७ वैशाख २०८१ शुक्रबार
समाज

समाचारपछि बालकको ‘पुनर्जीवन’

३ साताअघि बिजोक अवस्थामा जीवन बिताइरहेका बालक मेघराज उपचार गराएर घर फर्केपछि । तस्बिर : भीम चापागाईं

इलाम – साउन पहिलो सातासम्म घरमा बिजोक जीवन बिताइरहेका बालक मेघराज कोइराला अहिले ‘पुनर्जीवन’ पाएझैं सामान्य अवस्थामा फर्किएका छन् । उपचार अभावले कष्टप्रद ढंगले दिन कटाउन बाध्य देउमाई नगरपालिका–६, शान्तिडाँडाका ५ वर्षे बालक मेघराज कोइरालाको उपचारमा सबैले सहयोग गरेपछि परिवारजन निकै हर्षित भएका हुन्।

बालक कोइराला जन्मेको १९ दिनदेखि शल्यक्रियामार्फत पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य थिए । परिवारले उनको उपचारमा लाग्ने मोटो खर्च जुटाउन प्रयाससमेत नगरेको होइन । तर, आवश्यक खर्च जोहो गर्न नसक्दा बालक निकै बिजोकले दिन काट्न बाध्य थिए । उनको पहिलो उपचारका लागि खर्च भएको ४ लाख रुपैयाँको ऋण परिवारले अहिलेसम्म पनि तिर्न सकेको छैन। 

जन्मेको दोस्रो साता अचानक बालक मेघराजको पेट फुलेको थियो । जिल्ला अस्पताल ल्याउँदा उनको उपचार सम्भव भएन । तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइयो । त्यहाँ पनि उपचार सम्भव नभएपछि भारतको सिलिगुडीस्थित पारामन्ड अस्पताल लगेर उपचार गरियो । शिशु मेघराजलाई बचाउन डाक्टरले पेटमा प्वाल पारेर दिसा गर्ने विकल्प बनाइदिए । डाक्टरले पुनः मलद्वारबाटै दिसा गर्नेगरी उपचार गर्न सकिने तर धेरै रकम खर्चिनुपर्ने सुझाव दिएपछि निम्न आर्थिक अवस्था रहेको उनको परिवारले उपचार गराउन सकेको थिएन । 

पेटमा पारिएको प्वालबाट दिसा चुहिइरहने गरेकाले बालक मेघराज उमेर भएर पनि स्कुल जान सकेका थिएनन् । ‘कपडा लगाउँदा पनि बेला–बेला सफा गरिरहनुपर्ने भएकाले नानीलाई स्कुल पठाउन निकै समस्या थियो,’ उनका हजुरबुबा नरेन्द्रले बिहीबार नागरिकन्युजलाई सुनाए, ‘उपचारपछि त नातिले पुनर्जीवन नै पाएका छन्, उनलाई हाम्रो जीवनभर यसरी जाति गराउन सकिन्छ होला भन्ने कल्पनै थिएन ।’ 

छोराको पहिलेकै उपचारको ऋण तिर्न मेघराजका बुबा निर्मल भने रोजगारीका लागि दुवईसमेत गए । तर, त्यहीबेला उनकी पत्नी लक्षीमायाले बिजोक अवस्थाको छोरो मेघराजलाई समेत छाडेर अर्कैसँग बिहे गरिन् । पत्नीले घर छाडेपछि निर्मल पनि २ महिनामै विदेशबाट फर्किए । र, छोराको शल्यक्रिया गराउन पुनः बिपी प्रतिष्ठान लिएर गए । तर, प्रतिष्ठानले बालकलाई काठमाडौंको टिचिङ हस्पिटल लैजान सुझायो । 

बनिबुतो कमाइ गर्ने निर्मल इलाम नगरपालिका–५ स्थित बिब्ल्याँटेको एक घरमा आश्रय लिएर बस्न थाले । ‘पहिलाकै ऋण तिरिसकेको थिएन, थप उपचारलाई कति पैसा लाग्छ भन्ने पनि थाहा नभएर काठमाडौं लैजाने आँट आएन,’ साउन १३ मा पुनः दुवही नै गएका निर्मलले सुनाए, ‘अहिले छोरो उपचार गरेर घर फर्केको सुनेर ज्यादै गद्गद् छु । यो दिन आउला भन्ने कल्पना पनि थिएन । कहिले घर फर्किएर छोरो सुम्सुम्याउँझैं भएको छ ।’ 

उपचार अभावले बिजोक अवस्थामा बाँच्न बाध्य मेघराजको समाचार नागरिकन्युजमा सार्वजनिक भएपछि उनको उपचारमा चौतर्फी सहयोग जुटेको थियो । काठमाडौंस्थित मोडेल हस्पिटलले उनको शल्यक्रिया निःशुल्क गरिदिएको हो । डाक्टर सरोज धिताल र पत्रकार सुदर्शन घिमिरेले बालकको उपचारका लागि अस्पताल र बालकको परिवारसँग समन्वय गरेका थिए । ‘जन्मेको ३ महिनामै गर्नुपर्ने शल्यक्रिया करिब ५ वर्षको बालकमा गर्नुपर्दा हाम्रा लागि निकै चुनौती थियो,’ हस्पिटलका बालरोग विशेषज्ञ मनोजकृष्ण श्रेष्ठले भने, ‘तर, सोचेभन्दा सहज ढंगले मेघराजको शल्यक्रिया सफल भएको छ ।’ शल्यक्रियापछि मेघराज वैकल्पिक प्वालबाट नभई मलद्वारबाटै दिसा गर्नसक्ने भएका छन् । ‘डाक्टरले १ महिनाका लागि औषधि दिएका छन्,’ मेघराजका हजुरबुबा नरेन्द्रले सुनाए, ‘आउँदो वर्षदेखि नातिलाई स्कूलसमेत पठाउन सकिन्छ अब ।’ 

बालकको उपचारपछि चाहिने औषधि खरिद र अन्य खर्च जुटाउन इलाम नगरपालिका–५ स्थित बिब्ल्याँटेका युवाले मेघराज कोइराला उपचार सहयोग समिति नै गठन गरी रकम जम्मा गरेका थिए । समितिले कन्काई बैंकमा खोलेको खातामा दाताहरूबाट करिब डेढ लाख रुपैयाँ जम्मा भएको समिति संयोजक महेश श्रेष्ठले बताए । ‘देश–विदेशका समाजसेवी नागरिक, सञ्चारकर्मी र मोडेल अस्पतालसहितको सहयोगले मेघराजलाई नयाँ जीवन दिन सकेकामा ज्यादै खुसी भएका छौं,’ मेघराजको उपचार गराउन काठमाडौं लिएर गएका बिब्ल्याँटेका राजन दाहालले भने, ‘उपचार गराउन असम्भवजस्तै रहेको मेघराजको स्वास्थ्य समस्या सुध्रिएर उनी सामान्य अवस्थामा फर्किंदा सिंगो गाउँ खुसी भएको छ ।’ 

 

प्रकाशित: १ भाद्र २०७४ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App