१६ चैत्र २०८० शुक्रबार
समाज

११ को परीक्षा जिम्मेवारी स्कुललाई दिने तयारी

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने जिम्मेवारी स्कुललाई दिने तयारी  गरिरहेको छ । बोर्डका सदस्यसचिव लक्ष्मीराम पौडेलले सरकारले विद्यालय शिक्षा स्थानीय निकायालाई जिम्मेवारी दिएकोले कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न आवश्यक नरहेको बताए । उनले हालसम्म कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन र व्यवस्थापन गर्दै आएकोमा अगामी वर्षदेखि कक्षा ११ को परीक्षा स्कुलहरू आफैंले सञ्चालन र नतिजा प्रकाशन गर्ने बताए । कक्षा १२ को परीक्षाको सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशनको जिम्मेवारी भने राष्ट्रिय परीक्षा बोर्डकै हुने उनले बताए ।
संविधानले नै विद्यालय शिक्षा (प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म) स्थानीय तह र विश्वविद्यालय शिक्षा केन्द्रले व्यवस्थापन गर्ने व्यवस्था गरेको छ । सोही आधारमा बोर्डले कक्षा १० को परीक्षा (एसइइ)को सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी प्रादेशिक निकायलाई दिने तयारी गरिरहेको उनले जनाए । ‘असारमा सञ्चालन गरिएको कक्षा ११ को नतिजा यो वर्ष ग्रेडिङ प्रणालीबाटै प्रकाशन गरिनेछ,’ पौडेलले भने, ‘पास फेलको प्रणाली वैज्ञानिक नभएको र तीन घण्टे परीक्षाले व्यक्तिको क्षमता मापन गर्न सकिँदैन ।’ अन्तराष्ट्रिय स्तरमा पनि ग्रेडिङ प्रणाली नै मान्य भएकाले कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने बोर्डल ेनिर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बोर्डले कक्षा ११ को परीक्षा व्यवस्थापन गर्न स्कुलका प्रधानाध्यापकसँग छलफल भइरहेको बताए । ‘विद्यालयमा नयाँ अभ्यास भएकाले शिक्षक र आवश्यक जनशक्ति तयार पार्न स्कुलका प्रधानाध्यापकहरूसँग छलफल गरिँदैछ,’ अध्यक्ष पौडेलले भने । उनले परीक्षाको निर्देशिका अनुसार प्रश्नपत्र तयारी र मोडेल बनाएर त्यही अनुसारको अभिमूखिकरण गर्ने तयारी बोर्डले गरिरहेको बताए ।
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले विदेश तिर कक्षामा पढाउने शिक्षकहरूले नै विद्यार्थीको क्षमता पहिचन गर्ने भएकाले उनीहरूलाई नै परीक्षा लिने अधिकार दिइने बताउँदै संविधानले नै विद्यालय शिक्षा स्थानीय तहलाई हस्तान्तरण गरिसेकेको अवस्थामा कक्षा ११ को परीक्षाफलको जिम्मा स्कुलले नै लिनु उचित भएको जनाए ।
‘बद्लिँदो परिस्थितिमा हाम्रा स्कुलका हेडमास्टर स्थानीय तहको प्रतिनिधिहरू छलफल गरेर परीक्षा सञ्चालन, नतिजा प्रकाशन, प्रश्नपत्र तयारी लगायतका परीक्षाको सम्पूर्ण तयारीबारे नयाँ निर्देशिका बनाएरै अघि बढ्नु पर्छ,’ कोइरालाले भने, ‘शिक्षकहरू नातागोता, आफन्त भनेर परीक्षालाई प्रभाव पारी इमान्दारिता कामय गर्न सकिएन भने चाहीँ यो व्यवस्था घातक हुनेछ ।’
नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले सरकारले कक्षा ८ को जिल्लालाई, कक्षा १० को प्रदेशलाई र कक्षा ११ को परीक्षा व्यवस्थापन स्कुललाई दिने कदम सकारात्मक भए पनि त्यसको व्यावक पूर्व तयारी गर्नुपर्ने बताए । ‘कक्षा ११ को परीक्षा व्यवस्थापन स्कुलमा दिँदा कक्षा ११ र १२ दुवैको पाठ्यक्रम पुनःअवलोकन हुनुपर्छ,’ अध्यक्ष निरौला भन्छन्, ‘कक्षा १० पछि प्राविधिक धारका विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने त्यसबारे स्पष्ट नीति नै बनाउनुपर्छ ।’
बोर्ड अध्यक्ष पौडेलले अन्तराष्ट्रिय स्तरमै विद्यार्थीहरू जुन विषयमा अब्बल  छन् त्यही विषयमा पेशा बनाउन अग्रसर हुने व्यवस्था रहेकाले नेपाली विद्यालय  शिक्षा प्रणालीलाई पनि सुधार गर्दै जानुपर्ने बताए । उनले माध्यामिक शिक्षाको अन्तिम तह कक्षा १२ मा सिंगल सबजेक्ट सर्टिफिकेशन (एक विषयमा अब्बल)प्रणाली लागू गर्न÷गराउन गृहकार्य सुरु गरिरहेको जनाए । यसका लागि उच्च शिक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरूसँग समेत बोर्डले छलफल  अघि बढाएको उनले जनाए ।

प्रकाशित: २१ कार्तिक २०७४ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App