८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

हावाहुरीले मकै बाली नष्ट

हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ। घोगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौं रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो।

वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मर लगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रूपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले बताए। शनिबार राति र आइतबार बिहान आएको हुरीले मकै बालीमा क्षति पुगेको उनको भनाइ छ।

सात सय रोपनीमा लगाएको मकै कामै नलाग्ने गरी ढलेपछि किसानले ५० लाख रुपैयाँभन्दा बढीको क्षति बेहोर्नुपरेको उनले बताए।

किसानले हावाहुरीले मकै नष्ट गरेको जानकारी गराएपछि गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, उपाध्यक्ष हिराकुमारी छन्त्याल र प्राविधिकको टोली बारीमै पुगेर क्षतिको विवरण लिएको उनको भनाइ छ। मकै ब्लकमा समेत हुरीले ठूलो क्षति पुर्‍याएको उनले बताए। दाना लाग्ने बेलामा मकै ढलेको हुँदा अब फल नदिने शाखा प्रमुख पराजुली बताउँछन्।

‘किसानको बारीमा पुग्दा कुनै पनि मकैका बोट ठाडो देखिंदैनन्, सबै ढलेर कामै नलाग्ने भएका छन्, अब ती ढलेका मकैका बोटबाट किसानले एउटा गेडा पनि उत्पादन गर्न सक्ने अवस्था छैन, गेडा हालिसकेको भए, केही उत्पादन हुने सम्भावना हुन्थ्यो, अहिले ठ्याक्क घोगामा गेडा हाल्ने समय भएको थियो’, शाखा प्रमुख पराजुलीले भने, ‘अहिले प्रारम्भिक विवरण लिएका छौं, प्रारम्भिक विवरणमा झन्डै ५० लाख रुपैयाँ नोक्सानी भएको अनुमान छ, केही दिनमै पूरै विवरण आउने छ, त्यसमा अलि बढ्ने सम्भावना देखिन्छ, किसानले धेरै ठाउँमा मकै ढलेको बताएका छन्।’

उनले अहिलेसम्म यहाँका किसानले कृषि बीमा नगरेको बताए। बीमा गरेको भए केही सहुलियत मिल्ने पराजुलीको भनाइ छ। यस वर्षदेखि किसानलाई कृषि बीमाको दायरामा ल्याउने तयारी गरिरहेको उनी बताउँछन्। यहाँका अधिकांश किसानले रैथाने जातका मकै लगाएको पराजुलीले बताए।

तमान खोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले यस क्षेत्रमा हावाहुरीले अहिलेसम्मकै ठूलो क्षति पुर्‍याएको बताए।

किसानले जानकारी गराएपछि बारीमै पुगेर क्षतिका बारेमा बुझेको भन्दै पीडित बनेका किसानलाई पालिकाबाट राहतको व्यवस्था गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ। सबै वडामा प्राविधिक खटाएर सबै क्षतिको विवरण ल्याएर सोही अनुसार राहतबारे प्रदेश र केन्द्र सरकारसँग पनि माग गर्ने बताए।

‘हावाहुरीले किसानले लगाएको मकै बालीमा ठूलो क्षति पुगेको छ, फल्ने बेलाको मकै ढलेर सोत्तर बनेपछि किसानका आँखा आँसुले भरिएका छन्, उनीहरूको त्यो पीडामा मलम लगाउने प्रयास हामी गर्ने छौं’, अध्यक्ष बुढा मगरले भने, ‘अहिले सामान्य विवरण आएको छ, सबै विवरण आएपछि कुन किसनाको कति क्षति भएको छ, त्यस आधारमा पालिकाबाट हुने राहतको व्यवस्था गर्छौं र अन्य नियकाबाट हुने सहयोगका बारेमा पनि हामी पहल गर्छौं।’

वर्षा र हावाहुरीले मकैका सबै बोट भाँचिएपछि भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन्। जिल्लाको मुख्य खाद्य बालीको रूपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान छ। हरेक वर्ष मकै बालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको छ।

तमानखोलाको मकै जोन क्षेत्र भए पनि अघिल्लो वर्ष मकैको बीउ फरक पर्दा उत्पादनमा निकै गिरावट आएको थियो। यसपालिको हुरीले वर्षभरिको छाक खोसिदिएको स्थानीय किसान खिमबहादुर छन्त्यालले बताए।

उनले भने, ‘पोहोरपरार साल बारीमा राम्रो मकै उत्पादन हुन्थ्यो र पनि वर्षभरि खान पुग्दैनथ्यो, अहिले त एक पाथी पनि फल्न नपाउँदै हुरीले मकै बारीभरि लडाइदियो, एउटा पनि बारीको मकै ठाडो छैन, सबै ढलेका छन्, कति दुःख गरेर खेती गरेको, एकैछिनको हावाहुरीले यस्तो बनाइदियो, अब के खाएर वर्ष गुर्जाने हो?’

प्रकाशित: १८ भाद्र २०८० ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App