१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल बनाउने

ललितपुर महानगरले कुसुन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको आकाशे पुल निर्माण गर्ने भएको छ। अत्याधुनिक उक्त आकाशे पुल अपांगमैत्री हुने महानगरले जनाएको छ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महानगरले निर्माण गर्ने यो पुल उपत्यकाकै पहिलो भएको दाबी गरे। ‘आकाशे पुल त धेरै छन् तर ती अपांग तथा ज्येष्ठ नागरिकमैत्री छैनन्, उनले भने, ‘बिरामी, अशक्तले प्रयोग गर्न सक्ने यो पुल सम्भवत देशकै नमुना हुनेछ।’

सडक विभागले अघिल्लो आइतबार ललितपुर महानगरलाई पैदलयात्रुका लागि सडक वारपार गर्न आकाशे पुल निर्माणका लागि स्वीकृति दिएसँगै पुल निर्माणको बाटो खुलेको हो। ललितपुर महानगरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक वर्षअघि उक्त स्थानमा पुल निर्माण गर्न सहमति माग्दै पत्राचार गरेको थियो। महानगरले केही दिनमै आकाशे पुल निर्माणका लागि टेण्डर आह्वान गर्ने जनाएको छ।

नगरपालिका प्रमुख महर्जनले उक्त स्थानमा सडक वारपार गर्न आकाशे पुल अत्यावश्यक भएको बताए। ‘यो स्थान सुरक्षाका दृष्टिले अति नै जोखिमपूर्ण छ,’ उनल भने, ‘गएको एक वर्षमा छजनाले ज्यान गुमाइसकेका छन्।’

आकाशे पुल त धेरै छन् तर ती अपांग तथा ज्येष्ठ नागरिकमैत्री छैनन्। बिरामी, अशक्तले समेत सजिलै प्रयोग गर्न सक्ने यो पुल सम्भवत देशकै नमुना हुनेछ।

-चिरीबाबु महर्जन प्रमुख, ललितपुर महानगरपालिका

कुसुन्तीको यातायात व्यवस्था कार्यालय नजिकैको चक्रपथमा यो पुल निर्माण गरिनेछ। ढिलै भए पनि आकाशे पुल निर्माणका लागि स्वीकृति दिएको प्रमुख महर्जनले बताए। आधुनिक शौचालयको समेत व्यवस्था हुने यो पुल टफन ग्लासबाट निर्माण गरिनेछ।

पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ महानगरका इन्जिनियर श्रीकुमार महर्जनले प्राविधिक दृष्टिले कुसुन्तीमा निर्माण हुने पुल अब्बल हुने बताए। करिब चार करोड बराबरको लागत अनुमान रहेको यो पुल दुई वर्षभित्र निर्माण सम्पन्न हुने महर्जनले जानकारी दिए।  

प्रकाशित: १७ भाद्र २०८० ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App