१५ चैत्र २०८० बिहीबार
समाज

पीडित परिवारद्वारा क्षतिपूर्ति नपाएको गुनासो

रौतहट—गत साउन २१ गते एउटै खाल्टोमा चार बालिका डुबेर मृत्यु भएको घरपरिवारका आश्रितले अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरेका छन्। एक महिना बित्दा पनि सरकारले कुनै राहत उपलब्ध नगराउँदा पीडितहरु सरकारसित रुष्ट बनेका छन्।

गत साउन २१ गते गरुडा नगरपालिका ४ मा नयाँ सडक निर्माण गरिएको खाल्टोमा परी चार बालिकाको एक चिहान भएको थियो। चारजनै बालिकाको शवलाई सडकमा राखेर स्थानीयबासी तथा अभिभावकहरुले प्रदर्शन गरेका थिए। प्रदर्शन गरेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले काज किरिया खर्च भनी जनही पच्चीस हजार रुपैया उपलब्ध गराएका थिए।

चार बालिकाको अभिभावकलाई जनही पाँच लाख रुपैया उपलब्ध गराउने आश्वासन दिइएको थियो। काज किरिया खर्च उपलब्ध गराएदेखि सरकारले कुनै वास्ता नगरेको दुई बालिकाका अभिभावक राम एकबाल साहले बताएका छन् । सरकारले कुनै सहयोग नगरेको देख्दा स्थानीयबासीलाई पनि अचम्म लागेको छ।

साहका दुई छोरीहरु संगीता कुमारी साह र सुनिता कुमारी साहको खाल्टोमा डुबेर मृत्यु भएको थियो। मृत्युको पीडामै आएको बाढीको पानी घरमा पसेर हजारौँको क्षति पु¥यायो । एक साथ दोहोरो पीडा पर्दा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै मृत्यु भएकी दुई बालिकाकी आमा रामरति देवी साह आँसु चुहाउँछिन् । सरकारले कुनै वास्ता नगरेकोमा आफूलाई निकै दुःख लागेको भन्दै रुँदै रामरति भन्छिन् – ‘यस्तो पीडामा पनि सरकारले आफूलाई नहेरेर थप अन्याय गरेको छ ।’

अन्य दुई बालिकाका अभिभावकहरु पनि सरकारदेखि रुष्ट बनेका छन् । आश्वासन दिने तर पहुँच नभएकोलाई सरकारले वास्ता नै नगर्ने गरेको आरोप लगाएका छन्।

घटना लगत्तै बाढीले जिल्लाको सबै क्षेत्रलाई प्रभावित पारेपछि सबैको ध्यान तानेको थियो । सामान्य रुपमा केही राहत पीडित परिवारले पाए पनि सरकारले कुनै वास्ता नगरेको आरोप तिनैजना अभिभावकको रहेको छ ।

गत हप्ता रौतहट आएका वेला पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तर्फबाट जनही दश हजार रुपैया सहयोग गरेका थिए । प्रचण्डका साथमा रहेका सहरी विकास मन्त्री प्रभु साहले सरकारको तर्फबाट सहयोग गर्ने आश्वासन दिएको साह सम्झन्छन् । सबैतिरबाट आश्वासन मात्र आएको तर कतैबाट कुनै राहत वा सहयोग नआउँदा आफूहरु निराश भएको पीडित परिवारको भनाइ छ ।

प्रकाशित: २० भाद्र २०७४ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App