८ वैशाख २०८१ शनिबार
समाज

मतदाता शिक्षा कार्यक्रम सुरु हुन सकेन

रसुवा – निर्वाचन आउन १९ दिन बाँकी रहँदासमेत रसुवामा निर्वाचन शिक्षा कार्यक्रम सुरु हुन सकेको छैन । निर्वाचन शिक्षा कार्यक्रम सञ्चालनका लागि सामग्री नआएपछि कार्यक्रम नै प्रभावित बन्न पुगेको हो । एक साताअघि नै सञ्चालन गर्नुपर्ने उक्त कार्यक्रम निर्वाचन आयोगले तत्काल सञ्चालन नगर्न पत्र पठाएपछि रोकिएको थियो । 
कार्यक्रम सञ्चालन गर्न आयोगले केही दिनअघि पत्र पठाएको भए पनि जिल्ला निर्वाचन कार्यालयले कात्तिक २५ गतेदेखि मात्र तालिम सञ्चालन गर्ने तयारी गरेको छ। 

मतदाता शिक्षा कार्यकर्ता, कार्यकारी अधिकृत, पत्रकार, मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको लागि निर्वाचन सम्बन्धी तालिम कार्यालयले सञ्चालन गर्नुपर्ने हुन्छ। 

यही कात्तिक १३ गतेदेखि तालिम सञ्चालन गर्ने खबर पठाएपछि तालिमका लागि आएका ८ जना खाली हात फर्किन बाध्य भएका थिए । त्यती बेला नै तालिम सञ्चालन गर्न सकेको भए यतिखेर निर्वाचन शिक्षा कार्यकर्ता गाउँगाउँमा पुगिसकेका हुन्थे। 

तालिम सञ्चालन गर्न नसक्दा छनोट गरिएका ४५ जना कार्यकर्ता काम बिहिन भएका छन् । जिल्ला निर्वाचन अधिकारी नबिन खालिङका अनुसार कार्तिक २५ गतेदेखि ३० गतेसम्म तालिम सञ्चालनका लागि तयारी गरिएको छ । 
मतपत्र तीन ओटा हुने भए पनि स्थानीय तहको निर्वाचनमा भन्दा अहिले मतदान गर्न सहज हुने भएकाले बदर मत नबढ्ने खालिङको भनाइ छ। 

उनले भने, ‘मतदाता शिक्षा कार्यकर्ताले कत्तिको बुझाउन सक्छन् भन्ने कुरा मात्र हो, छोटो समयमा नै पनि उनीहरूले सिकाउन सक्छन्, यसअघि पनि मतदान गरेका मतदातालाई मत हाल्न सहज हुन्छ।’

यसपटकको निर्वाचनमा तीनओटा मतपत्र रहेकाले मतपेटिका पनि तीनवटै हुनेछन् । प्रतिनिधिसभातर्फ दुई ओटा र समानुपातिकतर्फ एउटा मतपत्र रहेको छ। 

प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र फरकफरक हुने भएकाले एउटा मतपत्रमा एउटा एउटा मतहाल्नु पर्ने हुन्छ भने समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको लागि दुई ओटा चिह्नमा मत हाल्नुपर्ने जिल्ला निर्वाचन अधिकारी खालिङले बताए। 

बदर मत बढ्ने जोखिम 
निर्वाचन शिक्षा कार्यकर्ता समयमा नै परिचालन गर्न नसक्दा बदर मत बढ्ने जोखिम बढेको छ । ४५ ओटा मतदान केन्द्र रहेको रसुवामा सोही संख्यामा कार्यकर्ता खटाउने तयारी भएको छ। 

स्थानीय तहको निर्वाचनमा पनि समयमा नै कार्यकर्ता परिचालन गर्न नसक्दा बदर मतको संख्या अत्याधिक बढेको थियो । बैसाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा करिब ८२ प्रतिशत मत खसेकोमा करिब आठ प्रतिशत मत बदर भएको थियो । यो २०७० सालमा भएको निर्वाचनको तुलनामा करिब ६ प्रतिशत बढी हो । ०७० सालको निर्वाचनमा ८६ प्रतिशत मत खस्दा १.८७ प्रतिशत मत मात्र बदर भएको थियो । सो निर्वाचनमा २० हजार दुई सय ५३ मतदाताले मतदान गरेकोमा तीन सय ७९ मत मात्र बदर भएको थियो। 

गएका बैसाखमा भएको स्थानीय तहको चुनावमा २२ हजार छ सय ८९ मत खसेकोमा एक हजार छ सय २८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। 

२०७० को निर्वाचनमा २३ हजार पाँच सय ३३, २०७० को स्थानीय तहको निर्वाचनमा २७ हजार आठ सय ५४ मतदाता रहेकोमा अब हुने निर्वाचनमा ३३ हजार तीन सय २२ मतदाता रहेका छन्। 

प्रकाशित: २२ कार्तिक २०७४ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App