coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मानविकीमा चार वर्षे स्नातकको तयारी

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले मानविकी संकाय चार वर्षे स्नातक तहको पाठ्यक्रम लागू गर्ने भएको छ । त्रिवि मानविकी संकाय डिन कार्यालयले अगामी शैक्षिक सत्रदेखि चार वर्षे स्नातक कार्यक्रमको लागू गर्न सरोकारवालाहरूसँग कार्य अघि बढाएको सहायक डिन प्रा. डा. ताराकान्त पाण्डेले बताए ।
उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन चार वर्षे कार्यक्रम आश्वयक रहेको बताउँदै पाण्डेले मानविकी संकायको स्नातकमा चार वर्षे कार्यक्रम तय गर्न विद्या परिषद्ले निर्णय गरिसकेको र त्यही अनुसार कार्यक्रम अघि बढाउन निर्देशन डिन कार्यालयमा आइसकेको पनि उनले बताए ।
‘हाल त्रिविमा विज्ञान, व्यवस्थापनका सबै विषयहरू स्नातकमा चार वर्षे पाठ्यक्रम लागू भइसकेको छ । मानविकीमा ललित कला र चलचित्र अध्ययनमा मात्र चार वर्षे स्नातक छ,’ उनले भने, ‘तीन वर्षे स्नातक तह हुँदा हाम्रा विद्यार्थीलाई विदेशमा स्नातकोस्तर गर्न असहज बनेको छ ।’
मानविकी संकायमा स्नातक तहमा कुल ३६ विषय र स्नातकोत्तरमा २६ विषय पठनपाठन हुँदै आएको छ । मानविकी डिन शिव भुषालका अनुसार मानविकीका पूराना विषयमा विद्यार्थी संख्या न्यून छन् । त्यस्ता विषयमा स्नातकमा चार वर्षे कार्यक्रम लागू गर्न चुनौती हुने भएकाले चार वर्षे कार्यक्रमका उपयुक्त विषयबारे सरोकारवालासँग छलफल भइरहेको छ ।
‘मानविकी संकायका विषयहरूमा मेजर सिङ्गल वा कस्तो किसिमको विषयलाई चार वर्षे कार्यक्रम गर्ने भन्नेबारे डिन कार्यालयले सम्बद्ध सरोकारवालासँग छलफल गरिरहेको छ,’ भुषालले भने, ‘मानविकीका विषयहरूमा स्नातकमा चार वर्षे गर्न विद्यापरिषद्का साथै प्राज्ञिक परिषद्ले समेत निर्णय गरिसकेको छ ।’ डिन कार्यालयले चार वर्षे कार्यक्रम कार्यान्वयन गर्न विषयगत सम्भावना, जनशक्ति, पाठ्यक्रम परिमार्जन, कक्षा कोठालगायतका भौतिक पूर्वाधारबारे पनि आन्तरिक अध्ययन थालिसकेको उनले बताए ।
हाल स्नातकमा दुई विषय ऐच्छिक छन् । चार वर्षे पढाइ लागू गर्दा मेजरलाई नै बढी प्राथमिकतामा राखिने उनले जनाए । उनले चार वर्षे कोर्स गर्दा आर्थिक भार पनि थपिने जनाए । चार वर्षे स्नातक गर्दा त्रिविलाई चार करोड रकम भार थपिने अनुमान भएको उनले बताए । ‘हाल तीन वर्षे कार्यक्रमका लागि विद्यार्थीले १२ हजार शुल्क तिर्छन् भने चार वर्षे कोर्ष बनाउँदा शुल्क २० हजार जति पर्ने अनुमान छ,’ डिन भूषाल भन्छन्, ‘यो थप आर्थिक भार विद्यार्थीले कसरी व्योहोर्ने भन्ने बारे पनि छलफल भइरहेको छ ।’
हाल मानविकी संकायमा समाजशास्त्र, मानवशास्त्र, संस्कृति, अर्थशास्त्र, भूगोल, इतिहास, मनोविज्ञान तथा भाषा विषय नेपाली, अंग्रेजी, मैथली, हिन्दी, ललितकला, चलचित्र अध्ययन, संगीत, मूर्तिकला, पत्रकारिता लगायत ३६ विषय पठनपाठन गराइन्छ ।
त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवले स्नातकमा तीन वर्षे कार्यक्रम पूरा गरी प्रमाणपत्र लिएका विद्यार्थीहरू विदेशी विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनका लागि जाँदा स्नातकोत्तरमा सोझै भर्ना हुन नपाउने व्यवस्थाले समस्या थियो अब चार वर्षे पढाइले सो समस्या हल हुने बताउँछन् ।

प्रकाशित: १० मंसिर २०७४ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App