८ वैशाख २०८१ शनिबार
समाज

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

बगाहाबाट सौराहा ल्याएर छाडेको गैंडा। तस्बिर सौजन्य : ईश्वर जोशी।

चितवन- बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको थियो।

सौराहा नजिक ल्याएर गैंडालाई निकुञ्जको जंगलमा छाडेको चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले जानकारी दिए। सो गैंडा लगभग तीन वर्षको पोथी भएको उनले बताए। गैंडा लिन निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालसहितको टोली गएको थियो। बाढीमा बग्दै मान्व वस्तीमा पुगेका कारण गैंडालाई तत्कालै ल्याउनु परेको अधिकारीहरुले बताएका छन्।

गैंडालाई बेहास बनाएर समाएपछि खोरमा राखिएको थियो। सो खोरलाई ट्रकमा राखेर बगाहाबाट सौराहासम्म ल्याइएको हो। चितवन निकुञ्ज हुँदै राप्ती र नारायणी नदी बग्छन्। अघिल्लो शुक्रबार लगातार दुई दिन पानी पर्दा खोला र नदीमा ठूलो भेल उर्लियो। भेलले बगाउँदै बगाउँदै गैंडालाई तल भारतसम्मै लगेको हो। भारतीय क्षेत्रमा चितवन निकुञ्जका अझै दुई वटा गैंडा छन्।

बाढीमा नै बगेर गएको अर्को एउटा गैंडा नेपालको बाल्मिकी आश्रम नजिक र भारत बाल्मिकीनगर भैसालोटनको बाल्मिकी टाइगर रिजर्भ क्षेत्रको जंगलमा ओहर दोहर गर्ने गरेको सुचना अधिकारीसमेत रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए। सो गैंडाको रेखदेखमा रिजर्भका सुरक्षाकर्मीहरु पनि जुटेका छन्। चितवन निकुञ्जले पनि सुचना लिइ रहेको छ। पानी जमेको ठाउँ नजिक बसेका कारण सो गैंडालाई ल्याउन सक्ने अवस्था छैन।

त्यस्तै अर्को गैंडा पनि वालमिकी नगरकै वन क्षेत्रमा देखिएको छ। भारत पुगेका यी तीनवटा गैंडा बाहेक दुई वटा गैंडा नेपालकै त्रिवेणी नजिकको केउलेनी र नर्सहीमा पुगेका छन्। बाढीले पाँचवटा गैंडा स्वभाविक वासस्थानबाट बगेर तल्लो क्षेत्रमा पुगेको उनले जानकारी दिए। बगाहा पुगेको गैंडा बाहेक अरुलाई तत्काल ट्रकमा राखेर ल्याउने सम्भावना नरहेका कारण विस्तारै जंगल धपाउने तयारी गरेको अर्यालले बताए।

बाढीले बगाएका कारण एउटा गैंडा नवलपरासी त्रिवेणी नजिक नर्सहीमा मृत अवस्थामा फेला परेको थियो। एउटा गैंडा सौराहाको इचर्नी क्षेत्र नजिक घाइते अवस्थामा भेटिएको छ। त्यसको उपचारमा टोली खटेको अर्यालले बताए। चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु गैंडाको मुख्य वासस्थल हो। नेपाल भर ६४५ गैंडा रहेकोमा चितवनमा मात्रै ६०५ गैंडा छन्।

गैंडाको नाकमाथि हुने सिंगजस्तो वस्तु खागका लागि तस्करहरुले गैंडा मार्ने गर्छन्। त्यसैले बाढीमा रुमलिएका गैंडा तस्करको फन्दामा नपरुन भन्नका लागि निकुञ्ज प्रशासन चनाखो भएको हो। गैंडाले मान्छेमाथि आक्रमण गर्दा ज्यानैसमेत जान्छ। त्यसैले पनि वस्ती पुगेका गैंडालाई वनमै फर्काउनुपर्ने आवश्यकता भएको अर्यालको भानइ छ।

गैंडामात्रै नभएर निकुञ्जभित्रका अन्य वन्यजन्तु पनि बाढीको चपेटामा आएका छन्। हालसम्म संकलन भएको विवरणअनुसार सातवटा हरिणहरु मृत भेटिएको अर्यालले जानकारी दिए। दुर्लभ वन्यजन्तु वस्तीमा देखेमा, मृत अथवा घाइते भेटेमा पनि त्यसको जानकारी निकुञ्ज, वन कार्यालय वा प्रहरी कार्यालयमा दिन सर्वसाधरणसँग निकुञ्ज प्रशासनले अपिल गरेको छ।गैंडा मारेमा वा यसको खागको बिक्री र ओसार पसार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।

प्रकाशित: २ भाद्र २०७४ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App