३१ असार २०७७ बुधबार
समाज

स्क्रब टाइफस र मौसमी रुघाखोकीबाट १६ को मृत्यु

रत्ननगर – नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी १६ जनाको मृत्यु भएको हो। एक हजार १४६ जनामा ती रोगको सङ्क्रमण भेटिएका छन्। 

गत माघदेखि आजसम्मको तथ्याङ्कबारे जानकारी दिँदै महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लालले मौसमी ज्वरोमध्ये पनि इन्फ्लुएन्जा ए को प्रकोप बढी देखिएको बताए। उनका अनुसार स्क्रब टाइफस नेपालका ३२ जिल्लामा देखिएको र ३०० जनामा रोगको सङ्क्रमण फेला परेको छ। 

स्क्रब टाइफसबाट स्याङ्जामा दुई र चितवनमा दुई जनाको मृत्यु भएको छ। नवलपरासी घर भएका दुई महिलाको चितवनमा उपचारका क्रममा साउन २२ र भदौ १० गते मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीको भनाइ छ। 

माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ। यो रोग मुसाको कानमा बस्ने गर्छ। नेपालमा २०७२ सालमा पहिलोपटक रोग देखापरेको थियो भने चितवनमा २०७३ सालमा देखिएको थियो। 

अघिल्लो वर्ष यहाँ मुसा र माइटमा गरिएको परीक्षणमा दुवैमा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भइसकेको छ। समयमै अस्पताल पुगेमा कुनै पनि रोगको ठूलो जोखिम भने नभएको चिकित्सकको भनाइ छ। 

मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने भएकाले काम गर्दा सावधानी अपनाउनुपर्ने र मुसा नियन्त्रणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन्। 

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ। 

यस्तै मौसमी रुघाखोकीबाट मृत्यु भएका १२ जनामध्ये सबैभन्दा बढी कास्कीका छन्। विभिन्न अस्पतालमा उपचार गरिएका कास्की घर भएका चार जनाको मौसमी रुघाकोकीबाट मृत्यु भएको तथ्याङ्क छ। 

यस्तै अन्य मृत्यु हुनेमा पाल्पाका दुई, स्याङ्जाका, बुटवल, ललितपुर र कास्कीका एक–एक तथा झापाका दुईजना बिरामीको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा लालले जानकारी दिए। 

उनका अनुसार पछिल्लो आठ महिनामा दुई हजार ५३१ जनाको परीक्षणमा ८४६ जनामा मौसमी रुघाखोकीको सङ्क्रमण भएको पाइएको छ। तीमध्ये १२ जनाको ज्यान गएको हो। दुई जनाको भारतमा उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना भने नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ। 

काठमाडौँको सुविधायुक्त अस्पतालमा उपचारका क्रममा अधिकांश बिरामीको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। 

चितवनको भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारीका अनुसार फ्लुमा ए पोजिटिभ भएका बिरामी बढी देखिएका छन् । उनीहरुमा ए एच १ एन १ को बढी जोखिम हुने गरेको उनी बताउँन्। यसलाई सर्वसाधारणले स्वाइनफ्लु भनेर चिन्ने गर्छन्। स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्ष्यण हुन्छ। 

ज्वरो रुघाखोकी आएर दुई–तीन दिनमा ठीक नभए विशेषज्ञ चिकित्सक भएको असपतालमा उपचार गराउनुपर्ने सुझाव चिकित्सकको छ। 

ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता पैदा हुने गरेको इपिडिमियोलोजी शाखा प्रमुख डा गुणनिधि शर्मा बताउँछन्। दुवै रोगको बढी सङ्क्रमण भने चितवनमै छ। आजसम्म चितवनमा स्क्रब टाइफसबाट १३९ र मौसमी रुघाकोकीबाट ३०९ जनामा सङ्क्रमण फेला परिसकेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। 

पन्ध्र जिल्लाका चौबीस जनामा डेङ्गु सङ्क्रमण 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका १५ जिल्लामा डेङ्गु रोग देखिएको छ। जसमा २४ जना सङ्क्रमित भएको र अहिलेसम्म मानवीय जोखिम भने भएको छैन्। बढी डेङ्गु सङ्क्रमण फेला परेका जिल्लामा चितवनमा चार र दाङमा चारजना छन्। 

पूर्वी झापादेखि पश्चिम अछामसम्मका १५ जिल्लामा डेङ्गु पाइएको महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा विवेककुमार लाल बताउँछन्। एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामखुट्टे फालिएका र खुला भाँडाकुँडामा जमेको पानीमा फुल पारेर बच्चा बनाउने गर्छ। त्यसैले घरवरपर सरसफाइ गरी पानी जम्न नदिई लामखुट्टेबाट बचेमा रोग नलाग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखा प्रमुख डा गुणनिधि शर्मा बताउँछन्। नारायण ढुंगाना /रासस 

प्रकाशित: १९ भाद्र २०७४ १९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App