४ वैशाख २०८१ मंगलबार
समाज

आततायी आक्रमण

मदन ठाकुर/रौतहट, एक्सन राई/भोजपुर
रौतहट र भोजपुरमा शनिबार गराइएका बम विस्फोटका घटनामा ११ जना घाइते भएका छन् । रौतहटको चन्द्रपुरमा गराइएको विस्फोटमा एक बालकसहित ८ जना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । यसैगरी भोजपुरमा गराइएको विस्फोटमा तीनजना घाइते भएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिरको छेउमा दिउँसो करिब ३ बजे अपरिचित  समूहले बम विस्फोट गराएको हो । विस्फोटमा चिया पसल गर्दै आएकी स्थानीय ३१ वर्षीया सरिता राई र उनका ७ वर्षीय छोरा जैविक घाइते भएका छन् । घाइते आमाछोराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विस्फोटमा परी लक्ष्मी राई, रत्नबहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई र यमुना काफ्ले पनि घाइते भएका छन् । घाइतेमध्ये गोपाल र काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जनालाई भरतपुर पठाइएको छ ।
विस्फोटबाट घाइते राईका आमाछोराको अवस्था देखेपछि स्थानीय एक महिलाको टिप्पणी थियो,
‘यो त आंतक नै भयो । गरी खाने मान्छेमाथि विभत्स हमला, सरकार के हेरेर बसेको छ ?’
मन्दिरको छेउको सभाभवनमा वाम गठबन्धनका उम्मेदवारले आयोजना गरेको वडा भेलालाई लक्षित गरी विस्फोट गराइएको हो । घटनाको जिम्मेवारी कसैले लिएको छैन । घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हात हुनसक्ने आशंका प्रहरीको छ । विस्फोट गराउने समूहको खोजी भइरहेको जानकारी रौतहटका एसपी यज्ञविनोद पोखरेलले दिए ।
    
विस्फोटपछि भोजपुरमा भिडन्त
भोजपुरको षडानन्द नगरपालिकामा–१३ मा पर्ने बोयाको भिरथाप्लो भएको विस्फोटमा तीनजना घाइते भएका छन् । त्यहाँ बाटोमा राखिएको टाइम बम पड्किँदा प्रहरीसहित तीनजना घाइते भएका हुन् । दिङला बजारमा आयोजित एमाले चुनावी सभामा सहभागी भएर फर्किंदै गरेका विक्रम राई घाइते भएका छन् । बमको छर्राले  टाउको र खुट्टामा चोट लागेका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बमको छर्रा लागेर असई उमेश मेहेता र देवनारायण चौधरी पनि घाइते भएका छन् ।
बिहान उक्त स्थानमा दुई युवकले बम राखेका थिए । बम राखेको देखेपछि स्थानीयले अरुलाई खबर गरेका थिए । खबर पाएपछि नजिकै रहेको सुन्तले प्रहरीचौकीबाट  प्रहरी त्यहाँ पुगेका थिए । प्रहरीले गाडीलाई रोकेर सुरक्षा दिइरहेका बेला बम पड्किएको थियो । बम पड्किएपछि बम राख्ने दुईजनाले माथिबाट गोली चलाएपछि प्रहरीले पनि जवाफी कारबाहीअन्तर्गत १९ राउन्ड फायरिङ गरेको जानकारी जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख गीतनारायण चौधरीले दिए ।  
यसैगरी वाम गठबन्धनको चुनावी सभामा बम प्रहार गरिएको छ । साल्पा सिलोचो गाउँपालिका–२ कुलुङमा भइरहेको सभामा बम प्रहार भएको हो । कार्यक्रमस्थलभन्दा ५० मिटर नजिकै सुतली बम प्रहार भएको हो । त्यसबेला वाम गठबन्धनबाट भोजपुर प्रदेश (क) का उम्मेदवार राजेन्द्रकुमार राईले सम्बोधन गरिरहेका थिए । बम विस्फोटपछि सभाका सहभागी तितरबितर भएका थिए ।

प्रकाशित: ३ मंसिर २०७४ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App