन्।

 

 

प्रकाशित: १९ मंसिर २०७४ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App