२७ श्रावण २०७७ मंगलबार
समाज

३५० रुपैयाँको उपकरण ४ हजारमा बिक्री

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालकाे एउटा शैयामा दुर्इ बिरामी । तस्बिर सौजन्य : रामचन्द्र प्रसाद गुप्ता

काठमाडौं – शैया अभाव, कर्मचारीका बीचमा किचलोजस्ता व्यवस्थापकीय कमजोरीका कारण वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीले सास्ती खेप्नु परिरहेको छ । औषधि व्यवसायीको मिलोमतोमा अस्पतालकर्मीले अस्पतालमा उपचार सामग्री उपलब्ध नरहेको भन्दै उपचारमा समस्या थपिदिएका छन् भने मृगौलासम्बन्धी रोगबाट पीडितहरू एउटै शड्ढयामा बसेर डायलासिस गराउन बाध्य छन्। 

मृगौलाका बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले अन्य रोग सर्ने सम्भावना बढी हुने अस्पतालका डाक्टर तथा नर्सहरू नै बताउँछन् । तर, बिरामीलाई उचित सेवा दिन अस्पताल प्रशासनले गम्भीरता देखाएको छैन। अस्पतालमा बिरामीले दुःख पाउने कारण नै अस्पतालको व्यवस्थापकीय हेलचक्रयाइँ देखिएको छ। 

सोमबार बिहान साढे सात बजे अस्पतालका दृश्यले व्यवस्थापकीय कमजोरी छर्लङ पारेको छ । पर्सा, रतनपुरकी ३६ वर्षीया नुरजहाँ खातुनलाई अस्पतालले डायलसिसका लागि बिहान सात बजे बोलाएको थियो । उनको स्वास्थ्य अवस्था निकै चिन्ताजनक थियो । तर, उनी अस्पताल पुग्दा डायलासिस गर्ने मेसिनको रगत सफा गर्ने पाइप (एमिट्युमिङ) नभएकाले डायलासिस ढिलागरी हुने थाहा पाइन् । उनको अवस्था निकै नाजुक बन्दै गएपछि अर्का बिरामीका भिजिटर मेहन्दी हुसैन अन्सारीले नजिकैको औषधि पसलबाट पाइप किन्न जाँदा ३ सय ५० पर्ने पाइपको मूल्य ४ हजार ८ सय भन्दा उनी छक्क परे । ‘त्यसपछि म सिधै बाइकमा बसेर गन्डक पुगे र हेल्थ केयर सेन्टरबाट ३ सय ५० मा पाइप किनेर ल्याएँ,’ मेहन्दीले नागरिकसँग भने, ‘अस्पतालका कर्मचारी र नजिकका औषधि पसले मिलेर औषधि र डायलासिसका लागि चाहिने अन्य सामग्रीमा कमिसन खाने प्रवृत्तिले हामीलाई सास्ती भोग्नुपरेको छ ।’ उनले अस्पताल व्यवस्थापनको विश्वासमै यस्तो अवैध काम हुने गरेको आरोप लगाए। 

डायलसिस गर्ने समय बिहान सात बजे तोकिए पनि साँझ ४ बजेमात्र नुरजहाँको डायलालिस भयो । ज्यान जाने अवस्थामा समेत उनको डायलासिसका लागि अस्पताल प्रशासनले रुचि नदेखाएपछि केहीबेर अस्पताल परिसरभित्र तनावसमेत सिर्जना भएको थियो। 

मेहन्दी पनि आफ्ना ६५ वर्षे बुवाको डायलालिसका लागि सोमबारै अस्पताल पुगेका थिए । उनको बुवालाई पनि बिहान साढे सात बजे नै डायलासिसका लागि बोलाइएको थियो । तर, उनलाई पनि सामग्रीकै अभाव देखाएर बेलुका पाँच बजेसम्म कुर्न लगाइयो। 

 किड्नीकै अर्का बिरामीका भिजिटर रामचन्द्र प्रसाद गुप्तालाई भने एउटै बेडमा दुईजना बिरामी राखेर डायलासिस गरेको देख्दा निकै डर लागेको थियो । उनी श्रीमतीको डायलासिसका लागि अस्पताल पुगेका थिए । उनले भने, ‘किड्नीको बिरामीको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोग सर्ने सम्भावना बढी हुने थाहा पाउँदा पनि गलत तरिकाले डायलासिस गर्नु भनेको अस्पतालको ठूलो लापरबाही हो।’

