१५ चैत्र २०८० बिहीबार
समाज

बगेर भारत पुगेका तीन गैँडा फर्काइँदै

बाढीका कारण इचर्नी घोलमा घाइते भेटिएको गैंडाको उपचार गर्दै निकुञ्जका अधिकारीहरु। तस्विर सौजन्यः चितवन निकुञ्ज कार्यालय।

चितवन—बाढीले दुर्लभ वन्यजन्तु गैंडालाई पनि कष्ट दिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा रहेको गैंडा खोला र नदीमा आएको बाढीका कारण घाइते हुने र मरेका मात्रै छैनन् बगेर स्वभाविक बासस्थानभन्दा निकै पर पुगेका छन्। बाढीले उनीहरुलाई देशको सिमानाभन्दा पनि पर पुर्‌याएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोली बगेर भारत पुगेका गैंडा फर्काउन जुटेको छ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याल गएको मंगलबारदेखि भारतको बगाहामा छन्। त्रिवेणीदेखि दक्षिणमा रहेको सो ठाउँमा निकुञ्जको एउटा गैंडा पुगेको छ। चितवन निकुञ्ज हुँदै राप्ती र नारायणी नदी बग्छन्। शुक्रबारदेखि लगातार दुई दिन पानी पर्दा खोला र नदीमा ठुलो भेल उर्लियो। भेलले बगाउँदै बगाउँदै गैंडालाई तल भारतसम्मै लग्यो।

भारत पुगेका यी तीनवटा गैंडा बाहेक दुई वटा गैंडा नेपालकै त्रिवेणी नजिकको केउलेनी र नर्सहीमा पुगेका छन्। बाढीले पाँचवटा गैंडा स्वभाविक बासस्थानबाट बगेर तल्लो क्षेत्रमा पुगेको उनले जानकारी दिए।

‘नवलपरासीको त्रिवेणी बाँधदेखि लगभग ४२ किलो मिटर दक्षिणपूर्व भारतको बगाहा भन्ने ठाउँसम्म चितवनको गैंडा पुगेको छ। बस्तीमा पुगेका कारण त्यसलाई ल्याउनु पर्ने हुन्छ। गैंडा लैजाने व्यवस्था मिलाउन म यतै छु’ अर्यालले टेलिफोनमा भने। बेहोस बनाएर खोरभित्र राखि ट्रकबाट गैंडा ल्याएर चितवन निकुञ्जमै छाड्ने तयारी छ।

दाउन्नेमा राजमार्ग बिग्रेका कारण गैंडालाई तत्कालै लैजान नसकेको उनले बताए।

बाढीमा नै बगेर गएको अर्को एउटा गैंडा नेपालको बाल्मिकी आश्रम नजिक र भारत बाल्मिकीनगर भैसालोटनको बाल्मिकी टाइगर रिजर्ब क्षेत्रको जंगलमा ओहर दोहर गर्ने गरेको अर्यालले बताए। सो गैंडाको रेखदेखमा रिजर्बका सुरक्षाकर्मीहरु पनि जुटेका छन्। चितवन निकुञ्जले पनि सूचना लि रहेको छ। पानी जमेको ठाउँ नजिक भएका कारण सो गैंडालाई ल्याउन सक्ने अवस्था छैन।

त्यस्तै अर्को गैंडा पनि बाल्मीकि नगरकै वन क्षेत्रमा देखिएको छ। भारत पुगेका यी तीनवटा गैंडा बाहेक दुई वटा गैंडा नेपालकै त्रिवेणी नजिकको केउलेनी र नर्सहीमा पुगेका छन्। बाढीले पाँचवटा गैंडा स्वभाविक बासस्थानबाट बगेर तल्लो क्षेत्रमा पुगेको उनले जानकारी दिए। वगाहा पुगेको गैंडा बाहेक अरुलाई तत्काल ट्रकमा राखेर ल्याउने सम्भावना नरहेका कारण विस्तारै जंगल धपाउने तयारी भइरहेको उनले सुनाए।

बाढीले बगाएका कारण एउटा गैंडा नवलपरासी त्रिवेणी नजिक नर्सहीमा मृत अवस्थामा फेला परेको थियो। ‘अहिले हामीले बगेर गैंडा कता कता पुगे हेर्दै छौं। फर्काउन के गर्न सकिन्छ ? मृत्यु भएको छ वा छैन? मृत्यु भएका गैंडाको खाग खुर सुरिक्षत राख्न आवश्यक छ। घाइते भेटिए उपचार गर्नु पर्छ। त्यसैका लागि टोली खटाएका छौं’ निकुञ्जका सूचना अधिकारीसमेत रहेका सहायक संरक्षण अधिकृत अर्यालले भने।

एउटा गैंडा सौराहाको इचर्नी क्षेत्र नजिक घाइते अवस्थामा भेटिएको छ। त्यसको उपचारमा टोली खटेको अर्यालले बताए। चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु गैंडाको मुख्य वासस्थल हो । नेपाल भर ६४५ गैंडा रहेकोमा चितवनमा मात्रै ६०५ गैंडा छन्।

गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागका लागि तस्करहरुले गैंडा मार्ने गर्छन् । त्यसैले बाढीमा रुमलिएका गैंडा तस्करको फन्दामा नपरुन भन्नका लागि निकुञ्ज प्रशासन चनाखो भएको हो। गैंडाले मान्छेमाथि आक्रमण गर्दा ज्यानैसमेत जान्छ । त्यसैले पनि वस्ती पुगेका गैंडालाई वनमै फर्काउनु पर्ने आवश्यकता भएको अर्यालको भानइ छ।

गैंडा मात्रै नभएर निकुञ्जभित्रका अन्य वन्यजन्तु पनि बाढीको चपेटामा आएका छन्। हालसम्म संकलन भएको विवरण अनुसार सातवटा हरिणहरु मृत भेटिएको अर्यालले जानकारी दिए। दुर्लभ वन्यजन्तु वस्तीमा देखेमा, मृत अथवा घाइते भेटेमा पनि त्यसको जानकारी निकुञ्ज, वन कार्यालय वा प्रहरी कार्यालयमा दिन सर्वसाधरणसँग निकुञ्ज प्रशासनले अपिल गरेको छ।

प्रकाशित: १ भाद्र २०७४ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App