८ वैशाख २०८१ शनिबार
समाज

बन्धक बनाएर बालिका बलात्कार गर्ने चालक पक्राउ

खोटाङ– १४ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबरजस्ती करणी गर्ने उदयपुरका एक युवकलाई खोटाङ प्रहरीले पक्राउ गरेको छ । खोटाङमा आएर ट्याक्टर चलाउँदै आएका त्रियुगा नगरपालिका–९ का विदुर भनिने कुलबहादुर कटवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो । 

विवाह गर्ने प्रलोभन देखाएर लामो समयदेखि जबरजस्ती करणी गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राख्ने कट्वालविरुद्ध पीडित बालिकाको आमाले दिएको उजुरीको आधारमा असोज २९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । हिरासतमा राखिएका कटवालविरुद्ध जबरजस्ती करणी, अपहरण र शरीर बन्धक अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ। 

जिल्लाका उत्तरी क्षेत्रकी पीडित बालिकाकी आमाले दिक्तेलस्थित कार्यालयमा आएर २७ गते उजुरी दिएपछि कटवाललाई रूपाकाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नासाथ २९ गते नै जिल्ला अदालत खोटाङमा लगेर पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले बताए । 

अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका कटवालले गत भदौ २३ गते बालिकालाई घरैबाट अपहरण गरेर गाईघाट लगी बन्धक बनाएर राखेको उजुरीमा उल्लेख छ । गाईघाटस्थित एउटा घरमा राखेर पटक–पटक करणीको शिकार बनेकी बालिका नौं दिनपछि भदौ ३१ गते भाग्न सफल भएको आफन्तले जनाएका छन् । पीडित बालिकाको छिमेकी एक महिलाले ललाईफकाई कटवालसँग सम्पर्क गराइ दिएपछि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बालिका अपहरणमुक्त भएपछि फरार रहेकी महिलाविरुद्ध समेत मुद्दा दर्ता गरेर खोजी कार्य सुरु गरिएको प्रनाउ थापाले जनाए । 

जबरजस्ती करणी गर्नेलाई ६ देखि दश वर्ष, अपहरण तथा शरीर बन्धक बनाउनेलाई ७ देखि १५ वर्ष कैद भुक्तानी गराउनुपर्ने व्यवस्था छ । नाबालिका भएको हकमा थप दुई वर्ष कैदसँगै क्षतिपूर्तिसमेत भराउने व्यवस्था रहेको छ । 

 

प्रकाशित: ३१ आश्विन २०७४ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App