६ वैशाख २०८१ बिहीबार
समाज

सिस्नुपानीका कलाकारहरुले बाँडे बाढी पीडितलाई राहत

रौतहट- सिस्नुपानी नेपालका कलाकारहरुले रौतहटका बाढी पीडितहरुलाई राहत बाँडेका छन्। विहीबार र  शुक्रवार सिस्नुपानीका कलाकारहरुले रौतहटका बाढी पीडितहरुलाई राहत बाँडेका हुन्।

कलाकार तथा हास्यव्यंग्य लेखक मनोज गजुरेलको नेतृत्वमा आएको बागमती सफाइ अभियानका हेमराज कार्की, शंकर आचार्य, रमेश बराल लगायतका कलाकारहरुले भाँडावर्तन, कपडा, कार्पेट तथा राहतका अन्य सामग्रीहरु वितरण गरे।

बाढी पीडितहरुलाई चामल, दाल, तरकारी लगायतका सामग्री विभिन्न क्षेत्रबाट प्राप्त भइरहेको तथा रहन र बस्नको लागि धुर्मुस–सुन्तलीले बन्दोबस्तीको सामग्री प्रदान गरिसकेपछि बाढी पीडितलाई खाना पकाउने भाँडा लगायतको सामग्रीहरुको आवश्यकता रहेकोले फरक किसिमको सामग्री प्रदान गरिएको कलाकार गजुरेलले बताएका छन्। विहीबार र शुक्रबार गरी गजुरेलले बडहर्वा, गौर, सबगढा लगायतका एक दर्जनभन्दा बढी गाउँका छ सय परिवारलाई राहत प्रदान गरेका छन्।

कलाकारहरु राहत बाँड्न आउने भएपछि बाढी पीडितका साथै अन्य समुदायको पनि भीड लागेको थियो। भीडलाई नियन्त्रण गर्न स्थानीयबासी तथा प्रहरीलाई पनि गाह्रो भएको थियो । सिस्नुपानी नेपाल, पाठशाला नेपाल, हलेची डेकोर र विश्राम सेवा सदनले होटल तथा पर्यटन व्यावसायी महासंघ प्रदेश नम्बर २ को सहकार्यमा राहत संकलन गरिएको कलाकार गजुरेलले बताएका छन्।

रौतहटका केही गाउँका बाढी पीडितहरुलाई कलाकार गजुरेलले सदरमुकाममै राहत बाँडेका छन् । अझै पनि धेरै गाउँमा राहत लिएर जान सम्भव नभएको र गाउँमा पुग्दा वास्तविक पीडितभन्दा पीडित नभएकाहरुकै हालीमुहाली हुने भएकोले सुरक्षितस्थानमा पीडितलाई राहत प्रदान गरिएको गजुरेलले बताए । रौतहटका बाढी पीडितहरुलाई विभिन्न समुदाय तथा संघ संस्थाहरुबाट राहत आउने क्रम जारी रहेको छ । अत्यन्त पीडामा परेकालाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको कलाकार गजुरेलले बताएका छन् ।

प्रकाशित: ९ भाद्र २०७४ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App