coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सडकका कुकुर विदेशमा !

उपचारपछि विदेशमा पुगेका कुकुर। तस्बिर सौजन्य : ऋतु थापा

काठमाडौं- यमपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरको पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ । सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन ।
अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन । उनीहरू सबैका लागि आँखाको कसिंगरसरह हुन्छन् ।
तर, यस्तै केही कुकुर भने स्वस्थ भएर जेट विमान चढी विदेश पुग्ने गरेका छन् । नेपाली सडकमा रहेका केही कुकुर क्यानडा, अमेरिका, जर्मनीलगायतका देशमा पुगिसकेका छन् । बेवारिसे कुकुरलाई युरोप, अमेरिका पु¥याउने काममा विदेशी र नेपाली महिलाको संयुक्त टोली खटिएको छ । टोलीमा तीनजना छन् । ‘अहिलेसम्म करिब दुई दर्जन कुकुर विदेश पु¥याइसकिएको छ भने डेढ दर्जनलाई पठाउने तयारी छ,’ टोलीकी सदस्य ऋतु थापाले जानकारी दिइन् ।
अघिल्लो वर्ष जर्मन नागरिक डेनिला ड्रिस नेपाल घुम्न आएकी थिइन् । त्यही बेला उनले काठमाडौंका सडकमा कुकुरको बिजोग देखिन् अनि तिनका लागि केही गर्ने सोच बनाइन् । उनको भेट पोल्यान्डकी जुलिया क्रेप्स र नेपालकी ऋतु थापासँग भयो र कुकुरको उद्धार गर्ने योजना बन्यो । अनि उनीहरु सडकका कुकुरलाई विदेश पठाउने काममा लागे ।
उनीहरूको टोलीले सुरुमा सडकका कुकुरको उपचार गरेर कुकुर पाल्न चाहने नेपाली परिवारलाई जिम्मा दिने अभियान थाल्यो । ‘हामीले जिम्मा लगायौं तर पाल्ने जिम्मा लिएका परिवारले राम्रोसँग कुकुरको हेरचाह गरेको पाइएन,’ जुलियाले नागरिकसँग भनिन्, ‘त्यसपछि मात्र हामीले विदेश पठाउने विकल्प सोचेका हौं ।’
कुकुरको उपचारका लागि एनिमल नेपाल र कम्युनिटी डग वेलफेयर भन्ने संस्थाले साथ दिएका छन् । उनीहरुले कुुकुर स्वस्थ भएपछि तस्बिर र भिडियो फेसबुकमा राख्छन् । उनीहरुले ‘डन्ट प्यानिक नेपाली डग, वी विल फाइन्ड अ होम’ नामको फेसबुक समूह बनाएका छन् । सोही समूहमार्फत कुकुर पाल्न चाहने इच्छुक परिवार सम्पर्कमा आउँछन् ।
‘सम्पर्कमा आएका परिवारलाई सीधै कुकुर पठाउँदैनौं,’ फेसबुकमा कुराकानी गर्दै डेनिलाले भनिन्, ‘उनीहरुले कुकुर पाल्न सक्ने–नसक्ने अध्ययन गर्छौं । कुकुर पाल्न चाहने परिवारको अन्तर्वार्ता पनि लिन्छौं ।’ कुकुर पाल्न चाहने ठहरिएमा मात्रै पठाउने उनले बताइन् । कुकुर पाल्न चाहने विदेशी परिवार कतिपय फेसबुकमार्फत आउँछन् भने कतिपय व्यक्तिगत चिनजानको आधारमा आउने गरेको उनले बताइन् ।
