६ वैशाख २०८१ बिहीबार
समाज

गौचन हत्या प्रकरण : सुटरले प्रयोग गरेको पेस्तोल फेला परे

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८ राउण्ड गोलीसहित वसन्त थेवे र धनराज योङहाङलाई पेस्तोल, कटुवा पेस्तोलसहित बिहीबार बेलुका पक्राउ गरेको थियो ।

पेस्तोलसहित पक्राउ परेका वसन्त थेवे र धनराज योङहाङ गौचनको दैनिक गतिविधि निगरानी गर्नका खटिएको अनुसन्धानका क्रममा खुल्न आएको जानकारी दिए ।


पक्राउ परेका दुवैजना गौचनको गतिविधि निगरानीमा खटिएका र हत्यापछि हतियार लुकाएर राख्न संलग्न रहेको सूचना आएपछि पक्राउ गरेर अनुसन्धानमा लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको ब्युरोका डिआइजी पुष्कर कार्कीले जानकारी दिए ।
असोज २३ मा गौचनको हत्यापछि अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले गठन गरेको अनुसन्धान समितिले तीन दिनअगाडि सुटरसहित पाँचजनालाई पक्राउ परेको र ८ जना फरार रहेको सूची सार्वजनिक गरेको थियो ।
समितिले मंगलबार नुवाकोट पञ्चकन्याका राजीव स्याङताङ, पर्साका शिवजी महतो, भारत बिहार बेतियाका मुकेशकुमार पाण्डे, पर्सा ठोरीका सन्तोष गुरुङ र काठमाडौं नार्गाजुनका प्रकाश बुढाथोकीलाई सार्वजनिक गरेको थियो । यीमध्ये स्याङताङ सुटर रहेको प्रहरीको दाबी छ । समीरमानसिंह बस्नेत, मनोज पुन, लोप्साङ लामा, गंगा लिङदेन, श्यामबहादुर गुम्बे, अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार रहेको समितिले जनाएको छ ।
तराई–मधेसको हुलाकी लोकमार्गको ठेक्काबापतको २ प्रतिशत कमिसन र प्रहरी इन्काउन्टमा मारिएका कुमार श्रेष्ठ घैंटेको परिवारलाई एक करोड माग भएकोमा शेरचनले पैसा नदिएपछि हत्या भएको समितिले निष्कर्ष निकालेको थियो ।
हत्याको मुख्य योजनाकार बस्नेत रहेको निष्कर्ष निकालेको प्रहरीले फरार रहेको सूची सार्वजनिक गर्दा बिहीबार बेलुका पक्राउ परेका यी दुवैको नाम उल्लेख थिएन ।
समितिका संयोजक डिआइजी केसीले उनीहरू फरार सूचीमा रहेको र गौचनको दैनिक गतिविधि निगरानी गर्नका लागि उनीहरू खटिएको अनुसन्धानका क्रममा खुल्न आएको जानकारी दिए । केसीका अनुसार थेवे र योङहाङबाट हत्याका दिन घटनास्थलमा ७ जना खटिएको खुलेको जानकारी दिए ।
घटनास्थलमा फेला परेको २ वटा गोलीको खोकाका आधारमा प्रहरीले हत्यामा २ जना सुटर र २ वटा हतियार प्रयोग भएको निष्कर्ष निकालेको थियो । दुवै हतियार फ्याक्ट्री मेड रहेको खुले पनि समितिले हतियार फेला पार्न सकेको थिएन । थेवे र योङहाङबाट फेला परेको एउटा पेस्तोल फ्याक्ट्रीमा बनेको हो भने अर्को कटुवा पेस्तोल हो ।
हत्यामा प्रयोग गर्न भारतबाट १८ हजारमा चोरीको मोटरसाइकल किनेर त्यसमा बा ३५ प २४६१ नम्बरको नेपाली प्लेट राखेको अनुसन्धानमा देखिएको थियो । अनुसन्धानमा हत्यामा प्रयोग गर्न शिवजी महतोले भारतको बेतियाबाटै ५५ हजारमा पेस्तोल किनेर ६५ हजारमा श्याम गुम्बे गुरुङलाई बिक्री गरेको प्रहरीको निष्कर्ष थियो । घटनामा प्रयोग भएको दोस्रो पेस्तोलको स्रोत भने प्रहरीले खुलाएको थिएन ।

प्रकाशित: २ मंसिर २०७४ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App