अस्पतालका एक कर्मचारीले आफूहरूले डायलासिस इन्चार्जलाई बिहान साढे ६ बजेदेखि नै  समान व्यवस्थापनका लागि आग्रह गरे पनि उनले बेवास्ता गर्ने गरेको गुनासो गरे । ‘डायलासिस गर्न आवश्यक सामानका लागि इन्चार्जलाई जतिसुकै भने पनि केही लाग्दो रहेनछ । कर्मचारीकै बीचमा खुट्टा तानातान र मिलेर खाने प्रवृत्तिले गर्दा यस्तो भइरहेको छ,’ उनले थपे । सरकारले यो अस्पतालमा डायलासिस गर्ने सातवटा मेसिन दिएको छ । तर, उचित व्यवस्थापन नहुँदा बिरामीलाई निजी अस्पतालमा चर्को रकम तिरेर सेवा लिन बाध्य हुनुपरेको छ । सरकारी अस्पतालमा सही र समयमा सेवा नपाएर निजी अस्पतालमा बिरामी जाँदाको कमिसन अस्पतालका कर्मचारीलाई आउने गरेको रहस्य उनले खुलाए।

अस्पतालकी डायलासिस इन्चार्ज ज्योति गुप्ताले अस्पतालमा समान अभावकै कारण सेवा दिन समस्या रहेको बताउँछिन् । उनले अस्पताल प्रशासनले आफूलाई समेत सही सूचना नदिने गरेकाले बिरामीलाई सेवा दिन असुविधा भएको प्रस्ट्याइन्। 

एउटै बेडमा दुई बिरामीलाई राखेर डायलासिस गर्दा छालाका रोग तथा सरुवा रोग लागेर ज्यान जाने खतरा हुन्छ । ‘मलाई पनि प्रशासनले कुन समान कहिले आउने भन्ने सूचना दिँदैन । साथै बिरामीलाई सामान अभावबारे सूचना नदिन समेत सिकाइन्छ,’ उनले भनिन् । उनले अस्पतालमा जनशक्ति अभाव र भएको जनशक्तिले पनि राम्ररी काम नगर्दा समस्या थपिएको बताइन्। 

अस्पताल निर्देशक डा. चितरन्जन साहले अस्पतालभित्रै कर्मचाबीच ठूलो द्वन्द्व भएकाले बिरामीलाई सेवा दिन चुनौती थपिएको स्वीकारेका छन् । उनलाई आन्तरिक किचलोका कारण अस्पतालमा व्यवस्थापकीय सुधार गर्न हम्मे परेको छ । उनले कर्मचारीले युनियन नै बनाएर विभिन्न निहुँमा औषधिलगायत सामग्रीको कृत्रिम अभाव देखाएर समस्या थपिदिने गरेको खुलाए। 

‘औषधि सप्लायर्सले अस्पताललाई व्यापार गर्ने अखाडा बनाएका छन् । अस्पतालका कर्मचारीसँग मिलेर उपचार सामग्रीको संकट देखाएर अस्पताललाई बदनाम बनाउँछन् । बिरामीहरू सेवाका लागि निजी अस्पतालमा जान बाध्य हुन्छन् । यसमा कमिसनको ठूलो चक्र छ,’ उनले भने, ‘अस्पतालभित्रै फार्मेसी खोलेर टेन्डरबाटै औषधि तथा अन्य उपचार सामग्री खरिद गर्ने परिपाटी कायम गरेको छु । अवैध आर्जन गर्न पल्केका कर्मचारीहरू यसमा पनि असहयोग गरिरहेका छन् ।’

सरकारले २०७२ साल असारदेखि यो अस्पतालमा डायलासिस निःशुल्क गरेको हो । अस्पतालमा दैनिक तीन सिफ्ट गरी नौजना बिरामीको डायलासिस हुने गरेको अस्पताल निर्देशक साहको दाबी छ । बेड अभावका कारण ७२ जना किड्नी बिरामी लाइनमा रहेको उनी बताउँछन् । ‘डायलासिसमात्रै होइन, आन्तरिक किचलोका कारण अन्य उपचारसमेत प्रभावित हुने गरेको छ ,’ उनले भने। 

३ सय १० बेडको अस्पतालमा व्यवस्थापकीय कमजोरीका बारेमा सरकारले छानबिन समिति गठन गर्नुपर्ने र सुधारका काम गर्नुपर्ने बिरामीको माग छ । 
 

 

प्रकाशित: १८ आश्विन २०७४ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App