७ वैशाख २०८१ शुक्रबार
समाज

निर्माण व्यवसायी महासंघ अध्यक्षको हत्या, छानबिन समिति गठन

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन ओमशान्ति चोकमा रहेको घरबाट अनामनगरमा रहेको महासंघको कार्यालयमा जान घरबाट निस्किए । गल्ली पार गरेर मध्यबानेश्वरको खरीबोटमा निस्कन केही उकालो बाटो पार गर्नुपर्छ । पौने तीन बजेतिर उनी चढेको बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी उकालोमा पुगेलगत्तै चालक राजकुमार खत्री बसेतिर अगाडिको सिसामा कसैले इँटाले हान्यो । सिसा चर्किंदा केही देखिएन ।

मध्यदिन सहरको मध्यभागमा गोली हानेर हत्यारा फरार हुँदा समेत घटनामा संलग्नको हुलिया या उनीहरूले प्रयोग गरेको मोटरसाइकलको नम्बर खुल्न सकेको छैन ।

केही बेरमै दुईपटक केही पड्किएको आवाज आयो । चालकनजिकैको सिटमा बसेका गौचन रगतपच्छे भइसकेका थिए । गुलाबी रङको टिसर्ट लगाएको व्यक्ति घटनास्थलबाट उत्तरतिर रहेको कात्यायनी मन्दिरतिर हिँडिरहेको थियो । उसको हातमा पेस्तोल रहेकाले सुटर ऊ नै रहेको प्रस्ट भयो । चालक गाडीबाट निस्किएर केही परसम्म पुगे ।
करिब २ सय मिटरअघि रोकिराखेको मोटरसाइकलमा चढेर सुटर कात्यायनी मन्दिरतिर छिरेपछि चालक गाडीतर्फ फर्किएर गौचनलाई सिभिल अस्पताल पु¥याए । अस्पताल पु¥याउँदा शेरचनको मृत्यु भइसकेको थियो । उनको टाउको र कोखामा गोली लागेको थियो ।
मध्यदिन सहरको मध्यभागमा गोली हानेर हत्यारा फरार हुँदा समेत घटनामा संलग्नको हुलिया या उनीहरूले प्रयोग गरेको मोटरसाइकलको नम्बर खुल्न सकेको छैन । भीडभाडै रहेका बेला भएको घटनाका प्रत्यक्षदर्शीले सुटरको शारीरिक बनोट र उसले लगाएको कपडाबाहेक अन्य केही खुलाउन सकेनन् । सुटर गुलाबी टिसर्ट लगाएको अन्दाजी ६ फुट उचाइ र मोटो शारीरिक बनोटको रहेको सूचनाका आधारमा प्रहरीले उपत्यकाका सबै नाका सिल गरेर खोजी सुरु गरेको छ तर साँझसम्म उपलब्धि शून्य छ ।
घटनाको करिब आधा घण्टामा प्रहरीले मनमैजुमा पेस्तोल र तीन राउन्ड गोलीसहित काभ्रेका छिरिङ तामाङ, दिलिप लामा र सञ्जय तामाङलाई पक्राउ गरेको थियो । उनीहरू शेरचन हत्याका सुटर हुन् या हैनन, प्रहरी निष्कर्षमा पुग्न सकेको छैन । ‘घटना भएको समय र उनीहरू पक्राउ परेको समयको आधारमा यति छिट्टै मध्यबानेश्वरबाट मनमैजु पुग्न सक्ने देखिन्न,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले भने, ‘हतियार र गोलीसहित पक्राउ परेकाले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।’
प्रहरीले सोमबार नै दीपकुमार श्रीवास्तव र रञ्जनकुमार यादव नामका दुई भारतीय सुटरलाई पक्राउ गरेको छ । प्रहरीको विशेष ब्युरोद्वारा समातिएका उनीहरू नेपालमा व्यवसायीको हत्या योजनासहित आएको देखिए पनि शेरचन हत्यामा भने जोडिएका छैनन् ।
 

