७ वैशाख २०८१ शुक्रबार
समाज

२ सय जना एचआईभी संक्रमित

लमजुङ– जिल्लामा अहिलेसम्म कूल दुईसय जना एचआईभी संक्रमितको पहिचान भएको छ । स्वेच्छिक परामर्श केन्द्रमार्फत् गरिएको एचआईभी परिक्षण एवं अन्य विमारको परीक्षणको क्रममा ती संक्रमितको पहिचान भएको हो । 
एकसय १० पुरुष र ९० जना महिला गरी कूल दुईसय संक्रमित जिल्लामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । संक्रमितमध्येका १३ जनाको मृत्यु भएको र अन्य १ सय ८७ जनाले आवश्यक उपचार सेवा लिइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईंले बताए । 

मृत्यु हुनेमा ८ पुरुष र ५ महिला रहेका छन् । उनका अनुसार अहिले १५ जना बालबालिका सहित कूल ८९ जनाले एआरटी उपचार सेवा लिईरहेको कार्यालयको तथ्यांकले देखाएको छ । उपचाररत् सक्रमित मध्ये वयस्क तर्फ पुरुष ४० र महिला ३४ जना छन् भने बालबालिकामा बालक ९ जना र बालिका ६ जना रहेका छन् । 

आर्थिक वर्ष २०७३÷०७४ मा मात्रै एचआईभी परिक्षण तथा परामर्श केन्द्र (एचटीसी सेन्टर) मार्फत् ४ सय ६ जनाले र आमाबाट बच्चामा सर्नसक्ने भएकाले गर्भवती अवस्थामा गरिने परिक्षण र उपचार विधि( पिएमटिसिटी) तथा समुदायमा आधारित (पिएमटिसिटी) मार्फत् २ हजार ६ सय १ जनाले परिक्षण सेवा लिएका छन् । सो अवधिमा ९ जनामा एचआईभी संक्रमण देखा परेको थियो । ति मध्ये २ जना गर्भवती महिलाले ‘पीएमटीसीटी’ अर्थात् सुरक्षित तरिकाले बच्चा जन्माउने सेवा र अन्य ५ महिला र २ पुरुषले  लिईरहेको जनस्वास्थ्य कार्यालय अन्र्तगत ‘एचआईभी फोकलपर्सन’ अमर दवाडी बताउँछन् ।  जिल्लाका साविक ६१ स्वास्थ्य केन्द्र सहित ७३ समुदायमा आधारित (पिएमटिसिटी) केन्द्र, ३ वटा परिक्षण तथा परामर्श केन्द, एक ‘पिएमटिसिटी’ साईड  र एक एआरटी सेन्टर (जिल्ला सामुदायिक अस्पताल) बाट परिक्षण तथा संक्रमितहरुलाई सेवा दिईएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । घर बाहिर रहेका व्यक्ति, यौनकर्मी महिला, लागुऔषध प्रयोगकर्ताहरु, समलिङ्गी पुरुष र सवारी चालकहरु एचआईभी संक्रमणको उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य प्रमुख चापागाईंले बताए ।

यहाँ लमजुङ जिल्ला सामुदायिक अस्पताल, सुन्दरबजार अस्पताल र चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्र गरि ३ ठाउँबाट एचआईभी स्वेच्छिक रक्त परिक्षण तथा परामर्श केन्द्रको सेवा प्रवाह सँगै एचआईभी, एड्स र यौनरोगका बारेमा सचेतना जगाउने सूचना केन्द्रको सेवा प्रवाह हुँदै आएको छ । 

‘सीडीफोर काउण्ट’ पछि संक्रमितलाई सामुदायिक अस्पताल मार्फत् ‘एआरभी’ सेवा र संक्रमित गर्भवती महिलाको लागि ‘पीएमटीसीटी’ अर्थात् सुरक्षित तरिकाले बच्चा जन्माउने सेवा प्रदान गरिदैं आईएको लमजुङ सामुदायिक अस्पतालका निर्देशक युवराज देवकोटाले बताए । एचआइभी संक्रमितलाई परिक्षण देखि उपचारसम्मको प्रकृया निकै गोप्य र संवेदनशील रुपमा गर्नु पर्ने भएकोले त्यसको संयोजन एचआईभी संक्रमितहरुको संस्था लमजुङ सहयोगी समुहले गर्दै आएको समुहका अध्यक्ष साधुराम पण्डितले बताउँछन् । पछिल्लो समयमा गाउँठाउँमा रहेका संक्रमितहरुको उपचार निःशुल्क भएपनि उपचारका क्रममा सदरमुकाम वा त्यस बाहिर गईरहनु पर्ने भएकाले उनीहरुलाई यातायात खर्चको समस्या भईरहेको पनि पण्डित बताउँछन् । जिल्लामा सुन्दरबजार नगरपालिकाका पण्डित र राईनास नगरपालिका चक्रतीर्थकी गिता बख्रेल गरी २ जना संक्रमितहरुले मात्रै आफुलाई सार्वजनिक गरेका छन् । उनीहरु मध्ये पण्डित संक्रमितहरुकै सेवा र हितका लागि लमजुङ सहयोगी समुह नामक संस्थामा आवद्ध रहेर कृयाशिल छन् भने बख्रेल घरजम गरी पारिवारिक जीवन विताईरहेकी छन् ।

यसैबीच सचेतना ¥याली प्रर्दशन सहित कोणसभा गरी शुक्रबार बेसीसहरमा ३० औं विश्व एड्स दिवस मनाईएको छ । ‘स्वास्थ्य प्रतिको अधिकारः मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नाराका साथ मनाङेचौतार देखि ¥याली सुरु गरी त्रिवेणीटोल, भिमसेनथान, नारायणथान, झिंगेखोला हुँदै शेराबजारमा पुगेर कोणसभा गरिएको थियो । संक्रमणको जोखिम भएमा परिक्षण हुन्छ अस्पतालमा, गर्भवती आमालाई एचआईभी परिक्षण गराऔं, बच्चालाई संक्रमित हुनबाट जोगाऔं, संक्रमितको सेवामा सबैको पहुँच वढाऔं, मानव अधिकारको सुनिश्चित गरौं, सन्तुलित खाना खुवाऔं, संक्रमितलाई स्वस्थ राखौं जस्ता नारा लेखिएको प्लेकार्ड मार्फत् सर्वसाधारणमा सचेतना दिईएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी युवराज मैनाली,  बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिं अर्याल, उपप्रमुख लक्ष्मी अधिकारी, जनस्वास्थ्य प्रमुख केशवप्रसाद चापागाईं, सामुदायिक अस्पतालका निर्देशक युवराज देवकोटा, अस्पतालका मेडिकल अधिकृत डाक्टर हिक्मत भण्डारी लगायतले एचआईभी र एड्सबाट सुरक्षित रहन आग्रह गरेका थिए । एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार सँधै सकरात्मक बनाउनु पर्ने पनि उनीहरुले बताए । 

प्रकाशित: १५ मंसिर २०७४ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App