७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्पले भत्काएको रसुवा जिल्ला अस्पताल २७ महिनादेखि टेन्टमा

टेन्टभित्र दाँतको उपचार गर्दै रसुवा जिल्ला अस्पतालका चिकित्सक। तस्विरः हिमनाथ

रसुवा— महाभूकम्पले भत्काएको जिल्ला अस्पताल पुनःनिर्माण हुन नसक्दा २७ महिनादेखि टेन्टमै सञ्चालन भइरहेको छ। सदरमुकाम धुन्चेस्थित जिल्लाको एक मात्र अस्पताल समयमै पुनर्निर्माण हुन नसक्दा २७ टेन्टमा सीमित भएको हो। 

जिल्ला अस्पताल निर्माणकोे जिम्मेवारी नेपाल रेडक्रस सोसाइटीले लिएको थियो। अस्पताल भवन निर्माणको जिम्मेवारी लिएको रेडक्रसले भवन निर्माणको काम अझै पूरा गरेको छैन। पूर्व सम्झौताअनुसार गत असार मसान्तमा नै अस्पताल निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने हुन्थ्यो। समयमै भवन निर्माण नसकिँदा बिरामी तथा स्वास्थ्यकर्मीले सास्ती खेप्न बाध्य भएका छन्।

आवश्यक भौतिक संरचनाको अभावमा स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न समेत समस्या भएको उनको भनाइ छ। संरचनाको अभावले विशेषगरी सुत्केरी सेवा, दन्त स्वास्थ्य सेवा र एक्सरे सेवामा समस्या भएको छ। 

सोसाइटीले मंसिरदेखि ४ करोड २४ लाखको लागतमा निर्माण कार्य सुरु गरेको होे। निर्माणाधीन भवनमा अस्पतालको लागि १५ कोठा र कर्मचारीका लागि चार निवास निर्माणाधीन छन्। 

अस्पतालको निर्माण कार्य नियमित रुपमा भैरहे पनि सामग्री ढुवानी र बाटोको समस्याका कारणले निर्माण कार्य केही ढिलो हुन पुगेको नेपाल रेडक्रस रसुवाका सभापति बाबुलाल तामाङ बताउँछन्।  ‘भवन निर्माण भैरहेको छ, नियमित रुपमा अनुगमन पनि गरिरहेका छौं। समयमै हस्तान्तरण गर्न पाए हुन्थ्यो भन्ने हाम्रो पनि चाहना हो तर ठेकेदारले ढिलाई गर्दा समस्या उत्पन्न भएको छ’, उनले भने। 

भवन अभाव हुँदा अस्पतालले प्रदान गर्ने सम्पूर्ण सेवा प्रभावित छ। बिरामीलाई राख्ने ठाउँको अभाव छ । दुई वर्षसम्मको घामपानीले टेन्ट कुहिँदै गएका छन्। वर्षाको समयमा पानी चुहिने समस्याका कारण स्वास्थ्यकर्मी छाता ओढेर बिरामीलाई प्लाष्टिक ओढाएर सेवा प्रदान गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा.झलक गौतम बताउँछन्। 

आवश्यक भौतिक संरचनाको अभावमा स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न समेत समस्या भएको उनको भनाइ छ। संरचनाको अभावले विशेषगरी सुत्केरी सेवा, दन्त स्वास्थ्य सेवा र एक्सरे सेवामा समस्या भएको छ। 

टेन्टमा सुत्केरी गराउँदा सुत्केरीको गोपनीयता कायम राख्न र भर्खरै जन्मेको नवजात शिशुलाई चिसोबाट जोगाउन समस्या परेको डा. गौतमले बताए। रसुवाको माथिल्लो क्षेत्रमा असोज मसान्तबाट जाडो सुरु हुन्छ। जाडो सुरु भएपछि स्वास्थ्य सेवा प्रवाह गर्न समस्या हुने गरेको छ। जाडोको समयमा बिरामी बढ्ने भए पनि अस्पताल पुगेका बिरामी समेत अस्पतालमा भर्ना हुन नमानेर घर फर्कने स्थिति छ। 

जाडोको कारण बिरामी अस्पतालमा भर्ना हुन डराउनुपर्ने अवस्था छ। गत वर्ष जाडो मौसममा बिरामी अस्पताल आउन नमानेको डा.गौतमले सुनाए। ‘जाडो मौसममा हामीसँग विशेष व्यवस्था छैन। टेन्टमा बस्नु परेपछि बिरामी आउन मान्दैनन्’, डा. गौतमले भने। अहिले भएको पुनर्निर्माणको गतिअनुसार यो वर्षभित्र पनि अस्पतालको भवन निर्माण सकिने छाँट छैन। 

२५ शैयाको जिल्ला अस्पतालमा दैनिक ५० भन्दा बढी बिरामी जाने आउँछन्। जिल्लाभरिका बिरामीका लागि जिल्ला अस्पताल सबैभन्दा ठूलो अस्पताल हो।  ‘टेन्टमा बसेर सेवा प्रवाह गर्न कठिन छ। कतिपय अवस्थामा निर्माणाधीन भवनको तल बसेरै सेवा प्रवाह गरिरहेका छौं’, डा. गौतमले भने। जिल्लाभरि यो एउटा अस्पताल मात्र सञ्चालनमा छ। जिल्लाको तल्लोे क्षेत्रको स्वास्थ्यलाई मध्यनजर गर्दै खोलिएको कालिका सामुदायिक अस्पताल व्यवस्थापनको अभावमा बन्द छ। रसुवामा अन्य अस्पताल छैनन्। 

जिल्लामा भूकम्पले भत्किएका स्वास्थ्य संस्था निर्माणका लागि सेभ द चिल्ड्रेन, करुणा फाउण्डेसन, नेपाल रेडक्रस सोसाइटी र माथिल्लो त्रिसुली थ्री एले पुनर्निर्माणको जिम्मेवारी लिएका थिए। करुणा फाउण्डेसनले निर्माणको जिम्मा पाएको लाङटाङ स्वास्थ्य चौकी दुई वर्षसम्म निर्माण सुरु गर्न नसकेपछि स्वास्थ्य मन्त्रालयले उसलाई जिम्मेवारीबाट हटाएको छ।

प्रिफ्याव भवन बनाउने भनेपनि फाउण्डेसनले निर्माण सुरु गर्न नसकेपछि मन्त्रालयले लाङटाङमा स्थायी भवन बनाउने काम सुरु गरेको हो। 

जिल्ला अस्पतालका थप तस्विर

 

टेन्टभित्र दाँतको उपचार गर्दै रसुवा जिल्ला अस्पतालका चिकित्सक। तस्विरः हिमनाथ
टेन्टभित्र दाँतको उपचार गर्दै रसुवा जिल्ला अस्पतालका चिकित्सक। तस्विरः हिमनाथ
टेन्टभित्र दाँतको उपचार गर्दै रसुवा जिल्ला अस्पतालका चिकित्सक। तस्विरः हिमनाथ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App