coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विश्व तापक्रम १.५ डिग्रीमा राख्न विकसित राष्ट्रलार्इ नेपालको आग्रह

काठमाडौँ – नेपालले  विकसित राष्ट्रहरूलाई न्यून कार्बन उत्सर्जन विकासको मार्ग यथासक्य अवलम्बन गरी विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस भन्दा कम राख्न अपिल गरेको छ। 

इथियोपियाको राजधानी अदिस अबाबामा बिहीबारदेखि सुरु भएको अतिकम विकसित राष्ट्र समूहको बैठकमा यस्तो अपिल गरेको हो । वातावरण मन्त्री मिथिला चौधरीले संयुक्त राष्ट्र संघ जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय महासन्धि पक्ष राष्ट्रहरूको २३ औं सम्मेलनको पूर्व सन्ध्यामा यस्तो अपिल गरेकी हुन्। 

उनले विकसित राष्ट्रहरू तापक्रमलाई १.५ डिग्री सेल्सियसमा स्थिर राख्न सफल भए मात्र पेरिस सम्झौताको सही कार्यान्वयन हुने बताइन् । मन्त्रालयबाट बिहीबार जारी विज्ञप्ति अनुसार मन्त्री चौधरीले आगामी नोभेम्बर ६ बाट सुरु हुन लागेको जलवायु परिवर्तनसम्बन्धि महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप २३) पेरिस सम्झौताको पूर्ण कार्यान्वयन गरी तापक्रम स्थिर राख्न आवश्यक नियमहरू तर्जुमा गर्न केन्द्रित हुनुपर्ने उल्लेख गरिन। 

‘नेपाल जस्ता जलवायु परिवर्तनका असरबाट प्रभावित र जोखिममा रहेका अति कम विकसित राष्ट्रहरूको विशिष्ट आवश्यकताहरूको सम्बोधन गर्ने पक्षमा नियमहरू बनाउने तर्पm अति कम विकसित राष्ट्रहरूको समूहको अर्थपूर्ण नेतृत्व हुनुपर्छ, उनले भनिन्। 

सन् २०१८ सम्ममा पेरिस सम्झौताको कार्यन्यवयनका लागि आवश्यक नियमहरू बनाइसक्नुपर्ने भएकोले उपलब्ध समयको अधिकतम उपयोग गर्न चौधरीले सबैलाई अनुरोध गरिन् । बैठकमा मन्त्री चौधरीले नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गरेको स्थानीय तथा राष्ट्रिय प्रयासहरूबारे जानकारी गराउँदै पेरिस सम्झौताको सफल कार्यान्वयनको लागि जलवायु वित्तको उपलब्धता र सहजप्रवाह, प्रविधिको विकास र हस्तान्तरण र क्षमता अभिवृद्धि एक आधारस्तम्भ रहेको उल्लेख गरिन। 

हरेक वर्ष महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन (कोप)को पूर्व सन्ध्यामा अतिकम विकसित राष्ट्रहरूको बैठक हुने गर्छ । यसले कोपमा छलफल हुने विभिन्न विषय र मुद्दाहरूको पहिचान गरी यी राष्ट्रहरू माझ समान बुझाई निर्माण गर्छ । र, अतिकम विकसित राष्ट्रहरूको प्रभावकारी सहभागिताको लागि रणनीति पनि बनाउँछ। 

समूहको प्राविधिक बैठकमा मन्त्री चौधरीसहित मन्त्रालयकी सह–सचिव लक्ष्मी बस्नेत र उपसचिव नरेश शर्मा सहभागी छन् । 

प्रकाशित: १९ आश्विन २०७४ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App