ऋतुका अनुसार कुकुर पठाउँदा लाखौं खर्च हुन्छ र झन्झटिलो सरकारी प्रक्रिया पनि पूरा गर्नपर्छ । कुकुर पाल्न चाहने केही परिवार कुकुर पठाउँदा लागेको खर्च पनि बेहोर्छन् । केही परिवारले भने कुकुर पाल्न चाहे पनि खर्च बेहोर्दैनन् । ‘खर्च बेहोर्न नचाहने परिवारका लागि साथीहरूको सहयोग लिएर कुकुर पु¥याइदिने गरेका छौं,’ ऋतुले भनिन्, ‘कुकुर पु¥याएपछि पनि नियमित फलोअप गरिरहन्छौं । अहिलेसम्म हामीले पठाएका सबै कुकुर रामै्रसँग पालिएका छन् । सबैको तथ्यांक राखेका छौं ।’
एउटा कुकुर विदेश पु¥याउँदा ३ सयदेखि ६ सय डलरसम्म खर्च हुन्छ । कुकुरको कार्गो गर्दा महँगो पर्न आउँछ । त्यसैले कतिपय कुकुर उतै जाने यात्रुको साथ पठाउने गरिएको छ ।
कुकुरको उपचारका लागि पनि धेरै खर्च हुन्छ । कतिपय कुकुरको अपरेसन नै गर्नुपर्छ । कतिपयको लामो समयसम्म उपचार गरिरहनुपर्छ । स्वस्थ नहुन्जेल कुकुर बाहिर पठाउन पाइँदैन । बाहिर पठाउँदा नियमित रुपमा आवश्यक सबै भ्याक्सिन लगाएको कुकुरलाई मात्रै सरकारले अनुमति दिन्छ ।
कुकुर लैजाने देशको नियमअनुसार उपचार गरेर पठाउन अनुमति दिने गरेको केन्द्रीय पशु चिकित्सालयका डाक्टर अवदेश झाले बताए । ‘कुकुरको उपचारपछि रगत परीक्षण गरेर लैजाने देशको मापदण्डअनुसार भएनभएको जाँच गरिन्छ,’ उनले भने, ‘ठीक भएको खण्डमा कुकुरलाई विदेश पठाउन कागजपत्र तयार गरिदिन्छौं।’ उनका अनुसार पशु सेवा विभागले तोकेको मान्छेले कानुनी प्रक्रिया पु¥याएर कागजपत्र बनाएको कुकुरमात्रै बाहिर पठाउन पाइन्छ ।
डेनिला जर्मनीमै बसेर सडकमा रहेका कुकुर उद्धारको काम गरिरहेकी छिन् । जुलिया नेपालमै बस्छिन् । जुलिया र ऋतु मिलेर कुकुरको उपचारदेखि पठाउनेसम्मको काम गर्छन् । ‘हामीलाई सडकमा रहेका कुकुरको अवस्था देख्दा ज्यादै दया लागेर आउँछ,’ जुलियाले भनिन्, ‘त्यसैले हामीले सकुन्जेल, खर्चले पुगेसम्म कुकुरको उद्धार गर्ने काम गरिरहन्छौं ।’
काठमाडौं महानगरपालिकामा मात्रै २२ हजार सडक कुकुर रहेको तथ्यांक छ । उपत्यकामा झन्डै ३० हजार कुकुर सडकमा रहेको अनुमान छ । ‘सडकमा रहेका सबै कुकुरको उद्धार गर्न त हामीले के सकौंला र,’ ऋतुले भनिन्, ‘तर हामी सकेजति उद्धार गरिरहन्छौं ।’
कुकुर संरक्षणका लागि र्‍याली
सडकमा बेसहारा भएर रहेका कुकुरलाई माया गरौं भन्दै एक समूहले मोटरसाइकल ¥याली गर्दैछ । कुकुर तिहारको अवसर पारेर चावहिलदेखि कीर्तिपुरसम्म ¥याली गर्न लागिएको बाइक राइडर अन्दिप आचार्यले बताए । उनले व्यक्तिगत रूपमा ५० हजार र साथीको सहयोगमा डेढ लाख गरी दुई लाख रकम जम्मा गरेर एनिमल वेलफेयरमा काम गर्दै आएको संस्थालाई सहयोग गर्न लागेको समेत बताए । एनिमल नेपाल र कम्युनिटी डग वेलफेयर संस्थालाई एकएक लाख सहयोग गर्न लागेको उनले बताए । ‘सडकमा रहेका पशुपन्छीको बिजोग देख्दा दया लागेर आउँछ,’ उनले भने, ‘आपूm नै सडकमा आएर काम गर्न भ्याइन्न, त्यसैले एनिमल वेलफेयरको क्षेत्रमा काम गरिरहेका संस्थालाई सहयोग गर्न लागिएको हो ।’


 

प्रकाशित: १ कार्तिक २०७४ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App