७ वैशाख २०८१ शुक्रबार
समाज

ओपिडी सेवा ठप्प हुँदा विरामीको विजोग

ओपिडी बन्द भएपछि बाटोमै अलपत्र परेकी उदयपुरकी जमुना राई र उनका आफन्त । तस्बिर : रोहित राई

धरान –  न्युरोको समस्या भोगिरहेकी जमुना राईको खास घर उदयपुर जिल्ला हो । उनलाई दाजुहरूले धरानमा राखेर उपचार गरिरहेका छन् । जमुना बेला बेला अचानक बेहोस हुने र लाटिने गर्छिन् । त्यस्तो हुँदा उनका आफन्त तत्काल नजिकैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्बन्धित डाक्टरलाई भेट्न ओपिडीमा लैजान्छन् ।

आइतबार बिहान पनि उनलाई त्यही समस्याले छोप्यो । हतारहतार उनका दाजुले बीपी प्रतिष्ठानको ओपिडीमा पुर्‍याए । तर, डाक्टर भेटिएनन् । उनीहरु के गर्ने कसो गर्ने भन्दै उनीहरू हतास भए । डाक्टर किन भेटिएनन् भन्ने पनि उनीहरूले भाउ पाएनन् । ‘बहिनीलाई समस्या देखिएर ओपिडी आएको, डाक्टरहरूको स्ट्राइक पो रहेछ । हामीजस्ता थुप्रै विरामी अलपत्र छन्,’ओपिडी भवन बाहिर सडक पेटीमा भेटिएका जमुनाका दाजु दिलकुमार राईले भने,‘अब बुझेर मात्र आउनुपर्ला जस्तो छ, समस्या अझै बढ्यो भने विराटनगरमा न्युरोतिर जान्छौं ।’ विरामीहरूले उपचार नपाएको अलपत्र परेकोभन्दै उनले दुःख पनि प्रकट गरे।

६५ वर्षीय वृद्धआमा घरको सिढीबाट लडेर खुट्टा भाचिएपछि मोरङ उर्लाबारीका दिनेश गिरीले शनिबार आमालाई बीपी ल्याए । डाक्टरहरूले आइतबार दाहिने खुट्टामा स्टिल लगाउने भनेर समय तोकेको थियो । तर, चिकित्सकहरुको स्ट्राइकले उनको आमाको खुट्टामा स्टिल हालिएन । ‘१० बजेको समय दिएको थियो, तर आज त बन्द छ भन्यो,’निराश हुदै गिरीले भने,‘सहुलियतमा उपचार पाइन्छ भनेर यहाँ आएको थियौं, तर धरै नै दुःख पाइयो।’

चिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु हुने गरेको घटना बढेको भन्दै सरकारले त्यसलाई नियन्त्रण गर्न मन्त्रीपरिषदले ऐन बनाउने निर्णय गरेपछि नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरको ओपिडी सेवा ठप्प परेको छ । संघको आह्वानमा ओपिडी सेवा ठप्प गरिदा उदयपुरकी जमुना र मोरङ, उर्लाबारीकी दिनेशकी आमा भैm सयौं विरामीहरू उपचार सेवाबाट वञ्चित छन् । सरकार र संघबीचमा सहमति नभए चिकित्सकहरुको आन्दोलन लम्बिने र सर्वसाधराणहरू थप मारमा पर्नेछन् । स्वास्थ्य उपचार सेवालाई संविधानले नागरिकको मौलिक हकअन्र्तगत राखेका छन् । तर, चिकित्सक संघको आह्वानले संविधानको खिल्लीमात्र उडाएको छैन, देशभरमा हजारौं सर्वसाधारण विरामीहरूले उपचार सेवा नपाएर थप पीडित बन्न पुगेका छन्। 

धरानस्थित बीपी प्रतिष्ठान पूर्व क्षेत्रभरिबाट बिरामी रिफर भई आउने स्वास्थ्य संस्था हो । यहाँ दैनिक २ हजार ५ सयको हाराहारीमा बिरामीहरू ओपिडी तथा आकस्मिक सेवा लिन आउने गरेको तथ्यांक छ । चिकित्सक संघले शुक्रबारबाटै ओपिडी सेवा ठप्प पारेपनि सबै नागरिकहरू त्यसबारे जानकार नहुँदा उपचार गराउन अस्पताल धाइरहेका छन् । टाढाबाट उपचार गराउन बीपी प्रतिष्ठान आएकाहरू डाक्टरहरू आन्दोलनमा भएको थाह पाएर निराश मात्र होइन, कोही त के गर्ने भनेर अलपत्र पनि पर्छन् । ‘श्रीमतीलाई ओपिडीमा फलोअपमा ल्याएर बिहानै आएको, डाक्टरहरुको बन्द रहेछ । थाहै भएन,’राजविराज ३ बाट बीपी आएका रुस्तभ शेखले भने,‘अब एकछिन विचार गर्छु, विराटनगरतिर पो जानुपर्ने हो कि के गर्ने हो ।’

ओपिडी सेवा ठप्प भएपछि पुर्जी पनि काटिदैन । बीपीमा चिकित्सकहरूभन्दा अघिदेखि नै कर्मचारीहरू पनि तलबवृद्धि, भ्रष्टचारको छानबिन लगायत माग राखेर धर्नामा छन् । बिरामीका आफन्तहरू टिकट काउन्टरबाट अनभिज्ञ हुदै फर्कन्छन्, र सेक्युरिटी गार्डसँग वास्तविकता बुझ्दै फर्कन्छन् । सुरक्षा गार्ड रुद्र बस्नेत भन्छन्,‘टाढाबाट आएका धेरै विरामीहरु त्यतिकै फर्किरहेका छन् । सबै मलाई के भएको भन्दै सोध्छन्, कुरा बुझाउदा बुझाउदा म पो हैरान छुँ ।’ आन्दोलनरत नेपाल चिकित्सक संघका धरान शाखा अध्यक्ष डा.मोहनचन्द्र रेग्मीले सरकार र संघबीचमा केन्द्रीय तहमा वार्ता भइरहेको र चाडै टुंगोमा पुग्नेमा आफुहरु आशावादी रहेको बताए । ओपिडी सेवा बन्द हुदा विरामीहरु धेरै मर्कामा परेको स्वीकार गर्दै उनले भने,‘विरामीहरुलाई निक्कै गाह्रो भएको छ, तर हामीले इर्मजेन्सीमा हेरिरहेका छौं, र जनशक्ति पनि त्यहाँ दोब्बार पारेका छौं ।’

प्रकाशित: ८ आश्विन २०७४ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App