पूर्वनिर्धारित योजना, अनुभवी सुटर
शेरचन घटना हुनुभन्दा १० मिनेटअगाडि घटनास्थलभन्दा करिव दुई सय मिटरको दूरीमा रहेको घरबाट निस्किएका थिए । उनको गाडी उकालोमा आइपुगेर गति केही कम भएलगत्तै पहिला चालक रहेको सिटतिरको सिसामा इँटा प्रहार भएको थियो । त्यसपछि लगातार शेरचनमाथि गोली चलेको थियो ।
शेरचन घरबाट निस्किएको समय, घटनास्थलको भौगोलिक अवस्था, आक्रमणको शैली, गोली चलाउन प्रयोग भएको सिप र सहजै रुपमा उम्किने शैलीले घटना लामो समयको तयारीमा गराइएको सहजै पुष्टि हुन्छ ।
घटनाको प्रकृतिले शेरचनको दैनिक गतिविधि निगरानी गरी गोली हान्न सहज हुने स्थानको चयन पहिल्यै गरेर हत्या योजना बुनेको देखिन्छ । शेरचन घरबाट निस्किएलगत्तै उनीमाथी गोली प्रहार भएकाले उनको घरअगाडि निगरानीका लागि अर्को व्यक्ति बसेको, निगरानीमा रहेका व्यक्तिको सूचनाका आधारमा सुटर उकालोनजिकै आएर बसेको देखिन्छ ।
गाडी आएलगत्तै चालकले अनुहार चिन्न नसकोस् र गाडी भगाउन नसकोस् भनेर अवरोध पु¥याउन इँटाले प्रहार गरेको र शेरचन अलमलिएको मौका पारेर गोली हानेको देखिन्छ । गाडीको सिसाभित्र रहेका व्यक्तिमाथि दुई राउन्ड गोली प्रहार हुनु र दुवै गोली संवेदनशील स्थानमा लाग्नुले अनुभवी सुटर प्रयोग भएको पुष्टि हुन्छ ।
‘प्रकृतिले यो अकस्मात भएको घटना देखिएन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘घटनास्थलको चयन र शैलीका आधारमा लामो समयको तयारीमा घटना गराइएको र अनुभवी आपराधिक समूह संलग्न रहेको देखिन्छ ।’
 

शंकामा रमेश बाहुन र मनोज पुन
ठूला निर्माणको काम ठेक्कामा लिएर कमिसनका आधारमा अन्य निर्माण व्यवसायीलाई काम दिन सक्रिय शेरचनको हत्याको कारण के हुन सक्छ, यकिन हुन सकेको छैन ।
अधिकांश यस्ता घटना व्यक्तिगत रिसइवी र जबर्जस्ती रकम असुलीका लागि हुने गरेकाले प्रहरीले अनुसन्धानलाई यी दुवै कोणमा केन्द्रित गरेको छ । अनुसन्धान अधिकारी निर्माण व्यवसायीलाई धम्क्याएर रकम असुल्न शेरचनको हत्या भएको सम्भावना बढी रहेको बताउँछन् ।
रकम असुल्न धम्क्याएको आशंका गरिए पनि कसले हुन सक्छ, प्रहरीले यकिन गर्न सकेको छैन । घटनाको प्रकृति हेर्दा रमेश बाहुन भनिने सुजन पौडेलसँग मेल खाने प्रहरीले जनाएको छ । ठूला निर्माण व्यवसायीलाई धम्क्याएर रकम असुल्न माहिर बाहुन तीन वर्षअगाडि पक्राउ परेर अहिले केन्द्रीय कारागारमा छन् । सडक, भवनका ठूला ठेकेदारको घरमै गएर हत्याको धम्की दिँदै रकम असुलेर आतंक मच्चाएका सेनाका पूर्वजवान बाहुन कारागारमा रहे पनि उनले आफ्नो समूह पुनः परिचालन गरिरहेको सूचना प्रहरीमा आएको थियो ।
एमालेको संरक्षणमा रहेर भक्तपुरका मीनकृष्ण महर्जनसँगको ठेक्कापट्टाको कमिसन विवादमा उनको हत्या प्रयास गरी फरार रहेका बेला बाहुनलाई २०७१ असारमा भारतमा पक्राउ गरी नेपाल ल्याइएको थियो । त्यसपछि उनी लागूऔषध र अवैध हतियारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।
प्रहरीले इन्काउन्टरको योजना बुने पनि एमाले महाधिवेशनका कारण जोगिएका उनी कारागारमा पुगेपछि केही समय निष्क्रिय भए पनि पछिल्लो समय कारागारभित्रैबाट आफ्नो समूह ब्युँताएका थिए । ‘केही दिनअगाडि रमेश बाहुनको नाम लिएर केही व्यक्ति शेरचनसँग पैसा माग्न गएको र नदिएपछि धम्क्याएर फर्किएको भन्ने सूचना आएको छ,’ एआइजी चन्दले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ ।’
प्रहरीको शंकामा परेका अर्का फरार अभियुक्त मनोज पुन नेपालमा छैनन् । गत पुस ४ गते भएको दुर्गा तिवारी हत्याका मुख्य योजनाकार देखिएका पुन त्यसपछि भारतमा रहेको दाबी प्रहरीले गर्दै आएको थियो ।
इँटा व्यवसायीसमेत रहेका एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गाको हत्या आतंक मच्चाएर व्यवसायीसँग रकम असुल्ने योजनाअनुसार भएको प्रहरीले दाबी गरेको थियो । पुन पनि एमाले कार्यकर्ता थिए । प्रहरीले दुर्गा हत्यामा संलग्न रहेको भन्दै १३ जनाको नाम सार्वजनिक गरेको थियो जसमा पुनसहित चारजनाबाहेक अन्य पक्राउ परेका थिए ।
६ महिनाअगाडि गौरीघाटमा अर्का गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो । घटनामा लामा जोगिए पनि सो घटना कसले गराएको हो, अझै खुल्न सकेको छैन । सो घटनामा समेत पुन जोडिएका थिए ।
एसएसपी र जिपछिरिडलाई ‘ब्ल्यांक कल’
शेरचनको हत्यापछि निजामती अस्पतालको प्रांगणमा आइपुगेका निर्माण व्यवसायी तथा नेपाली कांग्रेसका नेता जिपछिरिङ लामा आफूलाई समेत अज्ञात नम्बरबाट धम्कीयुक्त फोन आएको बताउँदै थिए ।
नम्बर नखुलेको कल दुईपटक आएको र कल गर्ने व्यक्तिले ‘शेरचनको हत्या भएको थाहा पाइस् हैन, अब बन्दोबस्त गर’ भनेर धम्क्याएको उनको दाबी थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकका अनुसार घटनापछि उनलाई समेत नम्बर नदेखिने फोन कल आएको थियो । आफूलाई लोप्साङ लामा बताउने कलकर्ताले ‘मागेको पैसा नदिएपछि गोली हानेको’ बताएको धानुकले जानकारी दिए ।
उनले शेरचनको हत्यामा पुन समूहको संलग्नता हुनसक्ने बताउँदै रुपन्देहीका दुई व्यवसायी सुजु मल्ल र पदम ढुंगानालाई समेत ‘काठमाडौंमा के भयो, चाल पाइस्, मागेको पैसा नदिए त्यस्तै हुन्छ’ भनेर धम्की आएको जानकारी दिए ।  
इन्टरनेट कल गर्दा कलकर्ताको नम्बर नदेखिने भएकाले दुवै फोन इन्टरनेट फोन भएको प्रहरीको निष्कर्ष छ ।
 

