२५ असार २०७७ बिहीबार
समाज

नारायणगढ–मुग्लिन सडक भासियो,  दिनभर यातायात अवरुद्ध हुने

फाइल फोटो

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ। 

नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ । एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उनले बताए। 

सडक भासिएका ठाउँका सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो। 

सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ। 

सो सडकको पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध भएको हो । जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक÷एक स्थानमा पहिरो खसेको थियो । आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ। केही समयमा जलबिरेको पहिरो पनि पन्छाइसकिने उनले बताए। खोलाबाट लेदो झरेकाले सो ठाउँमा सडक अवरुद्ध भएको हो। 

पहिरोको जोखिमका कारण साउन अन्तिम साताबाट रातको समयमा सवारी आवागमन रोकिँदै आएका थिए । पहिरो खसेपछि हिजो साँझबाट सडकमा रोकिएका सवारीसाधन अलपत्र परेका छन् । रासस 

प्रकाशित: १५ भाद्र २०७४ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App