१५ चैत्र २०८० बिहीबार
समाज

तीन छोरी गुमाएका कमिलाल भन्छन्- ‘बाढीले कोखै रित्याइदियो'

बैजापुर (बाँके)- बाढीले भत्काएका घर पुनर्निर्माणमा छिमेकी जुटिसकेका छन्।  कमिलाल थारू भने शोकमै छन्। बाढीले कोखै रित्याइदिएपछि उनकी ३२ वर्षीया पत्नी फूलकुमारी विछिप्त जस्तै बनेकी छिन्। कमिलाल भत्केको घरको वरिपरि टोलाएर बसिरहन्छन्।

बाढीमा तीन छोरी गुमाएका कमिलाल थारू भन्छन्– बाढीले हाम्रो कोख नै रित्याइदियो, यस्तो अरु कसैलाई पनि नहोस्।

‘श्रीमतीलाई दिदीसासूको घरमा राखेको छु, मचाहिँ भत्केको घरको यताउता गरिरहन्छु,' ३६ वर्षीय कमिलालले नागरिकसँग भने, ‘छिमेकीले घरभित्र पुरिएका सामान निकाल्न थालिसके, मैले त आँट्न सकेको छैन, भत्केको घर हेर्दा पनि मन रुन्छ।'

असार ९ गते उनकी १३ महिनाकी छोरीको बिरामी परेर मृत्यु भएको थियो। त्यसको पीडा भुल्न नपाउँदै साउन अन्तिम साताको बाढीले उनका भएका अरु सन्तान पनि खाइदियो। राति बस्ती पसेको बाढीले उनको घर भत्काइदियो। कक्षा ६ मा पढ्ने उनकी जेठी छोरी अन्जु, कक्षा ४ मा पढ्ने माइली छोरी सरिता र कक्षा २ मा पढ्ने साइली छोरी सुस्मिताको ज्यान गयो।

राप्तीसोनारी गाउँपालिका–४, लालपुरमा साउन अन्तिम साताको शुक्रबार राति १ बजेतिर राप्तीको बाढी पसेर वितण्डा मच्यायो। छोरीको शिक्षादीक्षा र परिवारको खर्च टार्न कमिलाल ज्याला मजदुरी गर्न पोखरा गएका थिए। साउन १८ गते श्रीमती फूलकुमारीलाई घरको जिम्मा लगाएर उनी गाउँका साथीसँग कामका लागि पोखरा गएका थिए। गाउँमा बाढी पसेको  शनिबार बिहान ४ बजेतिर उनले थाहा पाए। ‘बिहान ४ बजेतिर साथीको फोनबाट खबर पाएँ, घरमा सबै छोरी पुरिएको सुनेपछि छागाबाट खसेझै भए,' कमिलालले गहभरि आँसु झार्दै भने।

उन गाउँ फर्किंदा घरको अवशेष मात्र बाँकी थियो। बस्ती बाढीको पानीले ढाकेको थियो। ‘म गाउँ पुग्दा श्रीमतीलाई दिदीसासूको घरमा लगिसकेका रहेछन, तीन छोरीको दाहसंस्कार गरिसकेका कारण मैले मुख देख्नै पाइन्,' उनले भक्कानिँदै भने।

बाढीले घर डुबाएपछि फूलकुमारीले छिमेकीसँग गुहार मागे पनि कसैले सुनेनन्। कमिलालले थपे, ‘सायद म घरमा हुन्थें भने तीन छोरीको ज्यान जोगाउन सक्थें होला, घर छाडेकोमा मलाई पछुतो छ, बाढीले हाम्रो कोख नै रित्याइदियो, यस्तो अरु कसैलाई पनि नहोस्।'

   बाढीले लालपुरका धेरैजसो घर ध्वस्त भएका छन्। राप्ती नदीले गाउँनजिकै कटान तीव्र पारेकाले बाढीको थप जोखिम बढेको छ। सरकारले हरेक वर्ष पीडित परिवारलाई राहत वितरण गर्नुभन्दा सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गरिदिनुपर्ने उनी बताउँछन्। कमिलाललाई एकातिर बाढीले आफ्नो कोखै रित्याइदिएको पीडा छ भने अर्कोतिर भत्केको घर कसरी ठड्याउने भन्ने चिन्ता छ। सम्पत्तिको नाममा उनीसँग २ कठ्ठा जमिन मात्र छ। काम नगरेर वर्षभर खान पुग्दैन। बाढीले भत्काइदिएको घर पनि एक्लो प्रयासले बनाउने आँट उनको छैन।

   सरकारले कमिलाललाई राहतस्वरुप ६ लाख रुपैयाँ उपलब्ध गराएको छ। केही दिनअघि बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवाले कमिलाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए। ‘कसैको ज्यानलाई पैसासँग तुलना गर्न मिल्दैन, पीडितलाई राहत बाँड्नुभन्दा सरकारले कतै राम्रो बासको व्यवस्था गरिदिनुपर्छ।' सुरक्षित ठाउँमा बसोबासको व्यवस्था गरिदिए फेरि कसैले अकालमा ज्यान गुमाउनुनपर्ने उनको भनाइ छ।

प्रकाशित: ४ भाद्र २०७४ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App