१६ चैत्र २०८० शुक्रबार
समाज

क्षतिग्रस्त विद्यालय : दुई वर्षमा २ हजार बने, ६ हजार बाँकी

काठमाडौं- भूकम्प गएको २८ महिना बितिसक्दा हालसम्म सरकारी तथा दाताको सहयोगमा दुई हजार चार सय ५९ विद्यालयको मात्र पुनर्निर्माण सम्पन्न भएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट ३१ जिल्लाका आठ हजार चार सय ११ विद्यालय पूर्ण रूपमा क्षति भएकामा विद्यालय व्यवस्थापन समितिमार्फत ०७२÷०७३ र ०७३÷०७४ मा एक हजार पाँच सय ५० विद्यालय निर्माण सम्पन्न भएका छन् भने एक सय ८० गैर सरकारी संस्थाहरूले नौ सय छ विद्यालयको निर्माण सम्पन्न गरेका छन् ।

३१ जिल्लाका ८ हजार ४ क्षतिग्रस्त विद्यालयमा २४ सयको निर्माण सम्पन्न भएको छ । १ सय ८० गैर सरकारी संस्थाले ९ सय विद्यालय निर्माण गरे पनि ती विद्यालय पूर्णरूपमा सञ्चालन गर्ने अवस्थामा नरहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

शिक्षा मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपिआइयू) का अनुसार गैर सरकारी संस्थाले ५.५ अर्ब अनुमानित बजेटमा एक हजार चार सय ६० विद्यालय निर्माणको जिम्मा लिएका थिए । गैससले निमार्ण गरेका विद्यालय पूर्णरूपमा सञ्चालन गर्ने अवस्थामा नरहेकाले थप लगानी गर्नुपर्ने अवस्था रहेको  सिएलपिआइयूको तथ्यांकमा उल्लेख छ ।

सरकारी स्रोतमा निर्माण हुने विद्यालयका लागि पहिलो चरणमा शिक्षा विभागमार्फत चार अर्ब र दोस्रो चरणमा पुनःनिर्माण प्राधिकरणमार्फत चार अर्ब रकम छुट्याइएको थियो । उक्त बजेटबाट पहिलो चरणमा एक हजार दुई सय विद्यालयको निर्माण सम्पन्न भएको छ भने दोस्रो चरणमा तीन सय ५० विद्यालय पुनर्निर्माण भएका छन् । दोस्रो चरणमा सरकारी स्रोतबाट एक हजार १८ विद्यालय पुनर्निर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो ।

सरकारी स्रोतबाट निर्माण सम्पन्न भएका विद्यालय पनि तत्कालै सञ्चालनका लागि तयार नरहेकाले ती विद्यालयका लागि पनि थप लगानीको आवश्यकता रहेको सिएलपिआइयूले जनाएको छ ।

भूकम्पले पूर्णरूपमा क्षति पुगेका ३१ जिल्लाका विद्यालय निर्माणका लागि हालसम्म स्रोत सुनिश्चित भई ३९ अर्ब ३१ करोड रुपैयाँ कार्यान्वयनमा गएको छ । त्यसमध्ये एडिबी ऋण (इइएपी) ८.६ अर्ब, जाइका ऋण (इएसआरपी) ११.४ अर्ब, युएसआइडी अनुदान एक अर्ब, जेएफपिआर अनुदान ८० करोड, नेपाल सरकारको ०७२÷०७३ मा चार अर्ब, नेपाल सरकार ०७३÷०७४ मा चार अर्ब तथा नेपाल सरकार (शिक्षा विभाग)  ०७३÷०७४ २.२८ अर्ब रहेको छ । त्यस्तै, गैर सरकारी संस्थाका तर्फबाट ५.५ अर्ब, चीन सरकारको २.२३ अर्ब रहेको सिएलपिआइयूले जनाएको छ । कार्यान्वयनमा गएको रकममार्फत चार हजार एक सय ८० विद्यालय निर्माणको लक्ष्य राखिएको छ ।

विद्यालय पुनर्निर्माणका लागि दाताबाट प्रस्तावित स्रोतमा भारत सरकारको अनुदान ५ अर्ब, भारत सरकारको ऋण (लाइन अफ क्रेडिट) १५ अर्ब, एडिबी ऋण १०.६ अर्ब तथा युएसआइडी अनुदान एक अर्ब गरी ३१.६ अर्ब रुपैयाँ रहेको छ । यो रकमबाट पाँच सय ८९ विद्यालय पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ ।

भूकम्पले क्षति पुगेका विद्यालयको पुनर्निर्माणका लागि आवश्यक अनुमानित रकम एक खर्ब ६७ अर्ब भए पनि हाल उपलब्ध र प्रस्तावित स्रोत भने ७०.९१ अर्ब रहेको छ । स्रोत पहिचान हुन बाँकी रकम ९६.०९ अर्ब रकमबाट पुनर्निर्माण गर्नुपर्ने विद्यालयको संख्या पाँच हजार चार सय ४२ रहेको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइले विद्यालय पुनर्निर्माणका लागि प्राविधिक जनशक्तिको कमी रहेको, बजेट अभाव, निर्माण सामग्रीको अभाव, सरोकारवाला निकायकाबीच समन्वय अभावलगायतका चुनौती रहेको जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा विद्यालय पुनर्निर्माणका लागि सरकारले अति प्रभावित १४ जिल्लामा उपसचिव तहका अधिकारी खटाइएको र बाँकी १७ जिल्लामा सम्बन्धित जिल्लाका शिक्षा अधिकारीलाई जिम्मा दिइएको छ ।

प्रकाशित: १८ भाद्र २०७४ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App