६ वर्षपछि खुल्यो सुटरको ट्रिगर
२०६३ पछि वैदेशिक रोजगार व्यवसायी, निर्माण व्यवसायी, चिकित्सकलगायतलाई धम्क्याएर रकम असुल्ने समूह सक्रिय भए पनि ६ वर्षयता यो क्रम सुस्ताएको थियो ।
२०६८ मा घण्टाघरअगाडि फैजान अहमद मारिएका थिए । अनुसन्धानमा उनको हत्या भारतीय सुटरले गरेको खुलेको थियो । त्यसयता ठूला व्यवसायीमाथि आक्रमण भएको थिएन ।
संगठित अपराधमा संलग्न समूहका नाइकेविरुद्ध प्रहरी कारबाही कडा भएसँगै रमेश बाहुन, अभिषेक गिरीलगायत जेल पुगे । स्पाइडर समूह बनाएर मलेसिया र भारतमा बसेर नेपालका चिकित्सक र वैदेशिक रोजगार व्यवसायीलाई धम्क्याई रकम असुल्दै आएका सन्दीप पाठक भनिने मिलन लामा पक्राउ परे । इन्काउन्टरमा दिनेश अधिकारी चरी र कुमार घैंटे मारिएपछि जबर्जस्ती रकम असुल्न सक्रिय समूह तितरबितर भएका थिए ।
राजनीतिक अस्थिरता बढ्दा र उपत्यकाको सुरक्षा कमजोर बन्दा रकम असुलीलगायतका घटनामा संलग्न समूह सक्रिय हुने गरेका छन् । सोमबारको घटनापछि उपत्यकामा रकम असुलीमा सक्रिय समूह पुनः क्रियाशील भएको देखिएको छ ।
यसैबीच घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीले विशेष ब्युरोका एसएसपी शेरबहादुर बस्नेतको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

प्रकाशित: २४ आश्विन २०७४ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App