८ वैशाख २०८१ शनिबार
समाज

इलाममा तीन कैदीको सजाय मिनाहा

इलाम- दसैंको अवसरमा सदरमुकामस्थित कारगार (सुधारगृह)का तीन कैदीको माफी मिनाहा भएको छ। माफी मिनाहा पाउने इलाम पञ्चकन्याका ५२ वर्षे वीरेन्द्र राई, ताप्लेजुङ आङ्खोपका ४७ वर्षे हर्कबहादुर बुढाथोकी र विराटनगरका २६ वर्षे  दीर्घराज गिरी छन्।

       तीनैजनालाई सोमबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेल र जेलर भक्तबहादुर खड्काले अबिर लगाएर बिदाइ गरे । प्रजिअ पोख्रेलले उनीहरू तीनैजनालाई फर्केर गइ घर–गाउँमा अप्ठ्यारो नमानी समायोजन हुन आग्रह गर्दै आइन्दा समाजसेवामा लाग्न पनि अनुरोध गरे ।

       ४० प्रतिशत कैद भुक्तान गरेर तोकिएको मापदण्ड पुर्‍याएका कैदीको कैद मिनाहा गरिएको हो । ‘४० प्रतिशत कैद भुक्तान गरी असल चालचलन, बानी व्यहोराजस्ता मापदण्ड पूरा गरेका कैदीहरूलाई सरकारको निर्णयअनुसार बिदा गरिएको हो,’ जेलर खड्काले भने । निश्चित मापदण्ड पुगेका कैदीलाई कारागारले सिफारिस गरेर कारागार व्यवस्थापन विभागमा माफी मिनाहाका लागि सिफारिस गर्छ।

       त्यही सिफारिसका आधारमा मन्त्रिपरिषद्को असोज २ को बैठकले कैद मिनाहाका लागि निर्णय गरेको हो । यो पटकको दसैंका लागि कारागारले इलामबाट १२ जनाको नाम सिफारिस गरेपनि ३ जनाको मात्रै कैद मिनाहा भएको छ । जेलकी कर्मचारी सिर्जना लुइँटेलले संविधान दिवस र बडादसैं एउटैजस्तो समयमा परेकाले दुवै अवसरमा सरकारले कैदीको कैद मिनाहा गरेको जानकारी दिइन्।

       पञ्चकन्याका राई कर्तव्य ज्यानमुद्दामा २०७० जेठ २० मा कैद परेका थिए । उनले असोज ४ सम्ममा ४ वर्ष ३ महिना १४ दिन (४२.८५ प्रतिशत) कैद भुक्तान गरेको कारागारले जनाएको छ । सर्वोच्च अदालतले उनलाई २०७३ असार १ मा १० वर्षको कैद सजाय सुनाएको थियो । आङ्खोपका बुढाथोकी कर्तव्य ज्यान मुद्दामै ०६६ भदौ २८ मा कैद परेका थिए । सर्वोच्चले उनलाई २०७३ मंसिर १९ मा २० वर्षको कैद सजाय सुनाएको थियो । उनले असोज ४ सम्ममा ८ वर्ष ८ दिन (४०.२२ प्रतिशत) कैद भुक्तान गरेका छन् ।

       विराटनगरका २६ वर्षे  दीर्घराज ज्यान मार्ने उद्योगमा २०७० चैत ९ मा ७ वर्षका लागि जेल परेका थिए । सर्वाेच्चले उनलाई २०७३ माघ २६ मा कैद सजाय सुनाएको थियो । असोज ४ सम्ममा उनले ३ वर्ष ५ महिना २५ दिन कैद भुक्तान गरेको कारागारले जनाएको छ ।

यस्तै सुधारगृहका रूपमा विकास गरिएको यो कारागारलाई दुई दाजुभाइले ४० हजार रुपैयाँको पुस्तक सोमबार नै निःशुल्क हस्तान्तरण गरेका छन् । इलाम नगरपालिकाकै पानीट्यांकी घर भएका दाजुभाइ भूपाल थापा र शिवराज थापाले कैदी–बन्दीलाई फुर्सदको समयमा उपयोगी हुनेखालका पुस्तक प्रदान गरेका हुन् ।

      

प्रकाशित: ९ आश्विन २०७४ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App