८ वैशाख २०८१ शनिबार
समाज

भूकम्पपीडितको व्यथा : पीडित तीन हजार, अनुदान दुई सयलाई मात्रै

भक्तपुर- भक्तपुरमा भूकम्पपीडितको पहिचान भएका २७ हजार पाँच सय ६६ घर मध्ये हालसम्म दुई सय ६६ परिवारले मात्रै दोस्रो किस्ताको राहत पाएका छन् । भूकम्पीय आवास पुननिर्माण परियोजना भक्तपुरको तथ्यांकअनुसार राष्ट्रिय पुननिर्माण प्राधिकरण सिंहदरवार काठमाडौंले गुनासो दर्ता गर्ने व्यवस्थापछि हालसम्म २७ हजार पाँच सय ६६ भूकम्पपीडितको पहिचान भएका छन् । परियोजनाको तथ्यांकअनुसार गुनासो दर्ता गर्न पाउने व्यवस्था अघिसम्म दुई हजार ६ सय ६६ परिवारको पहिचान भएको थियो ।

परियोजनाका सूचना व्यवस्थापन विशेषज्ञ भोजराज भट्टका अनुसार २७ हजार पाँच सय ६६ पीडित परिवारमध्ये पहिलो किस्ता पाउनका लागि २१ हजार सात सय ३६ जनाले सम्झौता गरेका थिए । सम्झौता मध्ये २१ हजार तीन सय ९९ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् । उनका अनुसार दोस्रो किस्ताका लागि भने एक हजार चार सय ७१ जनाले मात्रै निर्माण कार्य सुरु गरी दोस्रो किस्ताका लागि सम्झौता गरेका थिए । ती मध्ये हालसम्म दुई सय ६६ पीडित परिवारले दोस्रो किस्ताको रकम पाइसकेका छन् ।

‘थप दुई सय १८ परिवारले एकदुई दिनभित्रै दोस्रो किस्ताको रकम पाउने छन्,’ उनले भने । भूकम्पले घर भत्केका परिवारलाई तीन किस्ता गरेर तीन लाख रुपैयाँ अनुदान दिने सरकारी योजना छ । पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो तथा अन्तिममा एक लाख गरी कुल तीन लाख रुपैयाँ अनुदान सहयोग गर्ने सरकारी योजना छ ।

पहिलो चरण पाउनका लागि घर निर्माणको काम सुरु गर्नुपर्ने, दोस्रो चरणको किस्ता पाउनका लागि टाइविमभन्दा माथि आइसक्नुपर्ने र तेस्रो किस्ताका लागि निर्माण सम्पन्न गरिसक्नुपर्ने सरकारी शर्त छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति भक्तपुरले भने सकेसम्म यथासक्य पीडितलाई अनुदान सम्झौता गराउने योजना रहेको जनाएको छ । तर पीडितहरूले भने सरकारले दिएको अनुदान पाउन नसकेको जनाएका छन् । सरकारी मापदण्ड पूरा गराउन नसक्ने भएकाले अनुदान पाउनबाट आपूmहरू वञ्चित रहेको उनीहरूको भनाइ छ । ‘आफ्नो घर एक आनाभन्दा कममा बनाउनपर्छ, यस्तो अवस्थामा मापदण्ड कसरी पूरा गर्ने,’ एक पीडित रामबहादुर गोर्खालीले भने ।

भूकम्पले अति प्रभावित जिल्लामध्येको भक्तपुरमा भक्तपुर नगरपालिका क्षेत्रका घर सबैभन्दा बढी प्रभावित भएका थिए । नगरपालिकाको तथ्यांकअनुसार भक्तपुर नगरभित्र मात्रै सात हजार चार सय ३७ पीडित छन् । तिनीहरूमध्ये चार हजार नौ सय ५५ परिवारले मात्रै पहिलो किस्ताको रकम पाएका छन् । दोस्रो किस्ता पाउनका लागि पाँच सय १८ परिवारमध्ये एक सय ६७ जनाको मात्रै सिफारिस भएको छ ।

प्रकाशित: १८ भाद्र २०७४ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App